संघीय संसद्का दुवै सदनको बैठक बस्दै, चार मन्त्रालयको खर्च कटाएर एक रुपैयाँ बनाउन कांग्रेस सांसद्को प्रस्ताव

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, चार मन्त्रालयको खर्च कटाएर एक रुपैयाँ बनाउन कांग्रेस सांसद्को प्रस्ताव

काठमाडौं : संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक सवा १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी बोलाइएको छ।

प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची रहेको छ।

त्यस्तै, आजको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शिर्षकहरूमाथि मन्त्रालयगत छलफल गर्ने लगायतका विभिन्न ६ वटा विषय छलफलका लागि सम्भावित कार्यसूचीमा राखिएको संसद् सचिवालयले जनाएको छ।

बैठकमा वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल गर्नेछन्।

बैठकमा प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने’ कार्यसूची रहेको छ।

त्यस्तै, सांसद अमरेशकुमार सिंहले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्।

सांसद पुष्पबहादुर शाहले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै, सांसद बद्रीप्रसाद पाण्डेले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय जानकारी दिए।

सांसद रमा कोइराला पौड्यालले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

यस्तै, राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय मानव अधिकार आयोगको २३औं वार्षिक प्रतिवेदन र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन पेश गर्नेछन्।

यसैगरी अर्थ मन्त्री वर्षमान पुनले पनि बैठकमा ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयका महासचिव पद्य प्रसाद पाण्डेयले जानकारी दिए।

छलफल पछि पुनले नै ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

आज सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पनि ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

जेठ २९, २०८१ मंगलबार ०८:४४:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।