पूर्वमा थेगिमले ब्युँताएको पहिचानको मुद्दा

पूर्वमा थेगिमले ब्युँताएको पहिचानको मुद्दा

काठमाडौं : सदाबहार चिसो इलाम गएको हप्तादिन अघिसम्म  राजनीतिक तापक्रमले ह्वात्तै गर्माएको थियो। वैशाख १५ को उपनिर्वाचनमा लागि उमेदवारहरूले मतदाता फकाउन गरेका प्रयास हेर्नलायक देखिन्थ्यो। ७५ वर्षभन्दा बढी उमेरका दलदेखि २ वर्षीय दलहरू र तिनका नयाँ-पुराना उमेदवारहरूको घरदैलो अभियानले इलामलाई लामै समय गर्मायो।

तर, मत परिमाणपछि  इलामको बहसले देशभरी नै राजनीतिक तातोपन बढाएको छ। रास्वपा उम्मेवार मिलन लिम्बूले ५ हजार ५० मत मात्रै पाए। उनले जमानत पनि जोगाउन सकेनन्। आक्रामक र पूर्ण आत्मविश्वाससहित चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीले जमानत जोगाउन नसक्दा धेरैको त्यतातिर ध्यान खिचिएको छ।  

पत्रकारिताको इतिहासको विवादमा जातीय मुद्दा घुसाएर आङकाजी शैलीमा प्रतिरोध गर्ने, पहिल्यै स्वतन्त्र उम्मेदवारी घोषणा गरेर कुनै दलमा जान्न भन्ने तर रास्वपामा मौका पाए लगत्तै उम्मेदवार बन्ने लगायतका मिलनको बच्चापाराले उप-निर्वाचनमा केही प्रभाव पार्यो नै।

तर यसको कारणबारे थुप्रैखाले आँकलन भइरहे पनि मुल रुपमा जहाजै डुबाउने कारण भने रास्वपाका सभापति रवि लामिछाने सहितका रास्वपाका नेताहरुको 'सहकारी कनेक्सन ' नै देखियो।

कांग्रेसबाट दोस्रोपटक उम्मेदवार बनेका डम्बर खड्का पनि सुहाङ नेम्वाङभन्दा अनपेक्षित मतान्तरले पछि परे। २७ हजार ७७२ मतका साथ सुहाङ विजयीहुँदा २१ हजार ९४२ मत ल्याएर डम्बर हारे। यसअघि सुहाङका बाबु सुवास नेम्वाङसँग ११४ मतले पराजित डम्बर १ वर्षपछि उनकै पुत्र सुहाङसँग ५ हजार ८ सय ३० मतान्तरले हार्न पुगे।

सुहाङलाई बुवा सुवासचन्द्रले छोडेर गएको सावाँ नै काफी थियो, उनले अब त्यसैको ब्याज उठाउने अभिभारा पाए।उनले चुनावअघि पटकपटक भनेका थिए, 'बुवाको अल्पायुमै निधन भयो। उहाँका बाँकी सपनाहरू पूरा गर्न म आएको हुँ।'

सेन्टीमेन्टमा बिकिहाल्ने नेपाली समाजलाई यत्ति भए के अरू चाहियो र? सहानुभूति मत लिने गरि सुहाङले गरेको भद्र प्रचारको कारण निर्वाचन परिणाम आफ्नो पक्षमा पार्यो, एमालेले। त्यसमा पनि पार्टीको बलियो जनाधार, माओवादी, नेपाल कम्युनिस्ट पार्टी, नेपाल परिवार दलको समर्थन सुहाङको जितमा सहयात्री बन्यो। 

जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेशनल रिपब्लिक पार्टीबाट धनराज राना मगर, नेपाली जनता दलबाट रेसमबहादुर सुनार, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी लगायतका उम्मेदवार उठ्नको लागि उठेजस्तो देखियो।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले चुनावअघि नै जित हुने घोषणा गरे पनि एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राईले चार अंकको मत पनि पाउन सकेनन्।  जितबहादुरले ४ सय ८ मत पाएर जमानत चैट भयो। राजसंस्था, प्रदेश खारेज, हिन्दूराज्यको अजेन्डालाई मतदाताले पत्याएनन्। राप्रपा उमेदवार लक्ष्मी गुरुङ ४ सय ४ मतमै अड्किइन्। 

स्वतन्त्र उमेदवार अर्जुनबहादुर शाही, डाकप्रसाद गौतम, केशवबहादुर थापा, दिनेश बोहोरा, मनोज निरौला, योगचन्द्र गुरुङ, राज बस्यालको पनि उस्तै हाल रह्यो। १९ जना उम्मेदवार रहेकोमा १६ जनाको जमानत नै जफत भयो।  

