इजरायलले रफाहमा ठूलो कारबाही गरे हतियार आपूर्ति नै बन्द गर्ने बाइडेनको चेतावनी

इजरायलले रफाहमा ठूलो कारबाही गरे हतियार आपूर्ति नै बन्द गर्ने बाइडेनको चेतावनी

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले गाजाको दक्षिणी शहर रफाहमा ठूलो कारबाही सुरू गरे अमेरिकाले हतियारको आपूर्ति बन्द गर्ने चेतावनी दिएका छन्।

बाइडेनले भने, ‘यदि इजरायलले रफाहमा अगाडि बढ्छ भने, हामी रफाह जस्ता शहरहरूसँग सम्झौता गर्न उपलब्ध गराइएका हतियारहरू उपलब्ध गराउने छैनौं।’

यद्यपि, बाइडेनले इजरायल पूर्ण रूपमा सुरक्षित रहने कुरा सुनिश्चित गर्ने बताएका छन्।

अहिलेसम्म अमेरिकाको चेतावनीका बाबजुद इजरायलले रफाहमा अगाडि बढ्ने कुरामा जोड दिएको छ।

रफाहमा हमास विरुद्ध ठूलो मात्रामा अभियान नचालेसम्म युद्ध जित्न नसकिने निष्कर्षमा इजरायल पुगिसकेको छ।

आक्रमणको चेतावनी दिँदै इजरायली सेनाले रफाहको पूर्वी क्षेत्रहरूमा बसोबास गर्ने करिब एक लाख मानिसहरूलाई खान युनिस र अल-मवासीमा जान आग्रह गरिसकेको छ।

मानवअधिकार संगठनहरूले इजरायलले रफाहमा ठूलो अपरेशन सुरू गरेमा ठूलो मात्रामा मानिसको ज्यान जानसक्ने चेतावनी दिएका छन्।

२७ बैशाख, २०८१, ०७:५४:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।