जसपा फुटले मधेश सरकार संकटमा, नयाँ सरकार बनाउन कसरत सुरू

जसपा फुटले मधेश सरकार संकटमा, नयाँ सरकार बनाउन कसरत सुरू

जनकपुर : सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालमा भएको विभाजनले मधेश प्रदेश सरकार संकटमा परेको छ।

मधेशमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका सरोजकुमार यादव मुख्यमन्त्री छन्। अशोक राई नेतृत्वको जसपा सत्ता गठबन्धनमा जोडिएपछि मधेशमा एमाले र माओवादी केन्द्रले सरकार छोड्ने तयारी तरखरमा छन्।

पार्टी विभाजनले केन्द्रमा कमजोर बनेका उपेन्द्रलाई मधेशमा आफ्नो दल नेतृत्वको सरकार जोगाउन हम्मे परेको छ। एमाले र माओवादी केन्द्रले भने मधेशमा नयाँ सरकार बनाउन कसरत सुरू गरिसकेका छन्।

एमाले र माओवादी केन्द्रका नेताहरूबीच बिहीबार प्रदेश सरकारको नेतृत्व कसले लिने भन्ने विषयमा समेत छलफल भएको छ। मुख्यमन्त्री सरोजकुमार यादव पनि आफ्नो सरकार बचाउन लबिङमा छन्।

त्यसो त अहिले जसपा विभाजनको असर मधेशमा कस्तो पर्छ भन्ने प्रष्ट भइसकेको छैन। एक सय सात सदस्यीय मधेश प्रदेशसभामा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ।

यादव नेतृत्वको सरकारलाई अहिले एमालेका २४, माओवादीका ९, एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्तिका १ र जसपा नेपालका १९ गरी ६१ सांसदले विश्वासको मत दिएका थिए।

जसअनुसार हाल विपक्षमा कांग्रेसका २२, जनमतका १३, लोसपाका ९, राप्रपाका १ र रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टीका १ सांसद् छन्। यस आधारमा यहाँ ४६ सांसद छन्।

जसपा नेपालमा भएको विभाजनपछि मधेशमा कुन दलमा कति सांसद रहन्छन् भन्ने निश्चित छैन। जसपा विभाजनले आउने परिणामले नै मधेशमा कसको सरकार बन्ने भन्ने निर्धारण देखिन्छ।

माओवादी केन्द्रका संसदीय दलका नेता भरतकुमार साहले एमाले र माओवादी केन्द्रबीच नयाँ सरकार गठनका लागि छलफल सुरु भएको पुष्टि गरे।

‘अहिले प्रारम्भिक छलफल भएको छ। हामी नेतृत्व कसले लिने भन्नेबारेमा छलफल गरिरहेका छौँ,’ बिहीबारको छलफलपछि उनले भने, ‘केन्द्रका नेताहरूको समेत राय बुझेर अघि बढ्छौँ।’

प्रदेशमा एमाले र माओवादीले सरकार छोड्ने तयारी गरे पनि केन्द्रमा भने जसपा नेपालका अध्यक्ष यादवले सरकार छोड्ने संकेत गरेका छैनन्। उनले बुधबार पत्रकार सम्मेलन नै गरेर वर्तमान सरकारलाई पार्टीले दिएको समर्थन कायम रहने बताएका थिए।

तर, बिहीबारको मन्त्रिपरिषद् बैठकमा भने यादव सहभागी भएनन्। मधेशमा भने एमाले र माओवादी केन्द्रले जसपा नेपाललाई छोडेर जनमतसँग संवाद गर्ने तयारी गरेको बुझिएको छ। यस्तोमा केन्द्रमा समेत जनमत सरकारमा सामेल हुन सक्ने नेताहरूले बताएका छन्।

नवगठित जसपाका महासचिव मोहम्मद इस्तियाक राईले भने मधेशमा पनि आफूहरूकै बहुमत हुने दाबी गरे।

‘मधेशमा फेरि पनि केन्द्रीय गठबन्धनकै सरकार हुन्छ। हामीले मधेशमा पनि बहुमत जुटाउँछौँ, अहिलेको सरकार अब रहँदैन’, उनले भने।

०७९ पुस २७ मा मधेशको मुख्यमन्त्री बनेका यादव त्यसयता निरन्तर मुख्यमन्त्री छन्। उनले पछिल्लो पटक गठबन्धन फेरबदल भएपछि चौथोपटक विश्वासको मत लिएका थिए।

२८ बैशाख, २०८१, ०९:५२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।