उपेन्द्र भएको ठाउँमा बस्नै नमान्ने सीके, सत्ता गुमेपछि 'मधेशको मुद्दा' भन्दै सहारा माग्ने उपेन्द्र !

उपेन्द्र भएको ठाउँमा बस्नै नमान्ने सीके, सत्ता गुमेपछि 'मधेशको मुद्दा' भन्दै सहारा माग्ने उपेन्द्र !

काठमाडौं : केही समयअघि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले एउटा टेलिभिजन अन्तर्वार्तामा भनेका थिए, 'गत आमनिर्वाचनमा चुनाव लड्नु भन्दा अगाडि उपेन्द्रजीसँग सल्लाह भएको थियो- हामी दुवै एकै क्षेत्रबाट नलड्ने, एकअर्कालाई सघाउने। मैले उहाँलाई भेटेरै त्यो मेरो क्षेत्र हो, म त्यहाँबाट चुनाव लड्छु, तपाई अर्को क्षेत्रको व्यवस्था गर्नु भनेको हुँ तर उहाँले मान्नु भएन।'

त्यस अन्तर्वार्तामा उनले उपेन्द्रलाई मधेशको लागि संघर्ष गरेको नेताको रुपमा व्याख्या गरेका छन्। मधेशको हक र अधिकार प्राप्तिमा उपेन्द्रको महत्वपूर्ण भूमिका रहेको भएपनि पछिल्लो समय उनी पदको लोभमा फसेको राउतको टिप्पणी छ। राउतले विभिन्न सार्वजनिक समारोहहरूमै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवकोबारेमा मधेशको सन्दर्भमा भने सकारात्मक नेता भएको भन्दै आएका छन्। 

तर, पछिल्लो समय भने यी दुई नेताको बीचमा खासै राम्रो सम्बन्ध छैन। भलै, मधेशको हक, अधिकार प्राप्तिको मुद्दा भने यी दुवैमा आजसम्म पनि उस्तै छ। २०६३ सालको अन्तरिम संविधान जलाएर मधेश विद्रोह गरेका उपेन्द्र सप्तरी निर्वाचन क्षेत्र–२ मा राउतसँग ठूलो मतान्तरले पराजित भए। सीके राउतले ३५ हजार ४२ मत ल्याएका थिए भने जसपाका अध्यक्ष उपेन्द्र यादव १६ हजार ९७९ मतमा सीमित भए। त्यसैबेलादेखि उनको राजनीतिक यात्रामा ठूलै धक्का लागेको ठानिएको थियो भने राउतको राजनीतिक उदय भएको थियो। त्यसयता एकपटक सत्ता सहकार्यमा सँगै रहेर काम गरेका थिए। 

जसपा नेपाल फुटेर ७ जना सांसद अलग भएपछि एक्लिएका यादव फेरी शक्तिमा आउन कसैको साथ खोजिरहेका छन्। पार्टी फुट्नेबित्तिकै उनले लोसपा अध्यक्ष महन्थ ठाकुरसँग भेटेका उनी अहिले पनि मधेशी नेताहरूसँगको भेटवार्तामै व्यस्त छन्। उनी सीकेसँग पनि सहकार्य गरेर मधेश प्रदेशको सत्ता सहकार्य गर्ने मुडमा छन्। त्यसका लागि उनले 'मधेशको मुद्दाको लागि मधेशवादी नेताहरू एकैठाउँ हुनुपर्ने' भन्ने अस्त्र फ्याँकिरहेका  छन्।

यसैबेला उपेन्द्र र सीकेको सहकार्यलाई पनि अड्कलबाजी गरिएको छ। सधैं सत्ताकै लोभमा फस्दा उपेन्द्र यतिबेला कमजोर मात्र भएका छैनन्, सत्ताबाटै बाहिरिनुपर्ने अवस्था सिर्जना भएको छ भने मधेशमासमेत उनी सिके भन्दा पनि कमजोर भइसकेको अनुमान लगाउन थालिएको छ। 

त्यसो त उपेन्द्र यादव कम्युनिष्ट पृष्ठभूमिका नेता हुन्। गैरसरकारी संस्थाबाट मधेश जागरण ल्याउने अभियान हुँदै राजनीतिमा होमिएका उपेन्द्र वामपन्थी विचारधाराका अनुयायी थिए। शिक्षक हुँदा देखि नै त्यही विचारका उनी मूलधारको राजनीति सम्म आइपुग्दा पनि वामपन्थी नै मानिन्छन्। अहिले पनि उनी वामपन्थीहरूको मोर्चा भनिएको 'समाजवादी मोर्चा'मा पनि छन्। 

तर, सीके राउत भने लोकतन्त्रको पैरवी गर्छन्। उनको पार्टीले भर्खरै जारी गरेको राजनीतिक दस्तावेजमा पनि साम्यवादलाई पूर्णता: नमान्ने किसिमको अवधारणा छ।  राजनीतिक दर्शनका कारण पनि यी दुईबीच सहकार्य हुन नसकेको अनुमान लगाउन सकिन्छ। 

