इजरायलमा मारिएका ६ जनाको शव घर पुर्याउन लाग्ने खर्च सरकारले व्यहोर्ने (मन्त्रिपरिषदका निर्णयसहित)

इजरायलमा मारिएका ६ जनाको शव घर पुर्याउन लाग्ने खर्च सरकारले व्यहोर्ने (मन्त्रिपरिषदका निर्णयसहित)

काठमाडौं : सरकारले प्यालेस्टाइनी समूह हमासको आक्रमणमा परी मृत्यु भएका ६ जना नेपाली विद्यार्थीको शव त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानासम्म पुर्याउँदा लागेको खर्च व्यहोर्ने भएको छ। 

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारले गृह मन्त्रालयको प्रस्तावमा जम्मा लागेको खर्च २८ लाख ३६ हजार ८३४ रुपैयाँ सम्बन्धित पक्षलाई भुक्तानी दिने निर्णय गरेको सूचना तथा संचार प्रविधिमन्त्री एवं सरकारी प्रवक्ता रेखा शर्माले बताइन्। 

उनले भनिन्, ‘इजरायल घटनामा परी निधन भएका ६ जना नेपालीको शव त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानासम्म पुर्याउँदा लागेको कुल खर्चै रु.२८,३६,८३४ सम्बन्धी पक्षलाई भुक्तानी गर्ने भन्ने बैठकले निर्णय गरेको छ।’

प्रहरी अतिरिक्त महानिरीक्षकहरू टेक प्रसाद राईलाई प्रशासन विभागमा र सुदिप गिरीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गर्ने पनि निर्णय गरेको उनले जानकारी दिइन्।  

यस्ता छन् मन्त्रीपरिषद्का निर्णयहरू :
१. २०८१ वैशाख २९ देखि जेठ ४ सम्म बंगलादेशमा आयोजना हुने Learning Exchange and Experience Sharing Visit मा सहभागिताको लागि राष्ट्रिय योजना आयोगका माननीय सदस्य प्रा. डा. शिवराज अधिकारीलाई स्वीकृति प्रदान गर्ने।
२.अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यलाई मलेशियास्थित Malaysia Anti–Corruption Academy (MACA) मा सञ्चालन हुने Training on Anti–Corruption Studies for CIAA Nepal Officersविषयक तालिम कार्यक्रमको अनुगमन गर्न तथा उक्त कार्यक्रमको समापन समारोहमा भाग लिन २०८१ जेठ १४ देखि १८ गतेसम्म मलेसिया भ्रमण गर्न स्वीकृति प्रदान गर्ने 
३.विश्व वातावरण सुविधा -GEF_ वाट विश्व वन्यजन्तु कोष -WWF_ मार्फत प्राप्त हुने अमेरिकी डलर ९०,२४,३१२ (करिब १ अर्ब २० करोड रूपियाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने 
४.इन्डोनेसियाको बालीमा आयोजना हुने 10th World Water Forumअन्तर्गत मिति २०८१ जेठ ७ देखि ८ गतेसम्म आयोजना हुने मन्त्रीस्तरीय बैठकमा माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतलाई सहभागी हुन स्वीकृति दिने 
५.कोहलपुर–सुर्खेत–दैलेख १३२ के.भी. प्रसारण लाइन आयोजनाको टावर निर्माण गर्न सुर्खेत जिल्ला र दैलेख जिल्लामा करिब ५० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने 
६.प्रहरी अतिरिक्त महानिरीक्षकहरू श्री टेक प्रसाद राईलाई प्रशासन विभागमा र श्री सुदिप गिरीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गर्ने 
७.प्रहरी नायब महानिरीक्षकहरू श्री उमेशराज जोशी र श्री भिमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ति गरी पदस्थापना गर्ने 
८.इजरायल घटनामा परी निधन भएका ६ जना नेपालीको शव त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानासम्म पु¥याउँदा लागेको कुल खर्चै रु.२८,३६,८३४ सम्बन्धी पक्षलाई भुक्तानी गर्ने ।
९. Tramadol Tapentadol औषधिहरूका एकल वा समिश्रण औषधिहरूलाई लागूऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा ३ को खण्ड (क) को उपखण्ड ७ बमोजिम मनोद्दीपक औषधीको सूचीमा समावेश गर्ने 
१०.चीन सरकारले परराष्ट्र मन्त्रालयलाई अनुदान स्वरूप उपलब्ध गराउन प्रस्ताव गरेको ७ वटा सवारी साधन स्वीकार गर्ने 
११.चितवन जिल्लामा निर्माणाधीन पुलको पहुँचमार्ग निर्माणको लागि करिब २०२६ वर्ग मिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने 
१२.समाज कल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा समाज कल्याण ऐन, २०४९ को दफा ५ को उपदफा (२) बमोजिम श्री नन्दलाल माझी, सुनसरीलाई मनोनयन गर्ने 
१३.अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृति दिने 
१४. सैनिक गट्टाघर, भक्तपुरको लागि मध्यपुर ठिमी नगरपालिकामा करिब ७६९ वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने 
१५.सेती राजमार्गअन्तर्गत डोटी जिल्लास्थित ठुलीगाड–सेती बुढीगंगा दोभान सडक खण्ड निर्माणको लागि राष्ट्रिय बनको ८० हेक्टर जग्गा प्रयोग गर्न दिन र सो जग्गामा रहेका विभिन्न प्रजातिका रुख÷पोल हटाउन स्वीकृति दिने 
१६.संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा ३० बमोजिम विभिन्न स्थानमा घाटगडीमा रहेको जम्मा १,७३,०७१.७९२ के.जी. रक्तचन्दन काठ उत्पत्ति मुलुकमा फिर्ता लैजान स्वीकृति प्रदान गर्ने 
१७.अमरगढी नगरपालिकाको बसपार्क निर्माणको लागि राष्ट्रिय वनको ०.९६ हेक्टर जग्गा प्रयोग गर्न तथा सो वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका रुखविरुवा हटाउन स्वीकृति दिने 
१८.भाषा आयोगको रिक्त सदस्य पदमा श्री सुरेश मानन्धर, काठमाडौँलाई नियुक्त गर्ने 
१९.लालझाडी गाउँपालिका कञ्चनपुर, सिद्धिचरण नगरपालिका ओखलढुङ्गा, गुजरा नगरपालिका रौतहट, मालिका गाउँपालिका म्याग्दी, कलैया उपमहानगरपालिका बारा, जन्तेढुङ्गा गाउँपालिका खोटाङ, दिपायल,सिलगढी नगरपालिका डोटी र तुम्वेवा गाउँपालिका, पाँचथरलाई विभिन्न प्रयोजनको लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने 
२०.दूरसञ्चार सेवालाई नियमित गर्ने प्रयोजनको लागि दूरसञ्चार ऐन, २०५३ को दफा २० को अधिकार प्रयोग गरी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडलाई सोही ऐनको दफा ३३ को उपदफा (४) बमोजिम पुनः अनुमतिपत्र जारी गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने 
२१.प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ स्वीकृत गर्ने 
२२.राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गरी काम, कर्तव्य र अधिकार तोक्ने ।
२३.जलस्रोतसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० सङ्घीय संसदमा प्रस्तुत गर्न स्वीकृति दिने 
२४ नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० सङ्घीय संसदमा प्रस्तुत गर्न स्वीकृति दिने
२५. सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालको संविधानको धारा ९५ बमोजिम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई संवत् २०८१ साल जेठ १ गते मङ्गलबारका दिन १५ः०० बजे सम्बोधन हुन र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न अनुरोध गर्ने।

२८ बैशाख, २०८१, १९:११:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।