मिलेमतोको प्रमाण सार्वजनिक भएपछि सुदूरपश्चिममा १० करोडको अल्ट्रासाउन्ड मेसिन किन्ने टेन्डर रद्द

मिलेमतोको प्रमाण सार्वजनिक भएपछि सुदूरपश्चिममा १० करोडको अल्ट्रासाउन्ड मेसिन किन्ने टेन्डर रद्द

काठमाडौँ : सुदूरपश्चिम प्रदेश ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’कैलालीले मिलेमतोमा निश्चित कम्पनीलाई टेन्डर दिएर करिब १० करोडमा ६१ वटा अल्ट्रासाउन्ड मेसिन खरिद गर्नेगरी आह्वान गरेका टेन्डर रद्द गरेको छ।

केन्द्रले मिलेमतोमा पाँच करोड भन्दा कम मूल्यमा आउने ६१ वटा अल्ट्रासाउन्ड मेसिन करिब १० करोड भन्दा बढी रकममा किन्न खरिद प्रक्रिया अगाडि बढाएको थियो।

खरिद मिलेमतोबारे उकेराले प्रमाणसहित समाचार प्रकाशित गरेको थियो। प्रदेश ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’कैलालीले २०८१ असार १० (मे २३–२०२४) मा ६१ वटा अल्ट्रासाउन्ड मेसिन (ह्याण्ड क्यारी पोर्टेबल युएसजी मेसिन) खरिदका लागि आह्वान गरेको टेन्डर रद्द गर्यो।

उकेराले पाँच दिनअघि जेठ ३० गते ‘सुदूरपश्चिमको १० करोडको अल्ट्रासाउन्ड मेसिन खरिदमा मिलेमतो, फिलिप्सको उत्पादन महँगोमा किन्न ‘स्पेक लक’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो।

केन्द्रले २०८१ असार तीन गते बोलपत्र रद्द गरिएको बारे सूचना जारी गरेको हो।

सुदूरपश्चिम प्रदेश ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’कैलालीको अल्ट्रासाउन्डको टेन्डरको (आइएफबी) नम्बर ‘पीएचएलएमसीएसपी–जी–एनसीबी–१५–२०८०–८१’ हो। सो अल्ट्रासाउण्को टेन्डरको सामग्रीको बारेमा ‘दी प्रकुमेन्ट, सप्लाई एन्ड डेलिभरी अफ ह्याण्ड क्यारी पोर्टेबल अल्ट्रासाउन्ड मेसिन’लेखिएको थियो।

त्यसैगरी केन्द्रले पाको उमेरका व्यक्तिलाई दिइने निमोनियाको खोपको पनि टेन्डर रद्द गरेको छ। केन्द्रले टेन्डर गरेको निमोनियाको खोपको टेन्डरको (आइएफबी) नम्बर ‘पीएचएलएमसीएसपी–जी–एनसीबी–१६–२०८०–८१’ रहेको टेन्डर रद्द गरिएको सूचनामा उल्लेख छ। सो निमोनियाको  खोपको टेन्डरको सामग्रीको बारेमा ‘दी प्रकुमेन्ट, सप्लाई एन्ड डेलिभरी अफ निमोनियर भ्याक्सिन फर इल्डर्ली पिपुल’लेखिएको थियो।

अल्ट्रासाउन्ड र निमोनियाको खोपको सो टेन्डर रद्द गरिएकोबारे केन्द्रले असार तीन गते सूचना जारी गर्दै भनेको छ,‘...सम्बद्ध बोलपत्रको सम्पूर्ण खरिद प्रक्रिया केन्द्रको मिति २०८१ असार दुई गतेको निर्णय अनुसार रद्द गरिएको ब्यहोरा सम्बन्धित सबैका लागि जानकारी गरिन्छ।’

सुदूरपश्चिम प्रदेश ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’का सूचना अधिकारी तथा खरिद संयोजक जयन्द्र बोगटीले यी खरिदको सवालमा ‘सिंगल स्टेज सिंगल इन्भेलोप प्रोसेड्युर’ अपनाइएकाले यही आर्थिक वर्षको असार मसान्तसम्ममा खरिद प्रक्रिया पूरा गरिसक्नुपर्ने गरी खरिद प्रक्रिया अगाडि बढाएको जानकारी दिए।

