आर्टिफियसयल इन्टेलिजेन्स सम्मेलनमा एआईमार्फत कार्यक्रमका अतिथि र सहभागीलाई स्वागत

आर्टिफियसयल इन्टेलिजेन्स सम्मेलनमा एआईमार्फत कार्यक्रमका अतिथि र सहभागीलाई स्वागत

काठमाडौं : ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन २०८१’ मा कृत्रिम बौद्धिकताको प्रयोग गरिएको छ।

डिजिटल मिडिया फाउण्डेशनले आयोजना शनिबार काठमाडौंमा गरेको सम्मेलनमा कार्यक्रमका अतिथि र सहभागीलाई एआईले मन्तव्यमार्फत स्वागत गर्नुका साथै कार्यक्रमबारे प्रकाश पारेको हो।

आयोजक संस्था डिजिटल मिडिया फाउण्डेशनका अध्यक्ष एवं डिजिटल मिडिया विज्ञ प्रवेश सुवेदीले मोबाइल फोनमार्फत स्वागत मन्तव्यका लागि (प्रम्प्ट) निर्देशन दिए।

लगत्तै एआई प्लाटफर्म च्याट जिपिटीले कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री वर्षमान पुनसहित अतिथिहरूलाई  मन्तव्यमार्फत स्वागत गर्यो। मन्त्री पुनसहित हलमा सहभागीले नयाँ प्रयोगबाट उत्साहित हुँदै ताली बजाए।

त्यसपछि एआईकै प्रयोग गरी तयार पारिएको भिडियोमार्फत कार्यक्रमबारे प्रकाश पारियो। भिडियोमा टेलिभिजन कार्यक्रम प्रस्तोता झैँ लाग्ने टाई सुटमा ठाँटिएका एक युवक (कृत्रिम वौद्धिकता) सम्मेलनको आवश्यकता, एआईले विश्वभर र नेपालमा ल्याउन सक्ने अवसर र चुनौती तथा सञ्चार माध्यमको भविष्य, सार्वजनिक सेवाको प्रयोगलगायत विषयमा बताएका थिए।

कार्यक्रमका वक्तासमेत रहेका आमसञ्चार एवं पत्रकारिताका प्राध्यापक डा. भानुभक्त आचार्यले उक्त प्रयोगले एआईले व्यक्तिको क्षमता अभिवृद्धि गरेर थोरै समयमा धेरै काम गर्न सकिने सन्देश दिएको बताए।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले एआईको प्रयोगले तथ्य पहिचान, परीक्षण र प्रस्तुतिमा पत्रकारिता क्षेत्रले लाभ लिन सक्ने सम्भावना देखिएको उल्लेख गरे। तर, एआईको प्रयोगमा पत्रकारले होसियारी अपनाउनुपर्ने उनको भनाइ थियो।

जेठ ३२, २०८१ शनिबार ११:३५:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।