१९.८९ अंकले घट्यो नेप्से, कारोबार पनि ओरालो
काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेयता ओरालो लागेको सेयर बजार साताको अन्तिम कारोबार दिन दोहोरो अंकले घटेको छ। बिहीबार नेप्से परिसूचक १९.८९ अंकले घट्दै २०६९.५३ मा रह्यो।
९८ लाख ६४ हजार ४८२ कित्ता सेयर ४ अर्ब २१ करोड ७४ लाख रुपैयाँमा किनबेच भएको छ।
यसअघि बुधबार परिसूचक २३.८१ अंकले घट्दै २०८९.४२ को विन्दुमा रहँदा १ करोड ७ लाख ३८ हजार १६९ कित्ता सेयर ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँमा किनबेच भएको थियो।
बिहीबार १३ मध्ये उत्पादन तथा प्रशोधन, जलविद्युत र फाइनान्सबाहेक सबै उप-समूह घटेका छन्। वाणिज्य बैंक उप-समूह सर्वाधिक १.७२ प्रतिशतले घटेको छ। २४७ कम्पनीको सेयर कारोबारमा १७३ को सेयर मूल्य घटेको छ।
पोखरा फाइनान्सका लगानीकर्ता धेरै नोक्सानीमा छन्। उक्त कम्पनीको सेयरमा नकारात्मक सर्किट नै लागेको छ। कालिञ्चोक दर्शन, बाराही हाइड्रोपावर, नेपाल वेयरहाउस पनि घटेका छन्।
७० कम्पनीको सेयर मूल्य बढ्दा तीन कम्पनीको सर्किट नै लागेको छ। नेपाल फाइनान्स, अपर लोहोरेखोला हाइड्रोपावर र भगवती हाइड्रोपावरका सेयरमा सर्किट लागेको हो। मनकामना इन्जिनियरिङ हाइड्रोपावर र युनिलिभर नेपालको सेयर पनि सर्किट स्तरमा बढेको छ ।
सेयर मूल्य बढेर सर्किट लागेको नेपाल फाइनान्स नै बिहीबार सर्वाधिक कारोबार भएको कम्पनीमा परेको छ। उक्त फाइनान्सको १९ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
यस्तै, ज्ञादी ग्रुप अफ पावरको १५ करोड ३० लाख, जानकी फाइनान्सको १३ करोड ६० लाख, सीइडीबी हाइड्रोपावरको १२ करोड ३ लाख र कालिञ्चोक दर्शनको १० करोड ६१ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
जेठ १७, २०८१ बिहीबार १६:१५:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।