‘सिनेमाण्डु’ नाममा फिल्मकर्मीकै आपत्ति

‘सिनेमाण्डु’ नाममा फिल्मकर्मीकै आपत्ति

काठमाडौं : चलचित्र विकास बोर्डले राखेको नेपाली फिल्म क्षेत्रको नाम ‘सिनेमाण्डु’प्रति अधिकांश फिल्मकर्मीले आपत्ति जनाएका छन्।

नेपाल चलचित्र कलाकार संघ, निर्माता संघ, प्राविधिक संघ लगायतका संघको सहमतिमा नेपाली फिल्म क्षेत्रको नाम ‘सिनेमाण्डु’ राखिएको थियो।

चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष तथा अभिनेता कृष्ण मल्लले ‘सिनेमाण्डु’ नाम के र कसका लागि जरुरी रहेको भन्दै प्रश्न गरेका छन्।

उनले भनेका छन्, ‘के र कस्का लागि जरुरी? उद्योगको पनि ओैपचारिक नाम हुन्छ? अनौपचारिक नामले हलिउड र बलिउड नाम भएकोले यहाँ पनि नाम राख्न खोजिएको हो?’

उनले फिल्म क्षेत्रको नाम सरकारले नै राख्नुको औचित्य के हो भनेर समेत प्रश्न तेर्स्याएका छन्।  चलचित्र विकास बोर्ड र सरकारलाई प्रश्न गर्दै उनले भनेका छन्, ‘अनौपचारिक नामले बोलाउन सकिएला तर सरकारले नै नाम राख्नुको ओैचित्य के? फेरि नेपाली सिनेमालाई काठमाण्डुसँग मात्र जोड्नु उपयुक्त हुन्छ। बलिउड सम्पूर्ण भारतीय फिल्म उद्योगको नाम होइन, कोलकाताको फिल्म उद्योगलाई कलिउड, साउथकालाई टलिउड र बम्बैलाई बलिउड भनिन्छ। धरान र पोखरामा बनेका फिल्म पनि सिनेमाण्डु कसरी हुन्छ?’

यता फिल्म लेखक तथा समीक्षक सामिप्यराज तिमिल्सेना बोर्डले गर्नुपर्ने काम नगरेर नगर्नुपर्ने काम मच्चीमच्ची गरिरहेको आरोप लगाए। चलचित्र विधेयक, चलचित्र नीति, बनेपामा बन्ने भनेको इन्डोर सुटिङ स्टुडियो बनाउने हल्ला मच्चाएर नाममा अल्झिएर बसेको उनले आश्यर्च माने।

बोर्डप्रति रुष्ट रहेका सामिप्य भन्छन्, ‘चलचित्र विधेयक खोई? चलचित्र नीति खोई? बनेपामा बन्ने भनेको इन्डोर सुटिङ्ग स्टुडियो खोई? स्टोरी बैंकले छानेका कथामा फिल्म बनेको खोई?’

नामाकरणको छलफलमा सहभागी प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले ‘सिनेमाण्डु’ र ‘कान्तिपुर फिल्मस्’ राख्नु भन्दा ‘हिमालय फिल्म्स्’ राख्न सुझाव दिएको बताए।

उनले भने, ‘नेपाल प्राविधिक संघको तर्फबाट चाहिँ हिमालय फिल्मस् राख्ने भनेर सेलेक्सन गरेर पत्र पठाएका छौँ।’

लामो छलफलमा बोर्डका अध्यक्ष भुवन केसीले सबैको राय अनुसार केहि कुरा तलमाथि भए पनि ‘एभरेष्ट सिनेमा’ राख्दा के हुन्छ भनेर प्रश्न गरेका थिए। तर, यसमा केहिले बाहेक सहमति जनाएनन्। अन्तमा सबैले ‘सिनेमाण्डु’ मा राख्ने कुरामा सहमत भएका थिए।

चलचित्र विकास बोर्डले सोमबार फिल्म सम्बद्ध संस्थालाई नामाकरणबारे छलफलका लागि बोर्डमा बोलाएर नेपाली चलचित्र क्षेत्रको नामाकरण गरेको थियो। सोमबार नै सहमति जुटेपछि बोर्डले त्यसलाई अनुमोदन गरेर मन्त्रालयमा पठाएको  बोर्डका अध्यक्ष भुवन केसीले जानकारी दिए। 

उनका अनुसार नामाकरण बारेको सहमतिमा सहभागी संस्थाका प्रतिनिधिले हस्ताक्षर सहितको निर्णयपछि नामाकरणबारेको सिफारिस सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाइनेछ।

सिनेमाण्डु नामलाई मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा पेश गर्नेछ भने बैठकले अनुमोदन गरेपछि आधिकारिक रूपमै नेपाली फिल्म क्षेत्रले नाम ‘सिनेमाण्डु’ हुनेछ। 

जेठ १५, २०८१ मंगलबार १३:०४:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।