संसदमा बजेट पुस्तक च्यात्ने राप्रपा, समर्थन गर्ने कांग्रेस, व्यवस्थामाथि चिन्ता गर्ने पनि कांग्रेस

संसदमा बजेट पुस्तक च्यात्ने राप्रपा, समर्थन गर्ने कांग्रेस, व्यवस्थामाथि चिन्ता गर्ने पनि कांग्रेस

काठमाडौं : मंगलबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले रोष्ट्रममै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्याते। आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीको प्रस्तावमा बोल्दै उनले यातायात मन्त्रालयले विनियोजन गरेको बजेटमा असन्तुष्टि जनाए। 

उनले पुस्तिका ल्याइसकेपछि पुस्तिका च्यातेर हुर्याउने मन भएपनि संसदीय मर्यादा विपरीत हुने भएकाले आफूले नहुर्याउने भन्दै आफ्नै बचाउ गरे। अध्यक्ष लिङदेनले चारवटा निर्वाचन क्षेत्र बाहेकका प्रतिनिधि सभा सदस्यहरू बजेटप्रति असन्तुष्ट रहेको बताउँदै लाज र घिन नराखीकन राज्यको स्रोतमाथि मनपरी नगर्न आग्रह गरेका थिए। 

‘सामान्यतया म आफूले आफैंलाई हेर्दाखेरी कम आक्रोश पोख्ने, कम रिसाउने मान्छे हो। त्यो दिनदेखि म यसरी तातिएको छु कि, यो यसरी च्यातेर(पुस्तक च्यात्दै), यसरी हुर्याउने मन छ। (हुर्याउन खोज्दै)। तर यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर कहाँ हुर्याउनुपर्ने त्यहाँ नहुर्याएर यहाँ राख्छु मैले’, उनले भने, यसरी सामान्य लाज, घिन पनि नराखेर राज्य स्रोतमाथि यसप्रकारको मनपरी कति दिनसम्म मानिसहरूले सहेर बस्ने हो? सामान्य लाज पनि नराख्ने। यो पढिने चिज हो। देखिने चिज हो। भन्ने कुरा पनि नराख्ने। यहाँ जिल्लाको नाम छापेर धेरै देखिन्छ भनेर जिल्लाको समेत नाम नराखी योजना राखिएको छ।’ 

उनले पुस्तिका मात्रै च्यातेनन्, यो राज्य व्यवस्था नै आवश्यक नभएको भन्ने प्रमाणित हुँदै गएको जिकिर गरे। 

‘अहिले मन्त्रीज्यूहरूले जुन काम गर्नुभएको छ। हामीले यो प्रणालीमाथि पहिल्यैदेखि औंला ठड्याउने काम गरिरहेका थियौं त्यसलाई पुष्टि गर्छ। बजेट बनाउन जुन प्रकारको मनपरी गर्नुभो त्यसको कुनै आपत्ति छैन। तपाईंहरूलाई त धन्यवाद दिनुपर्छ, किनभने यो व्यवस्था, निर्वाचन प्रणाली, यो राज्य संरचना काम लाग्दैन भनेर हामीले भनिरहेका छौं पुष्टि गर्नुभएको छ। यसलाई चाँडो भत्काउन सहयोग गरिराख्नुभएको छ,’ उनले भने। 

निर्वाचन प्रणाली देशले धेरै थेग्न नसक्ने दाबी गर्दै उनले थपे, ‘सांसदले मन्त्री हुने व्यवस्था जब रहिराख्छ, अर्को चुनाव जित्नुपर्ने पिर र दबाब हुन्छ। फेरि मन्त्री हुनुपर्ने हुन्छ। त्यसको लागि निर्वाचन क्षेत्रमा केन्द्रित हुनुपर्यो। प्रधानमन्त्री पनि निर्वाचन क्षेत्रमै केन्द्रित हुनुपर्यो। त्यसैले मन्त्री र प्रधानमन्त्री एउटा निर्वाचन क्षेत्रको हुन्छ। त्यसैले सांसद मन्त्री हुने होइन, विधि निर्माता भएर बस्ने, र जनताले सोझै निर्वाचित गर्ने प्रत्यक्ष निर्वाचित प्रणालीमा जानुपर्छ।’

उनले बजेट पुस्तिका च्यातेपछि र व्यवस्थामाथि प्रश्न उठाएपछि विपक्षी दलका सांसदले टेबुल ठोकेर समर्थन गरेका थिए। अझ कांग्रेस सांसद चन्दा चौधरीले त संसद्को समय लिएर नै समर्थन गरिन। 

‘पीडा छ। यो चाहीँ नगरौँ। संसदमा एउटा पार्टीका अध्यक्ष माननीय राजेन्द्र लिङ्देनले यो बुक च्यात्नुभयो। यो के राम्रो हो? यो राम्रो होइन,’ उनले भनिन्, ‘तर उहाँको पीडा छ च्यात्नुहुन्छ। च्यातेको म समर्थन गर्छु। किनभने यो च्यात्नुपर्छ। तर एकजनाले च्यातेपछि सबैले च्यातेजस्तै भयो।’ 

संसदीय प्रणालीलाई परोक्ष रूपमा प्रहार गर्दै व्यवस्थामाथि नै प्रश्न गरेका लिङदेनलाई कांग्रेस सांसद चौधरीले समर्थन गर्दैगर्दा अर्कोतर्फ कांग्रेसकै सांसदले व्यवस्थामाथि चिन्ता व्यक्त गरे। 

कांग्रेस सांसद प्रदीप पौडेलले सरकार र मन्त्रीहरूको कारण सुशासन खलबलिएको, संघीयता र व्यवस्थामाथि प्रश्न उठेको बताए।

‘यो बजेट विनियोजनले आर्थिक अनुशासनलाई पालना गरेको देखिँदैन। मन्त्रीज्यू र सरकारका कारण संघीयता र व्यवस्था माथि धेरै टिका-टिप्पणी भइरहेको छ। कथनीमा एउटा कुरा गर्ने संघीयताप्रति असाध्यै धेरै प्रतिबद्धता भएको जस्तो देखिने र व्यवहारमा त्यसको उल्टो हुने। यो मात्र होइन विगतका सरकार र मन्त्रिमण्डलमा बस्ने पात्रहरूको कारणले सुशासन खलबलिएको छ, संघीयता र व्यवस्थामाथि प्रश्न उठेको स्थिति छ। सुधार गर्न कोही तयार छैन, खाली बोलीमात्रै राखिएको छ।’  

असार ३, २०८१ मंगलबार १७:५४:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।