फिल्म प्रसाद-२ को विवादमा सुटिङ सेटको साटो प्रहरीको हिरासतमा छन् निर्देशन सुदर्शन

फिल्म प्रसाद-२ को विवादमा सुटिङ सेटको साटो प्रहरीको हिरासतमा छन् निर्देशन सुदर्शन

काठमाडौँ : काठमाडौँ जिल्ला अदालतको आदेशमा फिल्म निर्देशन सुदर्शन थापा प्रहरी वृत्त बौद्धको हिरासतमा छन्। सोमबार पक्राउ परेका उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएपछि उनी फिल्म ‘रावायण’को सुटिङ सेटको साटो प्रहरी हिरासतमा पुगेका हुन्।

विवादै विवादकाबीच निर्माण सकिएर प्रदर्शन भएको फिल्म ‘प्रसाद २’को विवादमा सुदर्शन प्रहरी हिरासतमा पुगेका हुन्। उनीमाथि फिल्मका निर्मातामध्येका सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले आफ्नो  
मन्जुरी नलिई फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर १ करोड ५० लाख ठगी गरेको आरोपमा जाहेरी दिएपछि उनी फरार भएका थिए।

साउन १० मा उजुरी दर्ता भए लगत्तै फरार भएका उनी काठमाडौँ उपत्यका बाहिर फिल्म रावायणको सुटिङ सक्काएर काठमाडौँमा सुटिङ गर्न आएको बेलामा पक्राउ परेका थिए।

फिल्म प्रसाद-२ प्रारम्भदेखि नै विवादमा आएको थियो। सो फिल्मका निर्माता सुवास थापाले फिल्मको लगानीकर्ता बनाउने भन्दै ठगी जालो नै चलाएका थिए। निर्माता बनाउने भन्दै ठगी गरेपछि उनी विरुद्ध प्रहरीमा उजुरी परेपछि सुदर्शन बस्नेत र ज्याक श्रेष्ठ नयाँ निर्माताका रूपमा भित्रिए।

सुवासले पहिला नै निर्माता बनाउने भनेर पत्रकार सम्मेलन समेत गरेर केशव पाण्डेसँग ६२ लाख बढी रकम लिएका थिए। पछि सुवासले सुदर्शन बस्नेत र ज्याक श्रेष्ठलाई निर्माताको रूपमा भित्र्याएर फिल्मको निर्माणको काम सकेर प्रदर्शन गरे। उता पाण्डे सुवासविरुद्ध बैङ्किङ कसुरमा प्रहरीमा गए। सुवास भूमिगतै बसेर फिल्म प्रदर्शन गरे। फिल्म फ्लप भएपछि उनी भूमिगतै छन्। उनी विरुद्ध जिल्ला अदालत काठमाडौँमा बैङ्किङ कसुरको मुद्दा दर्ता भइसकेको छ।

यता फिल्मका निर्देशन सुदर्शनले विदेश र नेपालमा समेत आफूखुसी फिल्म प्रदर्शनको अधिकार बेच्दै प्रदर्शन गराएको थाहा पाएपछि निर्मातामध्येका सुदर्शन बस्नेत र ज्याक श्रेष्ठ प्रहरीमा उजुरी लिएर पुगे। सुदर्शनविरुद्ध उजुरी पर्नु अगाडि फिल्म रावायणमा अभिनय गर्न पैसा लिएर काम नगरेको भन्दै उनले अभिनेता अनमोल केसीविरुद्ध उजुरीदिँदा अनमोल पक्राउ परेका थिए।

अनमोल हाजिर जमानीमा रिहा भए लगत्तै सुदर्शन आफैँ फरार हुनुपर्यो।

जेठ २३, २०८१ बुधबार १४:४३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।