अतिक्रमणमा परेको त्रिविको जग्गा फिर्ता लिन समिति बनाइने

अतिक्रमणमा परेको त्रिविको जग्गा फिर्ता लिन समिति बनाइने

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको अतिक्रमणमा परेको जग्गा फिर्ता लिन उच्चस्तरीय छानबिन समिति बनाएर अगाडि बढ्ने बताएकी छन्। 

संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बिहीबार भएको छलफलमा उनले जग्गा फिर्ता ल्याउन छानबिन समिति गठन गर्ने भन्दै उनले यसका साथै विद्यार्थीहरूको नतिजा प्रकाशन लगायतको समस्यामा त्रिविको टिमले काम गरिरहेको बताइन्। 

उनले भनिन्, ‘त्रिविको जग्गाको विषयमा मैले देखेको एउटा उच्चस्तरीय छानबिन समिति बनाएर अगाडि बढ्न सकिन्छ जस्तो लागेको छ । त्यसका काम अगाडि बढाउँदै छौं। अर्को विद्यार्थीहरूको नतिजा समयमा नहुने भन्ने विषयमा पनि त्रिविको टिमले काम गरिरहेको छ। हामीले विद्यालय शिक्षा र उच्च शिक्षाको जुन  ग्यापहरू हुन्छ, त्यसको बारेमा पनि समन्वयमा काम गरिरहेका छौं। त्यो पछि शैक्षिक क्यालेन्डर उच्च शिक्षाको मात्र होइन, १२ को परीक्षासँग पनि समन्वय गरेर जान सकिन्छ कि भनेर काम गर्दैछौं।’ 

त्रिभुवन विश्वविद्यालयले अतिक्रमणमा परेको आफ्नो जग्गा न फिर्ता लिन सकेको छ न त भाडा उठाउन। बारम्बार सञ्चारमाध्यमले यो विषय उठाउने गरेका छन्। त्यसपछि आफ्नो ध्यानाकर्षण भएको भन्दै मन्त्रि श्रेष्ठले शिक्षा क्षेत्र व्यवस्थित राख्न काम भइरहेको बताइन्।  

उनले मन्त्रालय निर्देशिका तयारीमा जुटेको जानकारी दिइन्। जुन निर्देशिकाअन्तर्गत स्कुल र कलेजहरू सञ्चालन हुन्छ, त्यसमा मन्त्रालयले  निगरानी गर्ने भनाइ छ। 

मन्त्रालयले दिने बजेटको पनि मनिटरिङ् पनि गर्नुपर्ने उनले बताइन्। 

‘हामीले खर्च गरिरहेको पैसाको परिणाम आइरहेको छ कि छैन? त्यो अध्ययन गर्नुपर्छ। यो पैसा पठाएर मात्र नहुने रहेछ,’ उनले भनिन्। 

२७ बैशाख, २०८१, १८:०१:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।