खेलकुद मन्त्रीलाई मन्त्रालयका कर्मचारीले रुइँरुइँ घुमाइदिएछन् : रास्वपा सांसद ढकाल

खेलकुद मन्त्रीलाई मन्त्रालयका कर्मचारीले रुइँरुइँ घुमाइदिएछन् : रास्वपा सांसद ढकाल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठलाई मन्त्रालयका कर्मचारीले जाँतेपिङ जसरी रुइँरुइँ घुमाइदिएको टिप्पणी गरेका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको बजेट विनियोजनमा छलफल गर्दै सांसद ढकालले मन्त्री श्रेष्ठलाई कर्मचारीहरूले जाँते पिङ खेलाइदिएको टिप्पणी गरे।

‘हाम्रो मन्त्रीलाई पनि त्यहाँका कर्मचारी साथीहरूले जाँतेपिङ खेलाइदिनुभएछ। रुइँरुइँ घुमाइदिनुभएछ। जस्ताको तस्तै, यथास्थितिको छ बजेट,’ बैठक कक्षको माथिल्लो तलामा बसेर टिपोट गरिरहेका कर्मचारीहरूतर्फ हेर्दै सांसद ढकालले भने, ‘त्या माथि हुनुहुन्छ, टिपिरहनुभाहोला। राम्रै घुमाउनुभारैछ है। यसपटक तपाईंहरूले, हेर्या छु, पढ्या छु।’

संसारभरका देशहरूमा सरदरमा खेलकुदका लागि कुल बजेटको २.५ प्रतिशत बजेट विनियोजन हुने गरेकोममा नेपालमा भने जम्मा ०.१९ प्रतिशत रहेको तथ्याङ्क प्रस्तुत गर्दै उनले सरकारको आलोचना गरे।

फरक प्रसङ्गमा उनले केही वर्षअघि एमाले नेतृत्वको सरकारले देशैभरी खर्बौं रकमको भ्यूटावर बनाएको भन्दै त्यो रकमले कतिवटा स्टेडियम बन्थ्यो भनेर प्रश्नसमेत गरे।

‘केही वर्षअघि एमाले सरकारमा हुँदा देशैभरी बनेको भ्यूटावर हेरौं त, कतिवटा बन्थ्यो स्टेडियम, तपाईंहरु नै भन्नुस्। खरबौंको भ्यूटावर असरल्ल छ। त्यति अनुत्पादक ठाउँमा खर्च गरेर दुईटा स्टेडियम बनाउन नसक्दा तपाईंहरूले यो सदनमा आएर भन्नुपर्छ, त्यो भ्यूटावरवाला कन्सेप्ट गलत थियो, हामीले स्टेडियम बनाउनुपर्नेथ्यो भनेर।’

सांसद ढकालले भ्यूटावरवाला विकासलाई छाडेर स्टेडियमवाला विकासमा लाग्न मन्त्रीले आँट गर्नुपर्नेमा जोड दिए। खेलकुद परिषद्को पुनर्संरचना गर्नुपर्ने भन्दै उनले घरेलु प्रतियोगिताहरू एकदमै धेरै गर्नुपर्ने बताए।

फरक प्रसङ्गमा उनले युवालाई देशमा रोक्न सक्ने अनि विदेशमा भएका नेपाली युवालाई स्वदेशमा फर्काउन सक्ने कार्यक्रम ल्याउन नसक्ने अवस्थामा युवा तथा खेलकुद मन्त्रालयको नामबाट युवा हटाउनुपर्ने तर्क गरे।

‘यो मन्त्रालय युवाको लागि होइन। वर्षौंदेखि युवाहरु देशबाहिर गइरहेका छन्, उनीहरुलाई देशमै बसौं बसौं लाग्ने कार्यक्रम खै। वर्षौंदेखि विदेशमा रहेको युवाहरु सिडमनी बोकेर बसेका छन्, देश फर्कौं कि नफर्कौं भन्दै। देश फर्कौं फर्कौं लाग्ने कुनै कार्यक्रम नै छैनन् भने किन मन्त्रालयको अगाडि युवा राख्ने? बद्री र केदारमा मान्छेको भारी मान्छेले बोकिरहेकाहरूको लागि पनि काम आएन भने यो मन्त्रालयको नामको अगाडि युवा किन लेख्या?’

असार ४, २०८१ बुधबार १४:३८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।