रण अम्बिका आँखा अस्पतालको भवन निर्माण ठेक्कामा सेटिङ भएको भन्दै अख्तियारमा उजुरी

रण अम्बिका आँखा अस्पतालको भवन निर्माण ठेक्कामा सेटिङ भएको भन्दै अख्तियारमा उजुरी

बुटवल : भैरहवाको रण अम्बिका आँखा अस्पतालको भवन निर्माणको ठेक्कामा सेटिङ भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

अस्पतालको भवन निर्माणका लागि गरिएको टेन्डर प्रक्रियामा अमुक निर्माण कम्पनीलाई छनोट गर्ने नियत राखी नियम विपरीत गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो। 

यस विषयमा लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले विरोध जनाएको छ। संघले सोमबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि टेन्डर प्रक्रियाप्रति विरोध जनाउँदै कानूनी उपचारमा जाने चेतावनी दिएको हो। 

अस्पतालले २०८० चैत्र १६ मा भवन निर्माणका लागि नागरिक दैनिक पत्रिकामा प्रकाशित सूचना अनुसार ठेक्का नं (LEI/NCB/Works-01-80/81) बोलपत्रमा भाग लिएका १७ वटा फर्म कम्पनी दर्ता भएका मध्ये अधिकांश निर्माण व्यवसायीहरूलाई प्राविधिक प्रस्तावमा अस्वीकृत गरी सीमित कम्पनीलाई प्रतिस्पर्धामा सहभागी गराएको भन्दै व्यवसायीहरूले विरोध जनाएका हुन्। 

संघका अनुसार २०८१ जेष्ठ ४ गते प्राविधिक प्रस्ताव स्वीकृतको आशय प्रकाशित गरी ३ वटा फर्म मात्र प्राविधिक प्रस्तावमा स्वीकृत गरिएको थियो। सो विषयमा संघले ९ जेष्ठमा प्रस्ताव छनौट पुन: मूल्याङ्कनका लागि पत्र पठाए पनि जबाफ नपाएको अध्यक्ष मञ्जु भुसालले बताइन। अस्पतालले १८ जेष्ठमा बोलपत्र स्वीकृतीको आशय प्रकाशित गरि नियोजित रुपमा निर्माण कम्पनी छनोट गरेको उनको भनाइ छ। 

विडिङ्गमा निर्माण व्यवसायीहरूका १७ वटा कम्पनी प्रतिस्पर्धामा भए पनि बिनाकारण अन्य कम्पनीको प्राविधिक प्रस्ताव अस्वीकृत गरि ३ वटा फर्महरू कविन्द्र निर्माण सेवा कीर्तिपुर १, काठमाण्डौं, एपिएम कन्सट्रक्सन एण्ड विल्डस प्रालि काठमाण्डौं-१४, बल्खु र नव सिर्जनशिल कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाण्डौं -९, सिनामंगललाई मात्र प्रतिस्पर्धामा सहभागी गराइएको उनले बताइन्। 

प्रतिस्पर्धाबाट नव सिर्जनशिल कन्स्ट्रक्सन कम्पनी प्रालिलाई छनोट गरी २२ करोड २९ लाख १० हजार ९७९ रुपैयाँ (मु.अ.करसहित) मा बोलपत्र स्वीकृत गरिएको छ। सो कार्य मिलेमतोमा आफू अनुकूलको निर्माण कम्पनीलाई सेटिङ गरेर छनोट गरिएको संघका सल्लाहकार जमिन कक्षपतिले बताए। 

संघले प्राविधिक प्रस्ताव अस्वीकार गर्नुको कारण खुलाई सो को सत्यतथ्य आधार बाहिर ल्याउनका लागि पुनः मूल्याङ्कन गराई स्वच्छ प्रतिस्पर्धामा भाग लिने वातावरण बनाउन आग्रह गरेको कक्षपतिले बताए। 

यता, अस्पताल प्रशासनले भने कानूनी प्रक्रिया अनुसारनै टेन्डर प्रक्रियाबाट निर्माण कम्पनी छनोट गरिएको दाबी गरेको छ।

जेठ २१, २०८१ सोमबार २१:५०:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।