यी खरिदको विषयमा प्रि–बिड मिटिङ र त्यसपछि विभिन्न सप्लायर्स कम्पनीहरूले संशोधन प्रस्ताव पेस गरे। त्यसैले अल्ट्रासाउन्ड र निमोनियाको खोपको खरिदको सवालमा प्रस्ताव भएको संशोधनको आधारमा स्पेशिफिकेशन लगायत संशोधन गरेर ‘सिंगल स्टेज टु इन्भेलोप बिडिङ प्रोसेस’ अपनाउन प्राविधिक रूपमा नमिल्ने भएकाले हाललाई टेन्डर रद्द गरिएको  खरिद संयोजक बोगटीले जानकारी दिए।

सुदूरपश्चिम प्रदेश ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’कैलालीले अल्ट्रासाउन्डको टेन्डरमा नियम नै पेलपाल बनाएर ‘सिंगल स्टेज सिंगल इन्भेलोप प्रोसेड्युर’ विधि अपनाएको थियो।

सार्वजनिक खरिद नियमावली अनुसार ‘सिंगल स्टेज सिंगल इन्भेलोप प्रोसेड्युर’ भनेको ‘एक खाम विधि’बाट गरिने खरिदको विधि हो।

तर, केन्द्रले विशेष गरी सो अल्ट्रासाउन्डको खरिदमा ‘सिंगल स्टेज टु इन्भेलोप बिडिङ प्रोसेस’ विधि अपनाउनुपर्ने थियो। ‘सिंगल स्टेज टु इन्भेलोप बिडिङ प्रोसेस’ भनेको ‘दुई खाम विधि’ हो। प्रदेश ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निश्चित कर्मचारीको मिलेमतोमा प्राविधिक र आर्थिक प्रस्ताव एकै पटक खोलेर चाहेकै सप्लायर्स कम्पनीलाई टेन्डर दिने रणनीति लिएको थियो।

केन्द्रले खरिदमा सार्वजनिक खरिद नियमावली, २०७४ विपरीत ‘सिंगल स्टेज सिंगल इन्भेलोप प्रोसेड्युर’ खरिद विधि अपनाएको बारे उकेराले समाचार सम्प्रेषण गरेको थियो।

यसरी लक्ड गरिएको टेन्डर भत्कियो

सुदूरपश्चिम प्रदेश ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’कैलालीले गरेको टेन्डर कागजात हेर्दा मेसिन उत्पादक कम्पनी ‘फिलिप्स’को लुमफाइ सिरिजको अल्ट्रासाउन्डसँग मात्रै मिल्नेगरी स्पेशिफिकेशन बनाएर उसैको नेपाली सप्लायर्स कम्पनीलाई टेन्डर दिनेगरी प्रक्रिया अगाडि देखिएको थियो।

मेसिन उत्पादक कम्पनी फिलिप्सको नेपाली सप्लायर्स हस्पिटेक इन्टरप्राइजेज प्राली हो। हस्पिटेकका सञ्चालक विशाल पण्डित हुन्।

कोशी अस्पतालका लागि किनिएको हाई डिपेन्डेन्सी युनिटको खरिदमा मेडिकल सामान आपूर्तिकर्तासँग मिलेर २ करोड ८९ लाख भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पण्डितसहितविरुद्ध मुद्दा दायर गरेको छ। मुद्दा प्रक्रियामै छ।

यस अगाडि यही अल्ट्रासाउन्ड लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले नौ सेट मिलेमतोमा किनेको थियो। सो खरिदमा केन्द्रका बायोमेडिकल इन्जिनियर उमेश चौधरी र दागंको युनाइटेड साइन्टिफिक एन्ड  सर्जिकल हाउसका सञ्चालक बालकुमार घर्ती मगरको मिलेमतो देखिएको थियो।

सुदूरपश्चिमको केन्द्रमा पनि उस्तैगरि मिलेमतोमा खरिद प्रक्रिया अगाडि बढेको देखिएको थियो।

केन्द्रले खरिद प्रक्रिया अगाडी बढाएको अल्ट्रासाउन्डको प्राविधिक स्पेशिफिकेशनका विभिन्न बुँदाहरू प्रत्यक्षरुपमा नै फिलिप्ससँग मात्रै मिल्ने गरी लक्ड भएको बारे उकेराले तथ्यसहित समाचार सम्प्रेषण गरेको थियो। पुरानो ढाँचाको सो अल्ट्रासाउन्ड सस्तोमा आउने भएपनि महँगोमा किन्ने तयारी थियो।

