सहकारी ठगी छानबिन : कार्यादेशको गाँठो फुकाउनै सकस

सहकारी ठगी छानबिन : कार्यादेशको गाँठो फुकाउनै सकस

काठमाडौँ  : सहकारी ठगीको छानबिन गर्न संसदीय समिति गठन गर्न सत्तापक्ष राजी भएसँगै छानबिनको कार्यक्षेत्र के के हुने टुङ्गो लगाउन कानुन मन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल बन्यो।

कार्यदलमा कांग्रेस सह-महामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन्। बिहीबारको बैठकमा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी भएका छन्।

पटक-पटक कार्यदलको बैठक बसे पनि कार्यक्षेत्र भने सहमति हुन सकेको छैन। सत्ताधारी विशेष रास्वपा र एमाले गृहमन्त्री रवि लामिछाने, उनी पहिला कार्यरत गोर्खा मिडिया प्रालीको नाम उल्लेख नगरी समग्र सहकारीको रकम अपचलनबारे छानबिन गर्ने कार्यदेश तोक्नुपर्ने पक्षमा छन्।

कांग्रेसका प्रतिनिधिले यो प्रस्ताव स्वीकार गरेका छैनन्। आफ्नो माग गृहमन्त्री लामिछाने संलग्न देखिएका सहकारीमा भएको रकम अपचलनको संसदीय छानबिन रहेकाले कार्यादेशमा गृहमन्त्री रवि, उनले काम गरेको गोर्खा मिडिया र गोर्खा मिडियामा अनधिकृत रूपमा रकम गएको सहकारीहरूको समेत नाम कार्यादेशमा खुलाउनुपर्ने मागमा अडिग देखिएका छन्।

सुर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी लगायतका सहकारीबाट गोर्खा मिडियामा अनधिकृत रूपमा एक अर्ब बढी रकम गएको दाबी गर्दै कांग्रेसले संसदीय छानबिन समितिको माग राख्दै संसद् अवरुद्ध गराउँदै आएको छ।

बिहीबार अपराह्न सिंहदरबारस्थित कानुन मन्त्रालयमा कार्यदलको बैठक बसेको छ। तर सहमतिको सम्भावना भने निकै कम देखिन्छ।

जेठ १०, २०८१ बिहीबार १६:३६:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।