'पार्टीको झण्डाका आधारमा कर्मचारी राख्ने र फाल्ने प्रवृत्तिले मुलुकलाई कहाँ पुर्याउँछ ?'

'पार्टीको झण्डाका आधारमा कर्मचारी राख्ने र फाल्ने प्रवृत्तिले मुलुकलाई कहाँ पुर्याउँछ ?'

काठमाडौं : नेपाली कांग्रेस का सांसद रामहरि खतिवडाले दक्षताको आधारमा होइन राजनीतिक दलको झण्डाका आधारमा कर्मचारीहरूलाई राख्ने र हटाउने प्रवृत्ति बढेको बताएका छन्। 

आइतबार प्रतिनिधि सभाको बैठकमा भएको छलफलमा उनले पार्टीको झण्डा नबोक्ने कर्मचारीहरू मन्त्री अन्तर्गत काम नै गर्न नसक्ने भन्दै झण्डाका आधारमा राख्ने र फाल्ने व्यवस्था भयो भने मुलुक कहाँ जान्छ यसतर्फ ध्यान जान आवश्यक रहेको बताए। 

उनले भने, ‘सरुवा बढुवामा पारदर्शिता छैन। पहुँचको भरमा सरुवा बढुवा गर्ने काम हुन्छ। कुनै पार्टीको झण्डा नबोक्ने कर्मचारीहरू मन्त्री अन्तर्गत काम नै गर्न सक्दैनन्। दक्षताको आधारमा होइन झण्डाका आधारमा कर्मचारीहरूलाई राख्ने र फाल्ने व्यवस्था भयो भने मुलुक कहाँ जान्छ यसतर्फ ध्यान जान आवश्यक छ।’ 

उनले संविधान लागू भएपछि पनि पुरानो पद्धतिलाई निरन्तरता दिने हो भने वर्तमान कानूनको अर्थ नहुने भन्दै सामान्य प्रशासन र संघीय मामिला मन्त्रालयले स्थानीय तहमा जनतालाई पुग्ने खालका अधिकारहरू स्थापित गर्नुपर्ने बताए। 

उनले भने, ‘प्रशासनमा प्रशासकीय प्रमुखहरू एक महिनामा चार पटकसम्म परिवर्तन हुने पद्धति छ। यसलाई कसरी नियन्त्रण गर्न सक्छौ? हिजो जुन पद्धति थियो, संविधान लागू भइसकेपछि पनि त्यही पद्धतिलाई निरन्तरता दिने हो भने अहिले हामीले ल्याएको संघीयता र बनाएको कानूनको अर्थ नरहने हुँदा सामान्य प्रशासन र संघीय मामिला मन्त्रालयले स्थानीय तहमा जनतालाई पुग्ने खालका अधिकारहरू स्थापित गर्नुपर्छ भन्ने हाम्रो धारणा छ।’

असार १, २०८१ आइतबार १३:०२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।