राजदूत फिर्ताको निर्णय गरेर भारत गएका प्रचण्ड भन्छन्' निर्णय गर्दा ध्यान पुगेन'

राजदूत फिर्ताको निर्णय गरेर भारत गएका प्रचण्ड भन्छन्' निर्णय गर्दा ध्यान पुगेन'
भारतबाट फर्किएपछि राजदुत फिर्ताको निर्णयमा पछुतो सुनाउँदै प्रचण्ड र उनको भारत भ्रमणकोक्रममा औपचारिक भेटघाटमा फिर्ता बोलाएका राजदुत शर्मा।

काठमाडौँ : भारतका लागि नेपाली राजदूत शङ्कर शर्मासहित ११ देशको राजदूत फिर्ता बोलाउने निर्णय गरेर भारत भ्रमणमा गएर फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछुतो माने।

भारतमा गठबन्धनबाट प्रधानमन्त्री बन्दै गरेका नरेन्द्र मोदीको शपथग्रहणमा सहभागी हुन जानु अगाडि उनले भारतका लागि नेपाली राजदूत शर्मालाई फिर्ता बोलाउने निर्णय गरेका थिए।

आफू भ्रमणमा जाने देशकै राजदूत फिर्ता बोलाउने निर्णय गरेर अशोभनीय र कूटनीतिक अपरिपक्वता देखाएको भन्दै सरकारको निर्णयको तीव्र आलोचना समेत भयो।

भारत भ्रमणबाट स्वदेश फर्किएका उनले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भारतको राजदूत शर्मालाई फिर्ता बोलाउने निर्णय गर्दा ध्यान नपुगेको स्वीकार गरे।

राजदूत फिर्ताको निर्णय दुई दिनपछि गर्दा पनि हुने भन्दै उनले यो संयोग मात्र भएको तर यसमा ध्यान नपुगेको स्वीकार गर्छु भनेका थिए।

आफूले फिर्ता बोलाउने राजदूतसँगै भारतमा कूटनीतिक भेटघाटमा रहेका प्रचण्डको तस्बिरहरू सार्वजनिक भएपछि लाज नभएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो।

आफ्नो भारत भ्रमणको क्रममा राजदूत शर्मा निकै सक्रिय भएको र आफूले धन्यवाद पनि दिएको भन्दै प्रचण्डले लाज पचाउने प्रयास गरे।

जेठ २८, २०८१ सोमबार २२:५०:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।