कुकुरको बच्चालाई कुटेर जिउँदै खाल्डोमा पुर्दै भिडियो बनाउने तीनजना पक्राउ

कुकुरको बच्चालाई कुटेर जिउँदै खाल्डोमा पुर्दै भिडियो बनाउने तीनजना पक्राउ

काठमाडौं : कुकुरको बच्चालाई कुट्दै जिउँदै खाल्डोमा पुरेको आरोपमा तीन जनालाई पक्राउ परेका छन्। पशु कल्याण संघ काठमाडौंले दिएको जाहेरीको आधारमा उनीहरुलाई इलामको देउमाई नगरपालिकाको जितपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

भिडियो बनाउने हेतुले ती युवकहरूले कुकुरको बच्चालाई तड्पाई–तड्पाई हत्या गरेको भिडियो भाइरल भएको थियो। सुगम मोराहाङ लिम्बू नामको फेसबुक एकाउन्टमा उक्त भिडियो पोस्ट भएको थियो, जुन अहिले हटाइएको छ।

‘कुकुरको बच्चालाई क्रूरतापूर्वक मारेको देखिन्छ,’ पशु कल्याण संघकी अध्यक्ष स्नेहा श्रेष्ठले भनिन्, ‘यो हदसम्मको अपराध गर्नेहरूलाई प्रचलित कानुनअनुसार दण्ड सजाय हुनैपर्छ।’ 

संघले काठमाडौंबाट प्रतिनिधि पठाएर जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दर्ता गराएको थियो।

नेपालको प्रचलित कानुनले कुनैपनि पशु प्राणीलाई निर्दयी व्यवहार गर्न, क्रुरतापूर्वक हत्या गर्न बन्देज गरेको छ। यस्ता कृत्य गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रूपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ। 

असार २, २०८१ सोमबार १६:१८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।