हलमा तीन दिन दर्शक टिकाउने क्षमता नराख्ने कसरी मेगास्टार, कसरी सुपरस्टार ?

हलमा तीन दिन दर्शक टिकाउने क्षमता नराख्ने कसरी मेगास्टार, कसरी सुपरस्टार ?

काठमाडौं : चार दिनअघि अभिनेत्री तथा निर्मात्री रेखा थापाले सामाजिक सञ्जालमा ‘यो हिरोको युग होइन रहेछ, कलियुग रहेछ’ भन्ने स्टाटस लेखिन्। उनले स्टाटसमा कसैको नाम इंकित गरेकी छैनन्। तर, बुझ्न के सकिन्छ भने नेपाली फिल्मका स्टार भनिएकाहरूका फिल्म चल्दैनन्, बरु कलाकारहरूका फिल्म चल्छन् र चलिरहेका छन्।

आफूलाई स्टार भनिएका अभिनेता अनमोल केसी, प्रदीप खड्का, पल शाह लगायतको फिल्म अहिले हल चलिरहेको छ। तर, उनीहरूका फिल्ममा दर्शक त्यसरी खनिएका छैनन्, जसरी ती फिल्मका पात्रले देखाएका छन्। अनमोलको नामको अगाडि आजकल स्टार मात्रै होइन, मेगा पनि थपेर मेगास्टार भन्ने गरिन्छ।

यस अघिका केहि फिल्ममा समेत अनमोललाई मेगास्टार भनिएका थिए। यद्यपि उनको फिल्मको बक्स अफिस रिपोर्ट खास गतिलो छैन। हलबाट लगानी मात्रै उठाएको फिल्मलाई हिट र ब्लकबस्टर भन्ने हो भने अलग्गै कुरा। विभिन्न ट्याग भिरेका अभिनेताहरूले फिल्मलाई बोकेर हिँड्न नसकेको अवस्थामा रेखाको स्टाटसलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

झण्डै पाँच वर्षको अन्तरालमा रेखा आफैँले निर्माण गरेको फिल्म ‘उपहार’ गत वर्ष फागुन २५ गते रिलिज भयो। फिल्मबाट रेखाले आफ्नो स्टारडम फेरि फर्काउछिन् भन्ने चर्चा पनि राम्रै चल्यो। चर चर्चा मात्रै चल्यो, फिल्म चल्न सकेन। उनको फिल्म पनि हलमा तीन दिन पनि टिक्न मुस्किल भयो। उनलाई लगानी सुरक्षित गर्न  धौधौ पर्यो।

गत बिहीबारबाट हलमा दुई प्रतिस्पर्धी अभिनेता अनमोल केसी र प्रदीप खड्का अभिनित फिल्म ‘फर्की फर्की’ र ‘पुजार सार्की’ प्रदर्शनमा आएका छन्। उनीहरूलाई नेपालका स्टार कलाकारका रूपमा लिइन्छ। निर्माता तथा निर्देशकले अन्तर्वार्ताहरुमा मात्रै नभएर फिल्ममा नाम राख्दै उचाल्ने गरेका छन्।

हलमा लागिरहेको फिल्म ‘फर्की फर्की’मा पनि उनको नामको अगाडि मेगास्टारको उपाधि झुण्ड्याइएको छ। यद्यपि उनलाई यो उपाधि भारी परेको र पर्ने देखिन्छ। मेगास्टारको फिल्म हलमा लाग्दा उत्सव झैँ हुनुपर्ने हो। तर, ‘छक्का पञ्जा’ र ‘कबड्डी’ सिरिज जत्तिको क्रेज पनि देखिँदैन हल अनि दर्शकमा।

शुक्रबार र शनिबार देखिएका दर्शकलाई आइतबारसम्म पनि त्यत्तिकै फ्लोमा हलमा टिकाइराख्न सकेका छैनन् अनमोलले। आइतबार कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिज पुग्दा अनमोल र प्रदीप दुवैको फिल्ममा दर्शकको चाप थिएन। मेगास्टार भनिएका अनमोलको भन्दा स्टार कहलिएका प्रदीपको फिल्म ‘पुजार सार्की’मा बढी दर्शक देखिन्थे।

मेगास्टार र स्टार भनिएका कलाकारले हलसम्म दर्शकलाई छक्का पञ्जा र कबड्डी सिरिजले झैँ फर्काउनुपर्थ्यो। तर सकेनन्। दर्शकले उनीहरूलाई पत्याएनन्। उनीहरूको हिरोइजमले काम गरेन। अनमोलकै प्रतिष्पर्धीमा रूपमा हेरिएका प्रदीप खड्का अभिनित फिल्म ‘पुजार सार्की’को व्यापार पनि ‘फर्की फर्की’ भन्दा खासै तलमाथि भएको देखिँदैन।

