कक्षा १२ को प्रश्नपत्रको गोपनीयता भंग गरेको आरोपमा दुई शिक्षक पक्राउ

कक्षा १२ को प्रश्नपत्रको गोपनीयता भंग गरेको आरोपमा दुई शिक्षक पक्राउ

काठमाडौँ : परीक्षाअगावै प्रश्नपत्रको गोपनीयता भंग गरेको आरोपमा प्रहरीले दुई शिक्षकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागलुङ ग्वालीचौर–८ घर भइ ललितपुर उपमनपा–१८ बस्ने ३१ वर्षीय केशव घिमिरे र काठमाडौँ–१६ वस्ने पाल्पाको रिब्दिकोट–३ का २४ वर्षीय  विकास ज्ञवाली छन्।

 राष्ट्रिय परीक्षा बोर्डबाट गत वैशाख १४–२६ मा कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो। परीक्षा चलिरहेकै बेला काठमाडौँ जिल्लाका केही परीक्षा केन्द्रहरूमा परीक्षार्थीहरू, विभिन्न विद्यालयका शिक्षकहरू समेतले मोबाइल फोनको माध्यमबाट परीक्षाको गोपनीयता र मर्यादा भंग हुने गरी प्रश्नपत्रहरु सामाजिक सञ्जालका माध्यमहरू ह्वाट्सएप, म्यासेन्जर, इन्स्टाग्राम, भाइ बर लगायतमा सेयर गरेको खुलेको थियो।

विभिन्न ग्रुपहरू बनाएर तिनमा परीक्षाअघि नै प्रश्न पत्र तथा उक्त प्रश्नपत्रको उत्तरहरू आदानप्रदान गर्ने-गराउने गरेको पाइएको थियो।

 उक्त कसुरमा संलग्नको खोजतलास दुवैलाई सोमबार टेकुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा कारबाहीका लागि काठमाडौँ जिल्ला अदालतबाट प्रहरीले ५ दिनको हिरासत म्याद अनुमति लिएको छ।

जेठ २८, २०८१ सोमबार १७:११:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।