सेटिङमा टेन्डर मिलाउन संलग्न देखिएका थिए डा. नीरज अर्याल। उनी धनगढीस्थित कैलालीको सुदूरपश्चिम प्रदेश ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’का प्रमुख हुन्।

रेडियोलोजिष्ट चिकित्सक डा. अर्यालको दरबन्दी सेती प्रादेशिक अस्पताल, कैलालीमा छ। तर, उनी सुदूरपश्चिम प्रदेश ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’ मा काम गर्दै आएका छन्। उनलाई प्रदेश सरकारले २०७७ बाट केन्द्रको जिम्मा दिएको हो।

उनी यस अगाडि प्रदेशका चार अस्पतालमा एकीकृत अस्पतालजन्य फोहोर व्यवस्थापन प्रणालीका लागि उपकरण खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै विवादमा तानिएका थिए। त्यो बेलामा पनि पण्डितै जोडिएका थिए मिलेमतोमा। प्रदेशसभाको सामाजिक विकास समितिले अर्यालमाथि छानबिन समेत गरेको थियो।

उकेरासँगको कुराकानीमा केन्द्रका निर्देशक डा. अर्याल अल्ट्रासाउन्ड मेसिन खरिदको सवालमा स्वास्थ्य सेवा विभागको स्पेक बैङ्कबाट ल्याइएको प्राविधिक स्पेशिफिकेशन हुबहु प्रकाशित गरेको दाबी गरेका थिए।

अल्ट्रासाउन्ड मेसिन खरिदका लागि प्रिबिड मिटिङ जेठ ३१ लाई तोकिएको थियो। सप्लायर्सबाट कुनै सल्लाह सुझाव आएको खण्डमा प्रि–बिड मिटिङपछि त्यसलाई हेरेर अगाडी बढ्ने डा. अर्यालले थिए।

‘प्रि–बिड मिटिङ’मा सप्लायर्सहरुलाई चित्त नबुझेको खण्डमा स्पेशिफिकेशन संशोधनको माग गर्न सक्छन्।

सप्लायर्सले स्पेशिफिकेशन संशोधनको माग गरेको खण्डमा आवश्यकता अनुसार मेसिन खरिद गर्ने संस्था (आपूर्ति केन्द्र)ले स्पेशिफिकेशन संशोधन गर्न सक्थ्यो। तर, उसले संशोधन गरेन।

असार नौ गते (जुन २३–२०२४)सम्ममा अल्ट्रासाउन्डको टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकिएको थियो भने सोही दिनलाई टेन्डर खुल्ने मिति तोकिएको थियो। तर, टेन्डर सेटिङबारे पोल खुलेपछि सप्लायर्स कम्पनीको माग सम्बोधन गर्ने कोसिस गर्दा चाहेकै कम्पनीलाई टेन्डर नपर्ने र खरिद प्रक्रियामा पनि समस्या हुने देखिएपछि केन्द्रले स्पेशिफिकेशन सच्याएर टेन्डर अगाडी बढाउनुको सट्टा टेन्डर नै रद्द गरिदिएको छ।

सुदूरपश्चिम प्रदेश ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’कैलालीले यति ठुलो रकमको अल्ट्रासाउन्ड मेसिनको टेन्डर आव्हान गर्दा अन्तर्राष्ट्रिय स्तरको बोलपत्र (इन्टरनेश्नल कम्पेटिटिभ बिडिङ (आइसिबी) को सट्टा ‘राष्ट्रिय स्तरको बोलपत्र (नेश्नल कम्पिटेटिभ बिडिङ (एनसीबी) गरेको थियो।

जुन यो खरिदमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई निषेध गरेर राष्ट्रिय प्रतिस्पर्धामा मात्रै खुम्च्याउनुले समेत चाहेकै कम्पनीलाई दिनेगरी सेटिङ गरेर अल्ट्रासाउन्डको टेन्डर प्रक्रिया अगाडी बढेको थियो। यो खरिद तत्काललाई रद्द गरे पनि पुनः कुनै विशेष निर्णय गरेर तथा आर्थिक स्रोतको सुनिश्चितता गरेर अर्को पटक चाहेकै कम्पनीलाई टेन्डर दिनेगरी खरिद प्रक्रिया अगाडी बढाउने जोखिम भने कायम नै छ।

असार ३, २०८१ मंगलबार २१:५२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।