'डेलिभरी हिरोहरूलाई सम्मान गरौं' भन्दै मनाइयो 'डेलिभरी राइडर्स डे'

'डेलिभरी हिरोहरूलाई सम्मान गरौं' भन्दै मनाइयो 'डेलिभरी राइडर्स डे'

काठमाडौं : लजिस्टिक कम्पनी नेपाल क्यान मुभ (एनसीएम) ले ‘राष्ट्रिय डेलिभरी राइडर्स डे’ मनाएको छ।

डेलिभरी राइडरहरूले प्रचण्ड गर्मी, कठ्याङ्ग्रिदो चिसो, अप्ठ्यारो सडक केही नभनी विभिन्न प्रतिकूलताका बावजूद सरसामग्री ढुवानी गर्ने भएकाले उनीहरूको परिश्रम र लगनशीलतालाई सम्मान गर्दै नेपाल क्यानले असार १ गतेलाई राइडर्स डेका रूपमा मनाएको हो।

‘सधैं खुशी बाँड्नेहरूलाई खुशी बाँडौं- डेलिभरी हिरोहरूलाई सम्मान गरौं’ भन्ने नाराका साथ नेपाल क्यानले यस वर्षको डेलिभरी राइडर्स डे मनाएको बताइएको छ।

'डेलिभरी राइडरहरू हाम्रो समाजको मेरुदण्ड हुन्। उनीहरूले लजिस्टिक र कुरियर सेवा प्रदान गर्न, ईकमर्स उद्योगलाई बढावा दिन र आम मानिसका जीवन सहज बनाउन महत्त्वपूर्ण भूमिका निभाएका छन्,' यस अवसरमा कम्पनीले भनेको छ, 'अप्ठ्यारो बाटो, खराब मौसम, व्यस्त ट्राफिकका बावजूद समयमै सरसामान ढुवानी गरी व्यवसाय र आम मानिसको जीवन सरल र सहज ढंगले चलायमान बनाउन उनीहरू कटिबद्ध छन्।'

यसक्रममा काठमाडौंका त्रिपुरेश्वर, तीनकुने, नयाँ बसपार्क, चक्रपथ र न्यूरोड क्षेत्रमा स्टलहरू राखी कार्यक्रम आयोजना गरिएको थियो। यी स्टल राइडरहरू भेला हुने स्थानका रूपमा खडा गरिएका थिए जहाँ उनीहरूले केही बेर आराम गरेका थिए भने नेपाल क्यानका तर्फबाट कदरस्वरूप उपहार प्राप्त गरेको कम्पनीले जनाएको छ। 

जेठ ३२, २०८१ शनिबार १६:३३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।