‘बोक्सीको घर’ले ५१ दिन मनाएपछि लेखक तथा निर्देशकले केकीलाई सोधे- बौद्धिक चोरी भनेको के हो?

‘बोक्सीको घर’ले ५१ दिन मनाएपछि लेखक तथा निर्देशकले केकीलाई सोधे- बौद्धिक चोरी भनेको के हो?

काठमाडौं : सुलक्षण भारतीको लेखन, निर्देशक तथा अभिनयमा निर्माण भएको फिल्म ‘बोक्सीको घर’ले हलमा ५१ दिन मनायो। शुक्रबार न्युरोडमा रहेको रञ्जना हलमा फिल्मले ५१ दिन मनाएको जनाइएको छ। 

तर, यस फिल्मका लेखक तथा निर्देशक भारतीले फिल्मले सफलता हासिल गर्दा पनि आफूलाई निर्माण पक्षले बेवास्ता गरेको आरोप लगाएका छन्। उनले यो फिल्मले ५१ दिन मनाइरहँदा आफूलाई निर्माण पक्षले कुनै पनि कार्यक्रममा सहभागी नगराएको र आफू मरेतुल्य भएको उल्लेख गरे। 

आइतबार बिहान उनले फिल्मले हलमा ५१ दिन मनाउन सफल भएकोमा सबैलाई बधाई दिँदै काम गर्ने कालु मकै खाने भालु भएको उल्लेख गरेका छन्।

‘काम गर्ने कालु माम खाने आलु? यो नितान्त मेरो कृति हो र निर्माता पक्षले यसमा ध्यान नदिनुले के प्रश्न खडा गर्छ?’ उनले सामाजिक संजालमा लेखेका छन्, ‘कुनै पनि बोक्सीको घरको कार्यक्रम भएको ठाउँमा लेखक र निर्देशकको उपस्थिति नहुनु र वास्ता नगरिनुले के सार्थकता राख्छ? म सर्जक भएर हेर्दा आफ्नो मृत्यु भएको अनुभव गरेको छु। जसले जे काम गरेको छ त्यसको उचित मूल्यांकन हुन पनि जरुरी छ वा छैन?’

उनले लेखक तथा निर्देशक आर्थिक अवस्थामा कमजोर छ भन्दैमा उनलाई बेवास्ता गर्न न्यायोचित होला भन्दै फिल्मकी निर्मात्री केकी अधिकारीमाथि प्रश्न उठाएका छन्। 

उनले थपेका छन्, ‘लेखक तथा निर्देशक आर्थिक तथा सामाजिक रुपमा कमजोर छ भन्दैमा उसलाई बेवास्ता गर्नु न्यायोचित होला र? के लेखक तथा निर्देशकलाई यसरी बेवास्ता गर्न मिल्छ र? बौद्धिक चोरी भनेको के हो? बोक्सीको घर आखिरमा कसले बनाएको चलचित्र हो? अब फेरि जीवनमा म जस्ताले चलचित्र किन र केका लागि बनाउने?’ 

उनले पत्रकारहरूले समेत यसमा प्रश्न नउठाएको भन्दै चित्त दुखाए। 

उनले अगाडि लेखेका छन्, ‘यहाँ आफ्नो लागि आफैले बोल्नु पर्ने रहेछ र लड्नुपर्ने रहेछ।’

यस फिल्मकी निर्मात्री केकी यतिबेला विदेशका विभिन्न शहरमा फिल्म ‘बोक्सीको घर’ प्रदर्शनका लागि पुगेकी छन्। उनी फिल्म प्रदर्शनका लागि अष्ट्रेलिया पुगेपछि लेखक तथा निर्देशक सुलक्षण भारतीले गुनासो पोखेका हुन्। 

फिल्ममा केकीका अलावा उनका बुबा बद्री अधिकारीको लगानी छ। गत वैशाख १४ गते हलमा लागेको यो फिल्मले अहिलेसम्म १० करोड कलेक्सन गरेको निर्माण पक्षको दाबी छ। 

यस फिल्ममा केकी, सुलक्षणका अलावा, सुपला सापकोटा, स्वेक्षा राउत, सबिन बास्तोला, जीवन बराल, रमा थपलिया लगायतले अभिनय गरेका छन्। फिल्मको प्रमोसनल गीत ‘बुझिन मैले’अहिले पनि चर्चामा रहेको छ। प्रकाश सपुतले लेखेको तथा संगीत भरेको यो गीतलाई समीक्षा अधिकारीले गाएकी छन्। 

असार १, २०८१ आइतबार १२:५०:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।