तर यही निर्वाचनले तेस्रो शक्तिको रुपमा उभ्यायो, पहिचान पक्षधरमा स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमलाई। थेगिमले ११ हजार ४ सय ५७ मत पाए। उनी प्रतिष्पर्धामा तेस्रो भए। तर निर्वाचनको माहौल सेलाइसक्दा पनि उनले बोकेको पहिचानको मुद्दासँगै उनलाई दिएको मतदाताको मतको विश्लेषण र बहस पनि सेलाएको छैन।

थेगिमले पाएको मतको अर्थ
जुन रुपमा प्रचार अभियान चल्यो र उनको जे पृष्ठभूमी छ त्यसको आधारमा थेगिमले पाएको मत पहिचानको पक्षमा आएको मत हो भन्नेमा कुनै शंका रहेन। इलामको उप-निर्वाचन दलीय प्रतिष्ठाको विषयसँग जोडिदा उनले पहिचानको मुद्दासँग जोडे।  

पहिचान मुद्दाको दृष्टिकोणबाट गैर मधेस क्षेत्रमा यो नै पहिलो निर्वाचन हो, जहाँ इतिहासमै पहिलोपटक पहिचानको मुद्दाले भोट माग्दा सम्मानजनक मत आयो।

देशमा बहुदल प्राप्तिसँगै छिटपुट मात्रामा देखिएको पहिचानको मुद्दालाई माओवादीको १० वर्षे सशस्त्र विद्रोहले जागरण ल्याइदियो। ०६२/६३ पछि पहिचानको मुद्दा खरो रूपमा उत्रिएको देखिन्छ। त्यहीबेला मधेश आन्दोलनबाट यसले सडक संघर्षको रूप लिएको थियो। 

तर, आजसम्म पनि देशमा कुनै समुदायले पहिचान खोज्नु भनेको ब्राह्मण क्षेत्री समुदायलाई गाली मात्र गर्नु, उनीहरूको भाग खोस्नु जस्ता भाष्यहरू जबर्जस्त स्थापित गराउने प्रयास भए। अझ ऋषि धमलाले चलाएको इलाम विशेष एक कार्यक्रममा त 'बाहुन क्षेत्री भेटिन्छ, घाँटी रेटिन्छ' (मिलन लिम्बूप्रति लक्षित भाष्य जुन प्रमाणित छैन, मिलन स्वयंले पनि अस्विकार गरिसकेका छन्) जस्ता अराजक भाष्यहरूलाई पहिचानसँग जोड्ने चेष्टा पनि भयो। 

तर थेगिम पक्षधरले यो निर्वाचनका दौरानमा यस्ता भाष्यहरू एक तहसम्म निमिट्यान्न पारे। पहिचान बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक हुन्छ भनेर इलामबासीलाई बुझाउन उनीहरु एक हदसम्म सफल भए। थेगिमको वौद्धिक र शालीन व्यक्तित्व, अनि पहिचान आन्दोलनका क्रममा बनेको छविले पहिचानको मुद्दा केवल जातीय नभई बहुआयामिक रहेको भन्ने बुझाउन यो उप-निर्वाचन एक हदसम्म सफल भयो। 

अर्कोतर्फ, इलाम-२ को उप-निर्वाचनमा विभिन्न समूहमा विभाजित भएका पहिचान पक्षधरहरू पहिलोपटक एकजुट भए। थेगिमलाई याक्थुम, चुम्लुङ, यायोख्खा लगायत ४१ वटा संगठनले लिखित समर्थनै गरे। जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टीले थेगिममै समेटिए। 

थेगिमले पाएको मत ठूला दलकै हाराहारीमा छ। जसको अर्थ अब पूर्वमा जनताको आवाज पहिचानको पक्षतिर जाँदैछ भन्ने पुष्टि हुने पहिचानवादी नेता कुमार लिङ्देनको बुझाइ छ।

एकथरी मान्छेहरूले पहिचानको मुद्दालाई जनताले अस्विकार गरिदिएको भन्दै अब पूर्वमा पहिचानको मुद्दाकै समाप्ती भएको भन्नेसम्म टिप्पणी गरिरहेका छन्। 

तर, यसैमा नेता लिङ्देन भन्छन्, 'इलामबाट हामीले झन् उर्जा पो पाएका छौं त। यदि हाम्रो पर्याप्त तयारी हुन सकेको भए नतिजा आफ्नो पक्षमा आउने थियो।'

उनका अनुसार इलाम उप-निर्वाचनको मत परिमाणबाट पहिचान पक्षधरहरू उत्साहित छन् र यसैलाई थप सशक्त बनाएर आगामी चुनावसम्मै जाने योजना बनाउन थालिसकेका छन्।

