माधव-झलनाथ गुटको आ-आफ्नै अडानले एकीकृत समाजवादीको युवा संघमा चर्कियो विवाद

माधव-झलनाथ गुटको आ-आफ्नै अडानले एकीकृत समाजवादीको युवा संघमा चर्कियो विवाद

काठमाडौं : एकीकृत समाजवादीको महाधिवेशन नजिकिँदै गर्दा पार्टी निकट युवा संघ नेपालमा विवाद चर्किएको छ। युवा संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सह-संयोजक नितेश पौडेल, कार्यालय सदस्य रोशन थापा र फुर्वा लामालाई संगठनको जिम्मेवारीबाट निष्कासन गरिएको जनाएको छ।

उनीहरुले पार्टीको समूहले विधि, विधान र पद्धतिभन्दा बाहिर गएर अराजक गतिविधि फैलाएको आरोप लगाइएको छ। पार्टीले गत भदौ दोस्रो साता संघ अध्यक्षबाट नरेश शाहीलाई बिदा गर्दै कृष्ण विकलाई संयोजक तोकेको थियो। 

तर, पौडेल समूहले शनिबार काठमाडौंमा राष्ट्रिय भेला गरेर नेतृत्व तोकेका थिए। भेलाबाट पौडेल समूहका संयोजक नितेश पौडेल र सह-संयोजकको जिम्मेवारी फुर्वा लामाले पाएका थिए। 

सह-संयोजक पौडेलले समानान्तर कमिटी घोषणा गर्नु संगठनमा व्यक्तिवाद प्रकट भएको युवा संघले जनाएको छ। पत्रकार सम्मेलनमा युवा संघ नेपालका कार्यालय सदस्य धर्म शाहीले समानान्तर कमिटी गठन गरेकोमा पौडेललाई आत्मालोचना गर्न निर्देशन दिएको भए पनि आफैंले आफैंलाई नेता घोषणा गर्ने लज्जास्पद हर्कत गरेको बताए। 

‘सम्मेलन गर्न आफ्नै विधि र व्यवस्था छ। कमिटी, संगठन नेतृत्व छ। सबै विषयलाई लत्याएर अवैधानिक भेलालाई रोक्न संगठन र पार्टीले गरेको निर्णयलाई समेत अवमूल्यन गरेर आफैंले आफैंलाई नेता घोषणा गर्ने लज्जास्पद हर्कत क्षम्य हुँदैन। यस हर्कतले हामीलाई गम्भीरतापूर्वक सोच्नुपर्ने बनाएको छ,’ उनले भने, ‘यस्ता गतिविधि निरन्तर हुन थालेपछि कार्यालय कमिटीको बैठकबाट विधानमा भएको व्यवस्थाअनुरुप सहसंयोजक नितेश पौडेल, कार्यालय सदस्य रोशन थापा र फुर्वा लामालाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट निष्कासन गरिसकिएको छ। र, यसको जानकारी पार्टीलाई पठाइसकिएको छ।’

संयोजक विक पार्टीका नेता झलनाथ खनालनिकट हुन् भने सह-संयोजक पौडेल अध्यक्ष माधवकुमार नेपालका भान्जा हुन्।  

जेठ २९, २०८१ मंगलबार १८:४२:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।