सिरोहिया पक्राउ गर्न धनुषा प्रहरीले अदालतमा खुलाएको छ कारण

सिरोहिया पक्राउ गर्न धनुषा प्रहरीले अदालतमा खुलाएको छ कारण

काठमाडौँ : जिल्ला प्रहरी कार्यालय धनुषाले नागरिकता कसुर र किर्ते लगायतको कसुरमा अनुसन्धानका लागि कैलाश सिरोहियालाई पक्राउ गर्न खुलाएको ६ आधारका आधारमा जिल्ला अदालतले अनुमति दिएको खुलेको छ।

प्रहरीले खुलाएको पक्राउको आधार र कारणमा सिरोहियाले लिएको नागरिकताको नम्बर पहिल्यै अर्काको नाममा जारी भइसकेको, दाइहरूको नागरिकता अङ्गीकृत भए पनि सिरोहियाको जन्मसिद्ध देखिएको, ढड्डामा नागरिकता जारी गर्ने अधिकारीको नाम र हस्ताक्षर नरहेको उल्लेख गरिएको छ।

प्रहरीले नागरिकताको प्रतिलिपिमा जन्म मितिको महलमा १८ वर्ष र कोष्टमा जन्म मिति २०१९/०८/२९  लेखेको तर जन्म मितिमा उल्लेखित अङ्कको आकृति, प्रतिलिपिमा उल्लेख भएका उमेर र अन्य अङ्कहरूको आकृतिसँग मेल नखाएको तथा फरक देखिएकाले कोष्टमा जन्म मिति थपी किर्ते गरेको दाबी समेत गरेको छ।

प्रहरीले खुलाएको आधार र कारणमा टेक्दै अदालतले सिरोहिया पक्राउ गर्न अनुमति दिएको थियो। अदालतको अनुमतिपछि धनुषाले काठमाडौँमा पक्राउ गरी पठाउन पत्राचार गरेपछि सिरोहिया मङ्गलवार बेलुका पक्राउ परेका थिए। उनी धनुषाको प्रहरी हिरासतमा छन्।

प्रहरीले अदालतमा खुलाएको पक्राउका आधार र कारण

१) निज कैलाश प्रसाद सिरोहियाले जिल्ला प्रशासन कार्यालय धनुषाबाट ३९६९८८८६ नम्बरको नेपाली नागरिकता प्रमाण पत्र लिएको तर निजले नागरिकता लिनु पूर्व नै उक्त ३९६९८८८६ नम्बरको नागरिकता शिवजी साहु तेलीको नाउँमा जारी भएको देखिएको।

२) जिल्ला प्रशासन कार्यालय, धनुषाको च.नं. १३२१३, मिति २०८१/०१/२० को पत्र अनुसार प्राप्त जबाफमा ०३३/३४ को बालिग रेकर्डमा विदेशी बाबु/आमाबाट नेपाल अधिराज्यमा जन्म भएका नागरिकको नागरिकताहरूको दर्ता किताबमा नाम दर्ता रहेको देखिनुका साथै घासीराम मारवाडी (सिरोहिया) को सन्तानहरू गोपाल प्रसाद सिरोहिया, गोविन्द प्रसाद सिरोहिया र पुनम कुमारी सिरोहियाको नागरिकता अङ्गीकृत नेपाली भएको र (नाम प्रस्ट नभएको) कैलाश प्रसाद सिरोहियाको नागरिकता जन्मसिद्ध नेपाली रहेको देखिएको ।

३) निज कैलाश प्रसाद सिरोहियाले वि.सं. २०५७/०६/२९ मा नागरिकताको प्रतिलिपि लिँदा जिल्ला प्रशासन कार्यालयको धनुषाको रेकर्ड पुस्तिका (ढड्डा) मा फोटो सहितको अभिलेखमा अधिकार प्राप्त अधिकारीको दस्तखत गरेको नपाइएको, जन्म मितिको महलमा १८ वर्ष उमेर उल्लेख गरेको पाइएको। उक्त रेकर्डमा जन्म मिति उल्लेख नरहेको।

(४) सोही ब्यहोराको निज व्यक्तिले प्राप्त गरेको नागरिकताको प्रतिलिपिमा जन्म मितिको महलमा १८ वर्ष र कोष्टमा जन्म मिति
२०१९/०८/२९ समेत लेखेको पाइएको हुँदा जन्म मितिमा उल्लेखित अङ्कको आकृति, उक्त प्रतिलिपिमा उल्लेख भएका उमेर र अन्य अङ्कहरूको आकृतिसँग मेल नखाएको तथा फरक देखिएकोले पछि कोष्टमा जन्म मिति थपी किर्ते गरेको देखिएको।

(५) निज कैलाश प्रसाद सिरोहियाले प्रथम पटक प्राप्त गरेको नागरिकता प्रमाणपत्रको जारी मितिको महलमा २०३६/०५/२५, जन्म मितिको महलमा १८ वर्ष उल्लेख गरेको पाइएको तर निजले २०५७/०६/२९ मा प्राप्त गरेको नागरिकताको पहिलो प्रतिलिपिमा जन्म मितिको महलमा १८ वर्ष, जन्म मिति २०१९/०८/२९ लेखेको पाइएकोले उमेर, जन्म मिति र नागरिकताको जारी मितिबिच उमेर हिसाब गर्दा १६ वर्ष ८ महिना हुन आएकोले उल्लेखित १८ वर्ष उमेर मेल नखाएको देखिएको ।

६) निज कैलाश प्रसाद सिरोहियाले नागरिकता लिँदा पेस गर्नुपर्ने कागजातहरूको अभिलेख फेला नपरेको।

जेठ ९, २०८१ बुधबार १३:२६:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।