जारी आईसीसी टी-२० विश्वकपमा पाकिस्तानको पहिलो जित

जारी आईसीसी टी-२० विश्वकपमा पाकिस्तानको पहिलो जित

काठमाडौं : आईसीसी टी२० विश्वकप क्रिकेटको समूह ‘ए’को खेलमा पाकिस्तानले क्यानडालाई सात विकेटले पराजित गरेको छ। योसँगै जारी विश्वकपमा पाकिस्तानले पहिलो जित निकालेको छ।

मंगलरबार राति भएको खेलमा क्यानडाले दिएको १०७ रनको लक्ष्य पाकिस्तानले १७.३ ओभरमा तीन विकेट गुमाएर भेट्टायो।

उसका लागि मोहम्मद रिजवानले अविजित रहँदै ५३ बलमा दुई चौका र एक छक्काको मद्दतमा ५३ रन नै जोडे।

बाबर आजम ३३ बलमा एक चौका र एक छक्काको मद्दतमा ३३ रन जोड्दा सैयम आयुब ६, फकर जमान ४ रनमा आउट भए। उस्मान खान १ बलमा दुई रन बनाएर अविजित रहे।

क्यानडाका डिलोन हेलाइगरले दुई तथा जेरेमी गोर्डोनले एक विकेट लिए।

त्यसअघि न्यूयोर्कको नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङमा तानिएको क्यानडाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १०६ रन जोड्यो।

उसका लागि एरोन जोनसनले ५२ रनको अर्धशतकीय पारी खेले। ४४ बल सामना गरेका उनले चार चौका र चार छक्का लगाए।

कलीम सानाले अविजित १३ रन बनाउँदा कप्तान साद बीन जफरले १० रन जोडे। त्यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

पाकिस्तानका मोमहम्मद आमिर र हरिश रौफले समान दुई-दुई विकेट लिँदा नसीम शाह र शाहीन शाह अफरिदीले एक-एक विकेट हात पारे।

जितसँगै पाकिस्तान समूह एको तेस्रो स्थानमा उक्लिएको छ। यो समूहको पहिलो र दोस्रो स्थानमा समान चार-चार अंकसहित भारत र अमेरिका छन्।

जेठ ३०, २०८१ बुधबार ०८:०५:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।