प्रदीप पौडेल र महानगर प्रमुख बालेनबीचको भेटमा के भयो कुराकानी ?

प्रदीप पौडेल र महानगर प्रमुख बालेनबीचको भेटमा के भयो कुराकानी ?

काठमाडौं : नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बिहीबार भेटघाट भएको छ। 

भेटमा कांग्रेस सांसद पौडेलले बुधबार प्रतिनिधि सभामा दर्ता गरेको संकल्प प्रस्ताव तथा समग्र महानगर र काठमाडौं क्षेत्र नम्बर ५ को विषय, महानगरको आगामी आर्थिक वर्षका लागि तय हुने नीति, कार्यक्रम तथा बजेटबारे छलफल भएको जानकारी दिए।

भेटमा चक्रपथ निर्माण अलपत्र भएको अहिलेको अवस्थामा तत्काल तीनै तहका सरकार गम्भीर हुनुपर्ने र आवश्यक परेमा नेपाल सरकारले मात्र भए पनि यसको निर्माण समयमा नै सक्नुपर्ने विषयमा यी दुई नेताबीच छलफल भएको हो। 

बुधबार प्रतिनिधि सभामा पौडेलले लगेको संकल्प प्रस्तावमा पनि चीन र नेपालबीच भएको सम्झौताअनुसार काम नहुने हो भने नेपाल सरकार स्वयंले चक्रपथको कलंकी–धोवीखोला खण्ड निर्माण गरिहाल्नुपर्ने प्रस्ताव गरिएको छ। भेटमा पौडेल र बालेनबीच काठमाडौं महानगरपालिकाको आगामी नीति तथा कार्यक्रम र प्राथमिकताहरुका बारेमा पनि छलफल भएको थियो। 

टुकुचा व्यवस्थापन, सामाखुसी खोला व्यवस्थापन, धनवन्तरी खहरे खोला व्यवस्थापन, काठमाडौं क्षेत्र नम्बर ५ मा पर्ने ढल तथा सडक व्यवस्थापनको कार्य प्राथमिकतामा राखेर अगाडि बढ्ने छलफल भएको पनि नेता पौडेलले जानकारी दिए।

त्यस्तै, काठमाडौं महानगरपालिका र क्षेत्र नम्बर ५ अन्तर्गत पर्ने सार्वजनिक जग्गाको अतिक्रमण रोक्दै त्यसलाई संरक्षण गर्दै सार्वजनिक हितका लागि प्रयोगमा ल्याउने विषयमा पनि दुईबीच छलफल भएको छ। 

‘हामीबीच समस्त काठमाडौं महानगरपालिका तथा महानगरपालिकामा पर्ने क्षेत्र नम्बर ५ लाई थप सुविधासम्पन्न तथा व्यवस्थित बनाउने विषयमा छलफल भएको हो,’ पौडेलले भने।

जेठ ३१, २०८१ बिहीबार १८:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।