बलिया फ्यानफलोइङ भएका अनमोल, प्रदीप, रेखा तथा अन्य कलाकारले आफ्नो स्टारडम फर्काउन सकिरहेका छैनन्। उनीहरूकै पदचापमा रहेकी अभिनेत्री साम्राज्ञी आरएल शाह पनि आफ्नो स्टारडम फर्कनेमा ढुक्क छैनन्। उनी अभिनित फिल्म ‘लण्डन टु पेरिस’ जेठ २५ गतेबाट प्रदर्शन हुँदैछ।

प्रिमियरमा स्टार झैँ तामझाम
फिल्मकर्मीले आफ्नो फिल्मको प्रिमियरमा गजबकै तामझाम गर्छन्। भलै हलमा दर्शक नआउन्, तर प्रिमियर भव्य हुनैपर्छ।

गत बुधबार सिटी सेन्टरमा रहेको बिग मुभिजमा फिल्म ‘फर्की फर्की’को प्रिमियर राखिएको थियो। त्यो तामझाम हेर्दा लाग्थ्यो, कुनै धनाढ्य व्यक्तिको विवाह हुँदैछ। त्यति भव्य तरिकाले हल सजिसजाउ थियो। हलमा उपस्थित अधिकांशले फिल्मको भन्दा पनि त्यहाँको सजावट र झकिझकाउको चर्चा गरेका थिए।

त्यति मात्र होइन, यसअघि यहि फिल्मको ट्रेलर रिलिजको अवसरमा सोही हलमा दुई बडिगार्डसहित उपस्थित भएका थिए अनमोल। फिल्म ‘छड्के ०.२’ सुपरफ्लप भएपछि अनमोलको अभिनय रहेको ‘फर्की फर्की’नै पहिलो सिनेमा हो। छड्केमा गुमेको स्टारडम अहिले प्रदर्शनमा आएको फिल्मले फर्काउने आँकलन थियो फिल्मी पण्डितहरूको। तर, उनीहरूले सोचजस्तो भएन। यद्यपि छड्के झुर नै पनि भएन।

यता प्रदीप खड्काको अवस्था पनि अनमोलको भन्दा कम छैन। उनी पनि फिल्म अन्य कलाकारहरू अन्जना बराईली, आर्यन सिग्देल लगायतकाहरूसँग हल-हल डुलिरहेका छन्। तर, दर्शकको अवस्था अनमोलको फिल्मभन्दा कम्ता छैन।

फिल्म ‘प्रेम गीत’बाट स्टार बनेका उनले सोही स्टारडमलाई ‘पुजार सार्की’बाट फर्काउन सकेनन्। यद्यपि उनले भने धन्न हलमा जाँदा बडिगार्ड भने बोकेर गएका छैनन्।

नाटकबाट फिल्ममा उदाएकाको रगजग 
नाटकमा घरमा दर्शकलाई अभिनयबाट मनोरञ्जन दिलाउँदै आएका कलाकारहरूले यतिबेला फिल्मका स्टारलाई पन्छाइरहेका छन्।

नाटकबाट उदाएका कलाकार सौगात मल्ल, दयाहाङ राई, प्रविण खतिवडा, पशुपति राई, विजय बराल, बुद्धि तामाङ लगायतले नेपाली फिल्म धानिरहेका छन्।

उनीहरूका एकपछि अर्को फिल्म प्रदर्शन भइरहेका छन् भने कतिपय हिट पनि भइरहेकै छन्। तर उनीहरु पनि आलोचनामुक्त भने छैनन्।

अघिल्लो वर्षमात्रै दयाहाङका आधा दर्जन भन्दा बढी फिल्म प्रदर्शनमा आए। उनीमाथि एकै खालको अभिनयको आरोप छ। गुणस्तर भन्दा पनि संख्यामा जोड गरेको भन्दै उनको आलोचना हुने गरेको छ। सौगात मल्लको अभिनय एक रेखामा बग्न सकेको छैन। उनका अधिकांश अभिनय लाउड देखिन्छ।

प्रविणले विस्तारै अभिनयको लय समातिरहेका छन्। विजय बराल सहायक भुमिकामा जमेका छन्। बुद्धि हैटबाट अगाडि बढ्न सकेका छैनन्।

जेठ १६, २०८१ बुधबार ०९:३७:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।