३ वर्षपछि करीनाको पुस्तकलाई अदालतले कारण माग्यो, के छ पुस्तकमा?

३ वर्षपछि करीनाको पुस्तकलाई अदालतले कारण माग्यो, के छ पुस्तकमा?

एजेन्सी : अभिनेत्री करीना कपूर खानद्वारा लिखित पुस्तक ‘करीना कपूर खान बाइबिलः द अल्टीमेट मेन्युल फर मम्स टु बी’ मा उल्लेखित ‘बाइबिल’ शब्दलाई लिएर अदालतले कारण माग गरेको छ। 

अभिनेत्री करीना कपूर खान ती अभिनेत्रीमा पर्छिन्, जसले आफ्नो गर्भावस्थालाई कहिल्यै गोप्य राखिनन् र उनले खुलेरै गर्भावस्थाका बारेमा सबै जानकारी फ्यानमाझ बाँडिन्। यहाँसम्म कि उनले यो अनुभवलाई एक पुस्तकमा नै समेटिन्।

उनले सन् २०२१ मा प्रेग्नेन्सी पुस्तक ‘करीना कपूर खान बाइबिलः द अल्टीमेट मेन्युल फर मम्स टु बी’ सार्वजनिक गरेकी थिइन्। यो पुस्तकमा करीनाले तैमूर र जेह गर्भमा रहँदाको अनुभव समेटेकी थिइन्। तीन वर्षपछि यही पुस्तक कानूनी विवादमा परेको छ।

पुस्तकले अदालतबाट लिगल नोटिस पाएको छ। मध्य प्रदेशको हाई कोर्टका न्यायाधिस गुरपाल सिंह अहलूवालियाको एकल इजलासमा करीना र बुक बिक्रेताविरुद्ध उजुरी दर्ता गराउने वकिल क्रिस्टोफर एन्थोनीको निवेदनमा नोटिस जारी भएको छ।

‘जब वी मेट’ अभिनेत्रीलाई नोटिस पठाउने प्रमुख कारण पुस्तकको शीर्षकमा प्रयोग भएको ‘बाइबिल’ हो। अदालतले अभिनेत्रीलाई पुस्तकमा ‘बाइबिल’ लेख्नुको कारण माग गरेको छ। उजुरीकर्ताले किताबको बिक्रीमा रोक लगाउन माग गरेपछि प्रकाशकलाई पनि अदालतले नोटिस जारी गरेको छ।

मध्य प्रदेशको जबलपुरका सामाजिक अभियन्ता क्रिस्टोफर एन्थोनीले पुस्तकको नाममा प्रयोग गरिएको ‘बाइबिल’ शब्दले इसाई समुदायको भावनामा चोट पुर्याएको दाबी गरेका छन्। ‘बाइबिल विश्वभर इसाई धर्मको पवित्र किताब हो र करीना कपूर खानको प्रेग्नेन्सीको तुलना बाइबलसँग गर्नु गलत हो’ उजुरीमा उल्लेख छ।

यसअघि पनि ‘बाइबिल’ शब्द प्रयोग गरिएपछि आपत्ति जनाइएको थियो। उजुरी गर्ने व्यक्तिले प्रहरीसमक्ष करीनाविरुद्ध एफआईआर दर्ता गराएका थिए, तर प्रहरीले त्यो दर्ता गर्न अस्वीकार गरेको थियो। पुनः ती व्यक्तिले तल्लो अदालतमा उजुरी दर्ता गराएका थिए। तल्लो अदालतले पनि उक्त उजुरी खारेज गरेको थियो। 

अहिले हाई कोर्टले करीनासँग जवाफ मागेको छ।

वैशाख ३०, २०८१ आइतबार ०९:३५:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।