उत्तराखण्डमा पर्यटक बोकेको टेम्पो अलकनंदा नदीमा खस्यो, १४ जनाको मृत्यु

उत्तराखण्डमा पर्यटक बोकेको टेम्पो अलकनंदा नदीमा खस्यो, १४ जनाको मृत्यु

काठमाडौं : भारतको उत्तराखण्डको बद्रीनाथ राष्ट्रिय राजमार्गमा पर्यटक बोकेको टेम्पो सडकबाट चिप्लिएर अलकनंदा नदीमा खस्दा चालकसहित १४ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्। 

समाचार एजेन्सी पीटीआईका अनुसार पर्यटकहरू चोप्ता जाने क्रममा रैतोली गाउँ नजिकै शनिबार बिहान साढे ११ बजे दुर्घटना भएको थियो। दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको थियो भने चार जनाको अस्पतालमा मृत्यु भएको हो। अधिकारीहरूका अनुसार सडकबाट चिप्लिएको टेम्पो करिब दुई मिटर खोलामा खसेको थियो। मृतकमध्ये अझै तीन जनाको सनाखत हुनै बाँकी छ। 

मृत्यु हुनेमा नोएडा, मथुरा, उत्तर प्रदेशको झाँसी, उत्तराखण्डको हल्द्वानी, मध्य प्रदेश, दिल्ली र हरियाणाका बासिन्दाहरू छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामीले अस्पतालमा पुगेर घाइतेहरूको उपचारबारे बुझेका छन् भने घाइतेको उपचारमा कुनै कसुर नराख्नसमेत निर्देशन दिएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई दुई–दुई लाख रुपैयाँ दिने घोषणा गरेका छन्। दुर्घटनाबारे राष्ट्रपति द्रौपदी मुर्मुले समेत दुःख व्यक्त गरेकी छन्। 

उत्तराखण्डमा सडक दुर्घटनाका कारण वर्षेनी हजारौँका ज्यान जाने गरेको छ। सन् २०२२ मा मात्रै एक हजार ६ हजार ७४ दुर्घटनामा १ हजार ४२ जनाको ज्यान गएको थियो।

असार १, २०८१ आइतबार ०९:०५:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।