चुँडिएको चप्पल लगाएर ४० वर्षदेखि काठमाडौंवासीको जुत्ता टल्काइरहेका सुरेश राम

चुँडिएको चप्पल लगाएर ४० वर्षदेखि काठमाडौंवासीको जुत्ता टल्काइरहेका सुरेश राम

दैनिक जसो काठमाडौंको परोपकार स्कुल अगाडि पुलको कुनामा बसिरहन्छन्, सुरेश राम। चर्को घामको सहाराको लागि उनीसँग एउटा ठुटे छाता छ। त्यही छाता र अरू केही थान सामान नै उनका सम्पत्ति हुन्।

केही दर्जन जुत्ताको तलुवा, विभिन्न रङको जुत्ता टल्काउने पालिस र गुटमुटिएको तुनालाई अगाडि राखेर उनी यस ठाउँमा बस्न थालेको चालिस वर्ष भइसक्यो।

महोत्तरीदेखि काम गर्नको लागि काठमाडौं आइपुगेका उनी यस चोकबाट अन्त गएका छैनन्। फुटेका खुट्टा, प्वाल परेको हात र पानी मागिरहेका आँखा लिएर उनी एकनासले यहाँ बसिरहन्छन्।

उनले स्कुलका विद्यार्थी र शिक्षक नै आफ्नो प्रमुख ग्राहक बनाएका छन्। यसबीचमा उनले विद्यार्थी नै शिक्षक भएको देखे। सुनसान हुने ठाउँ भीडभाड भएको पनि देखे। तर, आफ्नो अवस्थामा भने कुनै बदलाव देख्न पाएका छैनन्।

‘हामी यहाँ बसेको एक जुग नै भयो। यहाँ पढ्ने (परोपकार स्कुलमा) मान्छे कस्तो-कस्तो भयो। कोही बुढो भयो। कोही मर्यो। कोही विदेश गयो। त म यो चोक छोडेर अन्त गएको छैन’,  उनले सुनाए।

पछिल्लो समय भने महानगरपालिकाको कर्मचारीसँग चल्ने लुकामारीले पनि उनलाई केही तनाव दिने गरेको रहेछ। गाह्रो त पहिला पनि उनले महसुस गरेकै थिए, तर पछिल्लो पटक थुतिएका उनका समान भने महानगरपालिकाबाट फिर्ता आएन। त्यही भएर अलि सतर्क भएर उनी काम गर्छन्।

बिहान उठेपछि खाना बनाएर, खाएर उनी खुरुखुरु यहाँ आएर बस्छन्। चर्को घाम भयो भने छाता ओढ्छन्। पानी पर्यो भने सबै सामान छोपेर आफू पनि ओत लागेर बस्छन्। अनि कमाइ भए पनि, नभए पनि आफ्नो नजिकैको डेरामा गएर आराम गर्छन्। धेरै नै भोक लाग्यो भने खाना बनाउँछन्, सहन सक्ने भोक छ भने त्यसै निदाउँछन्। यही दैनिकीले उनको जीवन बितिरहेको छ।

‘पहिला एक मोहरको चिया कस्तो मीठो हुन्थ्यो,’ आफ्ना पुरानो दिनहरू सम्झिँदै उनले सुनाए, ‘अहिले त एक कप चियाको तीस रूपैयाँसम्म पर्छ। तर, त्यो मिठास नै छैन। जम्मा ६० रुपैयाँ कोठा भाडा तिरेर हामी दश/बाह्र जना बसेको। भित्रै दाउरा बालेर खाना बनाएर खाएको। घरबेटी एकदम राम्रो। यही खोलाकै पानीले मज्जाले पुग्थ्यो।’

तुलनात्मक रुपमा व्यापार एकदम खस्केको महसुस गरिरहेका उनले कामको पैसा बढे पनि त्यसको महत्व भने निकै घटेको अनुभव गरेका रहेछन्। कुनै समय विद्यार्थीहरूको लाइन लाग्ने गरेको उनको ‘पसल’मा अहिले भने खासै ग्राहक देखिँदैन। तर, पनि उनले ठाउँ छोडेका छैनन्। यस ठाउँसँग उनको अलग्गै आत्मीयता छ।

पाँच रुपैयाँ लिएर काठमाडौं आएको
महोत्तरीको दुर्गम गाउँमा बाल्यकाल बिताएका सुरेशको घरमा आर्थिक अवस्था निकै कमजोर थियो। पुर्खौंदेखि अरुणको खेतको ज्यालादारी गर्नुपर्ने बाध्यता थियो। साहुले मन लाग्दी हिसाबमा ज्याला दिन्थे। ज्यालाको नाममा कहिले चार रुपैयाँ अनि कहिले केही माना अन्न दिन्थे। कहिलेकाहिँ त खाली हातै फर्कनुपर्ने अवस्थासमेत थियो।

