सहकारीबाट बदनियतपूर्ण ऋणलिँदा राप्रपा सांसदविरुद्ध मुद्दा दर्ता, प्रमाणित भए १० वर्ष कैद हुनसक्ने

सहकारीबाट बदनियतपूर्ण ऋणलिँदा राप्रपा सांसदविरुद्ध मुद्दा दर्ता, प्रमाणित भए १० वर्ष कैद हुनसक्ने

काठमाडौँ : छिपछिपे सहकारीको करिब ९६ लाख रुपैयाँ कृष्णसार रिसोर्ट प्रालिको नाममा दाखिला गराएर हिनामिना गराएको अभियोगसहित राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध अभियोग पत्र दर्ता भएको छ।

अभियोगपत्रमा बस्नेतलाई सहकारी ऐन, २०७४ को दफा १२२ को (त) बमोजिम कसुर गरेकाले सोही अनुसार कैद हुनुपर्ने माग गरिएको छ।

सो दफाको (त) मा सहकारी संस्थालाई हानी नोक्सानी पुर्याउने उद्देश्यले कसैले कुनै काम गराउन वा नगराउन, कुनै रकम लिन वा दिन, गैर कानुनी लाभ वा हानी पुर्याउने बदनियतले कुनै काम गरे वा गराएमा कसुर हुने उल्लेख छ। यो कसुर प्रमाणित भए आठदेखि १० वर्षसम्म कैद हुनसक्छ।

जिल्ला सरकारी वकिल कार्यालय पूर्वी नवलपरासीले जिल्ला अदालतमा आइतबार १६ करोड ५६ लाख ९४ हजार बिगो कायम गर्दै मुद्दा दायर गरेको हो। 

पूर्वी नवलपरासीको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्था लिमिटेडका बचतकर्ताको रकम अपचलन गरेको भन्दै सांसद बस्नेतसहित योगेन्द्र पाण्डे, शिवलाल लामिछाने, नगेन्द्रबहादुर रिमाल, ढुण्डिराज गौतम, कृष्णप्रसाद ज्ञवाली, सञ्जीव कुमार महतो, विकास सापकोटा, तीर्थराज पैनी, सुनिताकुमारी न्यौपाने र गोपीकृष्ण शर्मासहित ३५ जनालाई प्रतिवादी बनाइएको छ।

मुद्दा दायर भएपछि १० जना पक्राउ परेका छन् भने सांसद बस्नेतसहित २५ जना फरार छन्। सहकारीका कार्यालय प्रमुख योगेन्द्र पाण्डेले विभिन्न व्यक्तिको काल्पनिक खाता खडा गरी ऋण लगानी गरेको देखाएको तर झुटा विवरण तयार गरी रकम हिनामिना गरेको अभियोगपत्रमा उल्लेख छ।  

सांसद गीताले आफ्ना ज्वाइँ अध्यक्ष रहेको सनराइज सहकारीमा रकम दाखिला गर्न लगाएको अभियोगपत्रमा उल्लेख छ। उनीविरूद्ध प्रतिवादीहरू ढुण्डिराज गौतम, योगेन्द्र पाण्डे, नगेन्द्रबहादुर रिमाल, सञ्जीव कुमार महतो लगायतले बयान गरेका थिए। 

जेठ २०, २०८१ आइतबार २१:५८:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।