बागमती प्रदेशका कार्यालयमा सोमबारदेखि तामाङ र नेपाल भाषा कामकाजमा प्रयोग गरिँदै

बागमती प्रदेशका कार्यालयमा सोमबारदेखि तामाङ र नेपाल भाषा कामकाजमा प्रयोग गरिँदै

काठमाडौं : बागमती प्रदेश सरकारले आगामी सोमबारदेखि प्रदेशभरका सरकारी कार्यालयमा कामकाजका लागि तामाङ र नेपाल भाषाको औपचारिक प्रयोग सुरू गर्ने भएको छ।

 बुधबार पत्रकार सम्मेलन गर्दै संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले वैशाख २४ गते बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सहभागितामा काठमाडौंको वसन्तपुरमा भव्य कार्यक्रम गर्दै प्रदेशभर कामकाजी भाषाको शुभारम्भ गर्ने बताए। 

उनले भने, ‘बागमती प्रदेशमा रहेका माननीयज्यूहरू भावनात्मकरुपमै भाषा विधेयक पास गर्न लाग्नुभयो। आज हामी अन्ततः सफल भएका छौं। हामीले २४ गते भाषा विधेयकको शुभारम्भ कार्यक्रम गर्नका लागि सार्वजनिक बिदासमेत प्रदेश मन्त्रिपरिषद्बाट पारित गराएका छौं। प्रदेश सरकारको २५० वर्षपछिको सबैभन्दा ठूलो उपलब्धि हो।’

उक्त कार्यक्रमका लागि मन्त्री बज्राचार्यको संयोजकत्वमा ३ सय ३ सदस्यीय विशेष समारोह समिति बनाइएको छ। समारोह समितिमा तामाङ भाषिक समुदायका तर्फबाट नेपाल तामाङ घेदुङका साथै अन्य तामाङ संघ संस्थाहरू र नेपाल भाषाको समुदायको तर्फबाट नेवाः देय् दवुका लगायत सदस्य छन्।

सरकारको निर्णयअनुसार वैशाख २४ गतेका दिन नै प्रदेश सरकारका सबै मन्त्रालयका साइनबोर्ड नेपाली भाषा (देवनागरी), तामाङ भाषा (तामयिक) र नेपाल भाषा (रन्जना) मा लेखिएका राखिने मन्त्री बज्राचार्यले बताए।

सरकारले गत कात्तिक २३ गते ‘बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८०’ राजपत्रमा प्रकाशित गरेको थियो। 

१९ बैशाख, २०८१, १९:१३:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।