जहाँ उपेन्द्र हुन्छन्, त्यहाँ बस्नै सक्दैनन् सीके 
जसपा नेपालका यादव प्रतिपक्षी हुँदा जनमत पार्टीका राउत भने सत्तापक्षीय हुन्छन् भने यादव सत्तामा हुँदा उनी सत्तामा रहने सक्दैनन्। सोमबार जनमत पार्टीका ६ सांसदले प्रधानमन्त्री प्रचण्डको पक्षमा विश्वासको मत दिएपछि सत्तापक्षीय भयो। जबकि अहिले जसपा नेपाल प्रतिपक्षमा छ। 

उपेन्द्र र सिकेको सम्बन्ध २०७९ सालमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनदेखि पानी बाराबारको अवस्थामा रहेकाले त्यस्तो अवस्था आएको हो। त्यति बेलादेखि यादव जुन ठाउँमा हुन्छन्, त्यो ठाउँमा राउत बस्न मान्दैनन्। सार्वजनिक कार्यक्रमहरूमा समेत यी दुई नेता एकै ठाउँमा हत्तपत्त भेटिँदैनन्। ०७९ को चुनावमा हराएपछि पनि राउतले यादवलाई सक्काउने खेल छाडेनन्। एउटै गठबन्धनमा हुँदासमेत बारा–२ मा उपचुनावमा  हराउन आफ्नो छुट्टै उम्मेदवार उठाए।जबकि उनीहरू त्यतिबेला एकै गठबन्धनमा थिए। 

उपेन्द्र र सीकेबिचको यो टक्कर आजदेखिको होइन। मधेश आन्दोलनताका अमेरिका छाडेर मधेस राजनीतिमा सीकेको आगमन भएको थियो। तर, त्यो आगमनलाई उपेन्द्रले मन पराएका थिएनन्। मधेसी मोर्चाबाट २०६४ मा टुँडिखेलमा भएको आमसभामा सीके राउतले पहिलो इन्ट्री लिएका थिए। सीके राउत आन्दोलनमा हुँदा सबैभन्दा बढी टार्गेट उपेन्द्र यादवको पार्टीलाई नै गर्थे। यहाँसम्म कि सीके राउतले उपेन्द्र यादवलाई सम्बोधन गर्दा ‘कालानाग’ नै भन्थे। अर्थात् मधेसमा सीके र उपेन्द्रबीचको द्वन्द्व धेरै पुरानो हो।

अहिले त झन यो द्वन्द्व केन्द्रमा मात्र होइन, प्रदेश तहका कार्यकर्तासम्मै छ। केन्द्रमा यादव र राउतबीच सम्बन्ध बिग्रेझैं मधेसमा पनि जसपा नेपाल र जनमत पार्टीका कार्यकर्ताहरूबीच सम्बन्ध राम्रो छैन। जसपा नेपालले नेतृत्व गरेको मधेस प्रदेश सरकारबाट ६ महिनाअघि नै जनमत पार्टी बाहिरिसकेको छ। 

उपेन्द्र सत्तामुखी भएको आरोप !
जसपा नेपालले आफूहरूलाई थुप्रै पटक धोका दिएका कारण त्यो दलसँग सहकार्यको सम्भावना नरहेको उपाध्यक्ष ई.दीपक साह बताउँछन्। उनी  ​​​​भन्छन्, 'भोलिका दिनमा सुध्रिएर आए भविष्यमा के हुन्छ, त्यो भन्न सकिँदैन तर हाल जसपा नेपालसँग कुनै सहकार्य हुँदैन।'

यता, उपेन्द्र सत्तामुखी भएको भन्दै उनीसँग मिल्न नसकिने राउतको मुख्य तर्क छ। हुन पनि शक्तिमा पुगेपछि पार्टी, राज्यसत्ता र अवसरमा ‘यादववाद’ लाई प्रोत्साहन गरेको उनीमाथि आरोप लाग्ने गर्दछ। सत्ताको लागि उनी कहिले महन्थ ठाकुर र राजेन्द्र महतोसँग, कहिले डा.बाबुराम भट्टराईसँग त कहिले अशोक राईसँग मिलेर राजनीतिमा एकछत्र राज गर्छन्। 

उपेन्द्र २०६३–६४ को मधेश आन्दोलनबाट राजनीतिको शिखरमा पुगेका हुन्। आत्मनिर्णयको अधिकारसहितको समग्र मधेश एक प्रदेश र संघीयता, समावेशीको मुद्दा उठाएर उनी राजनीतिमा दरिलो रुपमा स्थापित मात्र भएनन्, पटक पटक उपप्रधानदेखि मन्त्रीसम्मको कुर्सीमा बसेर रजगज गरे। तर, सिकेले भने अवसर पाउँदा पनि मन्त्रीको प्रस्ताव स्वीकार गरेनन्। २०७९ पौष १० गते बनेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा राउतले जनमतको तर्फबाट आफ्ना सांसदहरूलाई मन्त्रीको रुपमा पठाए। तर, आफू मन्त्री भएनन्।   

जेठ १०, २०८१ बिहीबार १२:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।