खेलकुदमन्त्रीको आक्रोश : हालको बजेटले लुँडो, चेस र बाघचालको मात्र विकास गर्न सक्छ

खेलकुदमन्त्रीको आक्रोश : हालको बजेटले लुँडो, चेस र बाघचालको मात्र विकास गर्न सक्छ

काठमाडौं : युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालयको बजेटले लुँडो, चेस र बाघचाल जस्ता खेलहरू मात्र विकास गर्न सक्ने बताएका छन्। 

बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको छलफलमा उनले देशको बजेटभन्दा बढि खेलकुद पूर्वाधारको माग भएर आएको भन्दै मन्त्रालय कम बजेटमा चलाउन परेको बताए। 

उनले भने, ‘मन्त्रालय कम बजेटमा चलाउन परेको छ। मन्त्रालयको अभिलेखमा हेर्ने हो भने देशभरीका जनप्रतिनिधिहरू, वडासदस्य, गाउँपालिका सदस्यदेखि प्रदेशका सांसद, सभामुख र मन्त्री सबै योजना माग्न आउनुहुन्छ। देशको बजेटभन्दा बढि त खेलकुद पूर्वाधारको माग भएर आएको छ। अहिलेको खेलकुद मन्त्रालयको बजेटले साँच्चै काम गर्न सक्ने भनेको लुँडो, चेस र बाघचाल जस्ता खेलहरूको मात्र हो।’

उनले नयाँ खेलकुद ऐन संशोधन हुने क्रममा रहेको भन्दै अब समयसापेक्ष ऐन बन्न सकेन भने समय सापेक्ष नीति र कार्यविधिहरू बन्न नसक्ने बताए। 

उनले भने, ‘खेलकुद ऐन संशोधन हुँदैछ। मन्त्रालयले त्यसको एउटा मस्यौदा बनाएर रोकारवालाहरूसँग सहभागितामुलक तरिकाबाट सुझाव संकलन गर्न सुरू गरेको छ। किनभने अब समयसापेक्ष ऐन बन्न सकेन भने समयसापेक्ष नीति बन्दैन। कार्यविधिहरू बन्दैनन्।’

बजेटको अभाव भएपनि स्थानीय तहहरूसँगको समन्वयमा मन्त्रालयले यसपालि युवा र राष्ट्रलाई जोड्न सक्ने केही कार्यक्रमहरू ल्याउने प्रयास गरेको पनि उनको भनाई छ। 

२७ बैशाख, २०८१, १६:१८:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।