‘मेगास्टार’ र ‘सुपरस्टार’ अभिनित फिल्मको बक्स अफिस रिपोर्ट कति?

‘मेगास्टार’ र ‘सुपरस्टार’ अभिनित फिल्मको बक्स अफिस रिपोर्ट कति?

काठमाडौं : जेठ १० गतेदेखि प्रदर्शनमा आएका दुई फिल्म ‘फर्की फर्की’ र ‘पुजार सार्की’ दोस्रो सातामा प्रदर्शनरत छन्।

आ-आफ्ना फिल्मले भयङ्कर व्यापार गरेको र हलहरूमा दर्शकको चाप अझै कायम रहेको दाबी दुवै फिल्मको निर्माण पक्षले गरिनै रहेका छन्।

तर, फिल्म प्रदर्शनको एक साता हुँदासम्म दुवै फिल्मको निर्माण पक्षले बक्स अफिस रिपोर्ट सार्वजनिक गर्न सकेका छैनन्। रिपोर्ट सार्वजनिक गर्न वितरक तथा निर्माताहरू डराइरहेका छन्।

यसअघि प्रदर्शनमा आएका फिल्म ‘बोक्सीको घर’, ‘डिग्री माइला’, ‘महाजात्रा’ लगायत फिल्मका निर्माताले हिट फ्लप जे भए पनि तीन दिनमै आफ्नो फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेका थिए।

तर, मेगास्टार र सुपरस्टारको उपमा झुण्डिएकाहरूका फिल्म ‘फर्की फर्की’ र ‘पुजार सार्की’ले अहिलेसम्म कमाइको आँकडा सार्वजनिक गर्न सकेका छैनन्।

सुपरहिट भनेर प्रचार गरिएका फिल्मले कति कमायो भनेर चासो लाग्नु स्वभाविकै हो। दर्शकले पनि बडो चासोका साथ हेरिरहेका छन्, सुपरहिट हुनलाई नेपालमा फिल्मले कति कमाउनुपर्दो रहेछ भनेर।

एक सातासम्म पनि रिपोर्ट सार्वजनिक नहुँदा फिल्म चलाउनकै लागि मात्र फिल्मकर्मीले ब्ल्कबस्टर र सुपरहिटको रट त लगाइरहेका छैनन्? ‘मेगास्टार’ र ‘सुपरस्टार’ दाबी गरिएका कलाकारहरूको क्षमतामाथि नै प्रश्न उठ्ने भएर पो सार्वजनिक गर्ने आँट नगरेका हुन् कि? शंका किन नगर्ने?

यसअघि अनमोल केसी स्टारर फिल्म ‘छड्के ०.२’ र प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’ले बक्स अफिसमा झुर सावित भएका थिए। ‘छड्के ०.२’ पछि अनमोलले दर्शकलाई निराश बनाएको भन्दै सार्वजनिक रूपमै माफी मागेका थिए।

जेठ १८, २०८१ शुक्रबार ११:०२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।