'संसद विघटन ठिक थियो' भनिरहन्छन् ओली : प्रचण्ड कहिले गठबन्धनै छोड्छन्, कहिले नसुनेझैं गर्छन्

'संसद विघटन ठिक थियो' भनिरहन्छन् ओली : प्रचण्ड कहिले गठबन्धनै छोड्छन्, कहिले नसुनेझैं गर्छन्

काठमाडौं : गत शनिबार एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले एमाले काठमाडौं जिल्ला कमिटीको सातौँ अधिवेशनमा संसद् विघटन गरेको भए एमाले नै नरहने अभिव्यक्ति दिएका थिए। त्यसबेला संसद विघटन गर्नु ठिक भएको जिकिर गर्दै ओलीले एमाले बचाउन त्यसो गरेको बताए। 

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले ओलीले संसद् विघटनबारे दिएको त्यस अभिव्यक्तिलाई सुनेको नसुनैजस्तो गरिरहे। तर, दुई दिनपछि भने प्रचण्डले त्यस अभिव्यक्तिले गठबन्धनमा कुनै असर नपर्ने बताएका छन्।

दुईदिने भारत भ्रमण सकेर सोमबार साँझ स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीलाई संसद् विघटनबारे ओलीको अभिव्यक्तिबारे सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले ओलीको धारणालाई लिएर सरकारमा कुनै नराम्रो हुने स्थिति नरहेको बताए।

'एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीजीले यो धारणा सधैँ राख्दै नै आउनुभएको छ। उहाँको धारणा, उहाँको पार्टीमा प्रस्तुत गर्नुभएको हो। यसले गठबन्धनलाई केही असर गर्दैन। उहाँले त यो धारणा सधैँ राख्दै आउनुभएको छ। हामी सबैले बुझेको हो। आफ्नो धारणा, आफ्नो पार्टीमा राख्नुलाई स्वाभाविक नै ठानेको छु। यसले समीकरणमा केही हुन्छ कि भन्न खोज्नुभएको हो भने केही फरक पर्ने स्थिति छैन,' उनले भने।

प्रचण्ड एमाले, माओवादी, रास्वपा, राप्रपा लगायतको समर्थनमा ०७९ पुष १० गते प्रधानमन्त्री नियुक्त भए। त्यसपछि विश्वासको मत लिने क्रममा ओलीले 'संसद विघटन ठिक थियो' भनेको हुनाले आफूले तत्कालीन एमालेसँगको गठबन्धन छोड्नुपरेको प्रचण्डले बताएका थिए। संविधानमाथिको प्रहारलाई स्वीकार्य नहुने र ओलीले अझै त्यसलाई आत्मालोचना नगरेकाले त्यस गठबन्धन छोडेको उनको तर्क थियो। 

त्यसलगत्तै प्रचण्ड फेरि कांग्रेससँगको गठबन्धनमै फर्किए। त्यसबीचमा एमाले अध्यक्ष ओलीले संसद विघटनबारे आफ्नो धारणा फेरेनन्। 

अहिले फेरि एमालेसँगकै गठबन्धनमा रहेर प्रधानमन्त्रीको पद सम्हालिरहेका प्रचण्डले ओलीको त्यस अभिव्यक्तिलाई पहिलोपटकजस्तै खुलेर आलोचना गर्न सकेका छैनन्। 

जेठ २८, २०८१ सोमबार २१:०१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।