रविलाई गगनको जवाफ : 'भर्खर भर्खर आउनुभएको, संसद कसरी चल्छ भनेर थाहा नहुन पनि सक्छ'

रविलाई गगनको जवाफ : 'भर्खर भर्खर आउनुभएको, संसद कसरी चल्छ भनेर थाहा नहुन पनि सक्छ'

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति नबनेसम्म संसद चलन नदिने बताएका छन्। 

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले संसद चल्न नसक्ने परिस्थिति सरकारले निम्त्याएको जिकिर गरे। 

थापाले भने, 'सदनमा प्रश्नहरूको घाटी निमोठ्ने प्रयास हुँदै छ। आज सदनमा जुन दृश्य बन्दै छ। त्यसको कारक हामी होइन। जे गर्ने सोच राखिएको त्यसको मूल्य ठूलो चुकाउनुपर्नेछ। यसलाई हल्का नठानियोस्, कांग्रेस सदन चल्नुपर्छ भन्ने पक्षमा छ।'

उनले सरकारले बहुमतको हवाला दिँदै जबरजस्त सदन अगाडि बढाए त्यसको ठूलो मूल्य चुकाउनुपर्ने समेत चेतावनी दिए। 

केही समयअघि गृहमन्त्री लामिछानेले कांग्रेस लक्षित गर्दै ४ वर्ष सम्म संसद घेराउ गर्न सुझाएका थिए। सोही प्रसंगमा महामन्त्री थापाले गृहमन्त्री लामिछाने भर्खर भर्खर संसद प्रवेश गरेको हुनाले संसद चलाउने विषयमा जानकार नभएको हुनसक्ने भन्दै व्यंग्य गरे। 

'गृहमन्त्री केही समय अगाडि सदनको बाहिर उभिएर चार वर्ष बन्द भए पनि हुन्छ। बन्द भए होस् मजाले चलाउने हो भन्नुभएको थियो। भर्खर भर्खर आउनुभएको हो सबै कुरा थाहा नहुन पनि सक्छ। तर प्रधानमन्त्रीले त सदन कसरी चल्छ चलाउनुपर्छ भन्ने थाहा छँदै छ,' थापाले भने।  

२८ बैशाख, २०८१, १६:५६:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।