'इलामबाट पहिचानको मुद्दा स्थापित भइसक्यो'
यो मत परिमाणबाट उम्मेदवार थेगिम आफैंमा पनि उत्साहित छन्। उनी यो मत परिमाणलाई जनताले दिएको उर्जा भन्छन्। चुनावी जित-हार जे भए पनि पहिचान पक्षधरको आन्दोलन भने यो चुनावको अनुभवसमेतका आधारमा थप बलियो हुँदै जाने उनको विश्वास छ।

'जम्मा १५ दिनको तयारीथ्यो। कांग्रेस-एमालेसँग लड्नुपर्ने। न हामीसँग पार्टी संगठन, न सत्ता न पैसा। उनीहरूसँग सबैथोक थियो। तर, पनि हामीलाई जनताले माया गरेकै हो। यसलाई उर्जाको रूपमा लिएका छु,' उनले उकेरासँग भने।

हुन पनि फेसबुकदेखि कोणसभासम्म रास्वपा लगायतका पार्टीहरूको आक्रामक चुनावी प्रचार हुँदैगर्दा थेगिमको भने शान्त किसिमको प्रचार तरिका थियो। उनले गायक-गायिका छोराछोरीहरू एकदेव र सुनीता थेगिमलाई लिएर मत मागे। थेगिमको प्रचारका लागि देश विदेशबाटै पहिचान पक्षधरहरू सहभागी भए। सामाजिक सञ्जालमा प्रचार गरेर माहौल बनाउने काम धरानका मेयर हर्कले गरे।  

२०७९ मंसिर ४ मा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पनि इलाम २ बाट पहिचानको मुद्दा बोकेर उमेदवारहरू चुनावमा नहोमिएका होइनन्। तर त्यस बेलाको चुनावमा स्वतन्त्र र पहिचानवादी पार्टीका समग्र उमेदवारहरूले ३ हजार बढीको संख्यामा मत पाएका थिए।

यसअघिको निर्वाचनमा पहिचानको मुद्दासहित इलाम -२ मा उमेदवार बनेका दुई स्वतन्त्र उम्मेदवारहरू जुनु बोखीमले १९ र दीपेश बोहराले ९१ मत प्राप्त गरेका थिए। पहिचानवादी दलहरू जनता समाजवादी पार्टीले समानुपातिकमा ९०६ मत प्राप्त गर्दा सोही पार्टीका उम्मेदवार याम प्रसाद लिम्बुले ७२४ मत पाएका थिए भने लोकतान्त्रिक समाजवादी पार्टीले समानुपातिकमा ९९ र प्रत्यक्षमा ६९ मत प्राप्त गरेको थियो।

पहिचानको आन्दोलन चर्काउँदै आएको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले समानुपातिकमा ११२९ र प्रत्यक्षमा ६८४ प्राप्त गरेको थियो। उप-निर्वाचनमा थेगिम एक्लैले ११ हजार बढी मत पाउनु आफैंमा पहिचानको मुद्दा सशक्त बन्दै गएको संकेत हो।

पहिचानको मुद्दालाई बोकेर थेगिम उमेदवार बन्नुको आधारस्तम्भ भने तत्कालीन १ नम्बर प्रदेशको नामाकरण 'कोशी' भएपछि नै हो। कोशी नामकरणपछि पहिचानको आधारमा प्रदेशको नामाङ्कन पुनः गरिनुपर्ने आन्दोलनको नेतृत्व उनै थेगिमले गरेका थिए।

प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक रहेकै बेला चुनावमा होमिएका थेगिम प्रदेश पुनः नामकरणको संघर्षकै कारण आफूलाई त्यत्तिको मत आएकाले यो संघर्ष अझै जारी रहेको बताउँछन्। 

यतिबेला पहिचान पक्षधरहरू कोशी सरकारसँगको नियमित संवादमा छन्। यसबीचमा सरकार पक्ष र पहिचान पक्षबीचमा पटकपटक वार्ता भइसकेका छन्। वार्ता समितिका सदस्य समेत रहेका थेगिमले अबको यो आन्दोलन शान्तिपूर्ण ढंगबाट अघि बढ्ने बताए। 

'पहिचानको पक्षमा आएको यो मतले पनि कोशी नामाकरण खारेज गरेर पुनः पहिचानको पक्षमा नाम राख्नुपर्ने नैतिक दबाब दिएको छ। त्यही अनुसार अघि बढ्छौ। त्यसैलाई स्थापित गर्दै अर्को चुनावमा पनि सम्पूर्ण पहिचानवादीहरू एक भएर अघि बढ्छौं,' उनले भने। 

१९ बैशाख, २०८१, २१:५१:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।