शुक्रवार संसद् चल्छ कि चल्दैन सभामुखलाई नै थाहा छैन

शुक्रवार संसद् चल्छ कि चल्दैन सभामुखलाई नै थाहा छैन

काठमाडौँ : बजेट अधिवेशनको पहिलो दिन सबै दलको सहमतिमा सौहार्द रूपमा सुरु गर्न सभामुख देवराज घिमिरेले प्रयास गरिरहेका छन्। तर सहकारी ठगीका आरोपित गृहमन्त्री रवि लामिछानेबारे छानबिन गर्न संसदीय समिति गठनमा सहमति हुन नसक्दा पहिलो दिनको बैठक चलाउन सकिन्छ कि सकिन्न भन्नेमा सभामुखै ढुक्क छैनन्।

उनले बजेट अधिवेशनलाई अवरोधबिना सञ्चालन गर्न प्रमुख दलबीच सहमति गराउन बुधवार गरेको बैठक निष्कर्षमा पुग्न सकेन। उनले सहमतिको वातावरण बनाउन बिहीबार पनि संसदीय दलमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरे। पहिलो दिन सबै दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यतालिकामा सहमति जुटाउनु उनको उद्देश्य थियो। तर कांग्रेसका कारण बैठक निष्कर्षमा पुग्न सकेन।

शुक्रवारदेखि सुरु हुने वर्षे अधिवेशनको पहिलो दिन सबै दलका शीर्ष नेताहरूलाई बोल्न दिने विषयमा अन्यको हकमा कुनै समस्या नभए पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हकमा बोल्न दिने कि नदिने भन्नेमा कांग्रेसले निर्णय गरिसकेको छैन।

बिहीबार संसदीय दलको बैठकमार्फत यसबारे निर्णय गर्ने तयारीमा थियो कांग्रेस तर बैठक बस्न सकेन। सभामुख घिमिरेले राखेको बैठकमा पनि कांग्रेसले लामिछानेलाई संसद्मा बोल्न दिने कि नदिने भन्ने बारेमा प्रस्ट धारणा राख्न सकेन।

उसले सहकारीको बचत ठगीमा गृहमन्त्री रविको संलग्नताबारे छानबिन गर्न समिति गठन गर्नुपर्ने आफ्नो माग बिहीबारको बैठकमा पनि दोहोर्यायो। लामिछानेलाई रास्वपाको सभापतिको रूपमा संसद्मा बोल्न दिने बारे समेत उसले पार्टीले निर्णय गर्नुपर्ने बताएपछि बैठक निष्कर्षमा नपुगी शुक्रवार पुन बस्नेगरि सकियो।

एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले शुक्रवारको प्रतिनिधि सभाको बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची तय भएको र शीर्ष नेताहरूको सम्बोधनमा प्रमुख प्रतिपक्ष दल कांग्रेसले सहजता पूर्वक सभा सञ्चालन गर्न दिनुपर्ने बारेमा छलफल भएको बताए।

बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले बैठक सञ्चालनबारे सहमति भएको बताउन सकेनन्। बैठकमा व्यवस्थापनसँग सम्बन्धित कुनै पनि कार्यसूची नराख्ने र शीर्ष नेताहरूले बैठकमा सम्बोधन गर्ने भएकाले कांग्रेसले सभा अवरुद्ध नगर्ने विश्वास मात्र व्यक्त गरे।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिनिधि सभा बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष र प्रतिपक्ष सबैले सहयोग गर्नुपर्ने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले  कांग्रेस र एमालेको संसदीय दलको बैठक शुक्रवार नै बस्ने भएकाले शुक्रवार सभामुखको बैठकमा थप निर्णय नभएको तर संसद् सामान्य हिसाबमा अघि बढ्ने दाबी गरे।

उनले शुक्रवारको प्रतिनिधि सभा बैठकमा उपप्रधान एवं गृहमन्त्री लामिछानेले सम्बोधन गर्ने दाबी गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बैठक सञ्चालनबारे दलहरुबीच अझै कुरा नमिलेको बताएका थिए।

२७ बैशाख, २०८१, २१:५९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।