राजदूत फिर्ता बोलाउने निर्णय 'गलत' भएको प्रधानमन्त्रीले स्वीकारे तर एमालेले 'स्वाभाविक' भन्यो

राजदूत फिर्ता बोलाउने निर्णय 'गलत' भएको प्रधानमन्त्रीले स्वीकारे तर एमालेले 'स्वाभाविक' भन्यो

काठमाडौं : सरकारले ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेसँगै चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यसको जवाफ दिए। उनले भारत भ्रमणमा जानुपूर्व राजदूत फिर्ता बोलाउने निर्णय गर्दा ध्यान नपुगेको स्वीकार गरे।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार दिल्ली गएका थिए। त्यसको दुई दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले भारतसहित ११ देशका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

राजदूत फिर्ता बोलाउने निर्णय गर्ने क्रममा ध्यान पुग्न नसकेको स्वीकार गर्दै सोमबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीहरूसँग भने, ‘दुई दिन रोक्न पनि सकिन्थ्यो, ध्यान नगएकै हो।’

तर, एमालेले भने यसलाई स्वाभाविक रूपमा लिएको छ। एमालेका प्रमुख सचेतक महेश बर्तौलाले फिर्ता बोलाउने कुरा सरकारको नियमित काम भएकाले यसलाई स्वाभाविक रुपमा लिनुपर्ने बताए। 

उनले विगतदेखि नै सरकार परिवर्तन हुँदा राजदूत परिवर्तन गर्ने काम भइरहेकाले यसले कुटनीतिक क्षेत्रलाई कुनै असर नगर्ने बताए।  

भारतका हकमा आफ्नो भ्रमणपछि राजदूत फिर्ताको निर्णय गर्न सक्थे प्रधानमन्त्रीले। तर, उनले आफ्नो भारत भ्रमणकै बेलामा पारेर भारतमा रहेको नेपाली दूतावासलाई नेतृत्वहीन बनाएर भारत भ्रमणमा जाने निर्णय गरेका थिए। 

गत फागुन २१ मा नेपाली काँग्रेससँगको सत्ता सहकार्य तोडेर माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले आफैँले नियुक्त गरेका राजदूतहरूलाई पनि नितान्त राजनीतिक पूर्वाग्रहका साथ फिर्ता गर्ने निर्णय गरेका थिए। त्यसपछि सरकारले राजदूतमाथि राजनीति गरेको भन्दै आलोचना भएको थियो।  

जेठ २९, २०८१ मंगलबार २१:१४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।