'ओरालो लागेका' बाबुराम भट्टराईलाई ठूला दलको उपेक्षा, साना दलको शुभकामना !

'ओरालो लागेका' बाबुराम भट्टराईलाई ठूला दलको उपेक्षा, साना दलको शुभकामना !

काठमाडौं : ०७२ सालमा संविधान जारी भएपछि 'यो संविधान आधा भरिएको गिलास हो' भन्दै तत्कालीन माओवादी पार्टी परित्याग गरेका डा. बाबुराम भट्टराईको त्यसपछिको राजनीति स्थिर छैन। उनले माओवादी परित्याग पछि देशमा वैकल्पिक शक्ति आवश्यक  रहेको भन्दै 'नयाँ शक्ति नेपाल' पार्टी खोले। कम्युनिष्ट विचारधाराबाट उदाएका भट्टराईले नयाँ शक्ति पार्टीमा आफू कम्युनिष्ट नरहेको भान हुनेगरी पार्टीको राजनीतिक दस्तावेज तयार गरे। तर, उनको पार्टीले गति लिन सकेन।

त्यसपछि पनि कहिले मधेशवादी दलहरूसँग मिल्ने त् कहिले फेरि फुट्ने गरेका भट्टराईले यसबीचमा थुप्रै नेताहरूसँग राजनीतिक सहकार्य गरिसकेका छन्।  उनले उपेन्द्र यादव, महन्थ ठाकुर, महेन्द्र राय लगायत नेताहरूसँग एकै पार्टी बनाएर काम गरेका छन्। तर, आजको दिनमा भट्टराई ती कुनै पनि नेता सँगै छैनन्। एक समय उनीहरूसँग पार्टी एकीकरण गरेका भट्टराईलाई अहिले ती सबै नेताले छोडिसकेको अवस्था छ। 

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईसँग अहिले न माओवादी केन्द्र साथमा छ  न त मधेशवादी दलहरू नै। भट्टराई अहिले नेपाल समाजवादी पार्टी (नेसपा)को अध्यक्षता गरेर एक्लिरहेका छन्। त्यसैकारण पनि उनलाई अहिले ठूला दलका नेताहरूले वास्तै गर्न छाडेको देखिन्छ। यही दृश्य आज पार्टीको स्थापना दिवसको अवसरमा देखियो। 

भट्टराई अध्यक्ष्य रहेको नेसपाले कमलादीस्थित प्रज्ञा भवनमा आफ्नो स्थापना दिवस मनायो। तर, स्थापना दिवसको उपलक्ष्यमा गरिएको त्यस कार्यक्रमलाई पूर्वप्रधानमन्त्रीहरूले उपेक्षा गरे। पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी ओली, माधव नेपाल, झलनाथ खनाल र वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यक्रममा उपस्थित हुन जरुरी ठानेनन्। 

त्यतिमात्र होइन, उनको पार्टीलाई सबै ठूला दलले बेवास्ता गरे। त्यसो त नेपालमा दलहरूको स्थापना दिवस होस् वा महाधिवेशन, साना ठूला सबै दलहरू पुगेर शुभकामना दिने लोकतान्त्रिक अभ्यास छ। तर, आज भएको नेसपाको स्थापना दिवसमा भने त्यो पाइएन। 

साना दल र नयाँ दलका नेताहरु पार्टीको स्थापना दिवसको उपलक्ष्यमा  शुभकामना दिन पुग्दैगर्दा सत्तामा रहेका ठूला दल नेपाली कांग्रेस,  एमाले,  माओवादीका तर्फबाट कुनै पनि नेताहरु भट्टराईको पार्टीलाई शुभकामना दिन समेत पुगेनन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाटसमेत  शुभकामना दिन कोही पुगेका थिएनन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नागरिक उन्मुक्ति पार्टीका रेशमलाल चौधरी, जनमत पार्टीका अध्यक्ष्य डा सिके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह  विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटा, लेखक, पत्रकार, नागरिक समाजका अगुवा लगायत शुभकामना दिन पुगेका थिए। तथापि जसपा नेपाल भने आफ्नै महाधिवेशनका कारण उपस्थित हुन नसकेको र एकीकृत समाजवादीले नजिकिदै गरेको महाधिवेशनकै कारण उपस्थित हुन नसकेको बताइएको थियो।  

अझ गृहमन्त्री समेत रहेका लामिछानेले त भट्टराईको राजनीतिक हुटहुटीको सम्मान गर्न कार्यक्रममा सहभागी भएको भन्दै उनको खुलेर तारिफ गरे। लामिछानेले आफ्नो समयमा डा.भट्टराईले आफ्नो पद् र जिम्मेवारीमा सकेजति काम गर्ने व्यक्तिको उदाहरण भएको बताए।

नागरिक उन्मुक्ति पार्टीका नेता चौधरी  टिकापुर घटनामा जबर्जस्ती दोषी बनाइएका थारूहरूलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्नुपर्ने धारणा राख्दै नेसपालाई शुभकामना दिए। 

जनमत पार्टीका अध्यक्ष डा. राउतले मुलुकमा  प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने शासकीय व्यवस्था हुनुपर्ने भन्दै नेसपालाई शुभकामना दिएका थिए। 

विवेकशील साझा पार्टीकी बाँस्कोटाले साझा एजेन्डामा सबै दल एक हुनुको विकल्प नरहेको धारणा राखिन्। उनले पनि भट्टराईको तारिफ गर्दै पार्टीलाई शुभकामना दिइन्।  

जेठ ३०, २०८१ बुधबार २१:४०:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।