अस्पताल नेतृत्वमा स्वास्थ्यन्त्री यादवको रोजाई : खरिद मिलेमतोका अनुभवी र बदनाम

अस्पताल नेतृत्वमा  स्वास्थ्यन्त्री यादवको रोजाई : खरिद मिलेमतोका अनुभवी र बदनाम

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकको जिम्मेवारी विवादित चिकित्सक डा. प्रदीप केसीलाई दिए।

नरदेव आयुर्वेद चिकित्सालयबाट सिंहदरबार वैध्यखाना विकास समितिको कार्यकारी निर्देशकको रुपमा कामकाजमा खटाइएका डा. केसीलाई विभागको महानिर्देशकको समेत जिम्मेवारी दिइएको हो। 

‘सिंहदरबार वैद्यखानाको पनि कामकाज हेर्ने गरी विभागको महानिर्देशकको रुपमा खटाइएको हो,’ डा. केसीले उकेरासँग भने। 

केही समयअघि विभागका महानिर्देशक डा. वासुदेव उपाध्याय लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा नियुक्त भएपछि विभागको महानिर्देशक पद खालि थियो। डा. केसीले आफ्नो दरबन्दी पनि नरदेवीबाट विभागमा नै सारिएको र डा. उपाध्यायको विभागबाट नरदेवीमा दरबन्दी सारिएको जानकारी दिए।

डा. केसीले मन्त्रीस्तरीय निर्णयबाट आफूले विभागको महानिर्देशकको जिम्मेवारी पाएको बताए। 

मन्त्री यादवले भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट पनि परिवर्तन गरे। उनले डा. श्रीराम तिवारीलाई अस्पतालको मेडिकल सुपरिटेन्डेन्टबाट हटाउँदै खरिद विवादमा मुछिएका डा. कृष्णप्रसाद पौडेललाई भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिए। डा. तिवारीको भने वीर अस्पतालमा नै काज फिर्ता भएको छ। 

यसअघि पनि डा. पौडेल भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट थिए। त्यो बेला विशेषगरी एमआरआई खरिदमा निश्चित कम्पनीसँग मात्रै मिल्नेगरी स्पेसिफिकेसन नै लक्ड गरेर बनाई चाहेकै कम्पनीलाई एमआरआईको टेण्डर पारिदिन डा. पौडेलले सक्रिय भूमिका खेलेका थिए। डा. तिवारीले मंगलबारमात्रै भरतपुरमा एमआरआई आइपुगेको जानकारी दिए।

भरतपुर अस्पतालले २९ करोड ५८ लाख ६५ हजारमा निश्चित कम्पनीसँग नै ‘थ्री टेस्ला एमआरआई मेसिन’ खरिद गर्ने निर्णय गरेको थियो।

स्वास्थ्य सचिव रोशन पोख्रेल र भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पौडेलको कमिसन सेटिङमा अगाडि बढेको बढीमा २३ करोडमा आउने सो एमआरआईको टेण्डर उनले चाहेकै कम्पनीलाई साढे २९ करोड बढीमा खरिद गर्न दिइएको थियो।

त्यस्तै, विगत एक वर्षदेखि स्वास्थ्य मन्त्रालयमा जिम्मेवारीविहीन रहेका प्रमुख स्वास्थ्य प्रशासक डा. यदुचन्द्र घिमिरेलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकको जिम्मेवारी दिइएको छ।

डा. रुद्र मरासिनीलाई राष्ट्रिय ट्रमा सेन्टरको प्रमुखको जिम्मेवारी दिएपछि सो महाशाखाको निर्देशकको पद खालि थियो। मरासिनी पहिला ट्रमामा हुँदा मिलेमतो खरिदका बदनाम पात्र हुन्।

उता कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट पनि मन्त्री यादवले हेरफेर गरेका छन्। मन्त्री यादवले कोशीका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झालाई हटाएर डा. रविनराज सिंहलाई कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए। 

यादवले स्वास्थ्यमन्त्री भएपछि कर्मचारीको सरुवा यसअघिका मन्त्रीले जस्तै नै गर्न थालेका छन्। 

जेठ २३, २०८१ बुधबार १९:३३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।