गाउँमा त्यतिधेरै स्कुल नभए पनि उनलाई खुब पढ्न मन लाग्थ्यो। तर, उनले पढ्न पाएनन्। उनलाई याद भएसम्म उनले हजुरबा र बा सँग खेतिपाती नै गरे। पछि गाउँकै एक साथीसँग उनले जुत्तामा पालिस लगाउन सिके। उनले जुत्तामा पालिस लगाउन जाने पनि गाउँमा जुत्ता लगाउने व्यक्ति नगन्य मात्रै थिए।

त्यत्तिकैमा उनले काठमाडौंमा धेरैले जुत्ता लगाउने गरेको थाहा पाए। एकदिन आफ्ना केही साथीसँग ट्रकमा बसेर वीरगंज हुँदै काठमाडौं आए।

‘त्यति बेला गाडी नै थिएन नि! सामान राख्ने ट्रक चल्थ्यो। म पनि पाँच रुपैयाँ दिएँ अनि यहाँ आएँ,’ उनले हाँस्दै भने।

उनीसँगै आएका साथीहरूले नै यहाँ एउटा स्कुल भएको र अन्य जुत्तामा पालिस लगाउने व्यक्ति पनि नभएको उनलाई जानकारी दिए। त्यसपछि यही ठाउँमा उनी सँगै दुई जना साथीहरू पनि पालिस गर्न बसे।

‘मैले त यही काम गरेको। उता दिनभर काम गरेको चार रुपैयाँ पाउँथ्यो, यता त पालिस गरेको मात्र दुई रुपैयाँ सम्म पाएँ,’ खुसी हुँदै उनी सुनाउँछन्, ‘पहिला त यहाँ अनाथालय पनि थियो। बच्चाहरू धेरै हुन्थ्यो। स्कुलमा जुत्ता लगाउनेहरू अरूमा भन्दा धेरै नै हुन्थ्यो। तर, बाटो एकदम सुनसान भएको कारण यो ठाउँमा मान्छेहरू एक्लै हिँड्न डराउँथे।’

पहिला चोर, लुटेराहरू हुने गरेको भए पनि आफू तिनीहरूसँग नडराइ काम गरिरहेको उनको अनुभव छ।

‘पहिले त बदमास फटाहाहरू धेरै आउँथ्यो। चोर लुटेरा पनि खुब आउँथ्यो। उनीहरू आउँदा त हामीले सामान लुकाएको हो। केही पाएन भने हाम्रो सियो पनि चोरेर लग्थ्यो। प्राय त पालिस लगाएर उल्टै गाली गरेर जान्थ्यो। तर पनि हामी डराएन’, उनले थपे।

त्यसबखत अहिले जस्तो विभिन्न कम्पनीका जुत्ताहरू बजारमा आएका थिएनन्। सबैले छालाकै जुत्ताहरू लगाउने गर्थे। त्यसैकारण पालिस गरेरै पनि उनको राम्रो आम्दानी हुन्थ्यो। जुत्तामा रातो पालिस गरेको तीन रुपैयाँ र कालो पालिस गरेको दुई रुपैयाँ गरेर खान बस्न पुगेको उनले अहिले पनि बिर्सिएका छैनन्। 

अहिले भने उनले जुत्तामा रातो पालिस लगाएको लगाएको सय र कालो पालिस लगाएको ६० रुपैयाँसम्म लिन्छन्। कहिलेकाहिँ कसैले सय रुपैयाँ नै छाडे भने त उनको खुसीको ठेगान नै हुँदैन।

‘इन्डिया भन्दा यता राम्रो लाग्यो’
उनको गाउँमा अहिले पनि सबैजना खेतिपाती नै गर्छन्। उनी पनि गाउँ गएको बेला गर्ने त्यही नै हो। उनका चार सन्तान छन्। सबैलाई दश कक्षा भन्दा बढी उनले पढाउन सकेनन्।

आफ्नो परिवारलाई पनि काठमाडौं ल्याएर राख्ने इच्छा रहेछ उनको। तर, खस्किँदै गरेको दैनिक कमाइले गर्दा उनले आँट नै गर्न सकेनन्। कहिलेकाहीँ त हजार रूपैयाँसम्म कमाउने उनले औसतमा दुई/तीन सय रूपैयाँमै चित्त बुझाउन परिरहेको छ।

उनको चार मध्ये तीन सन्तानको त विवाह पनि भइसक्यो। नजिकै भारतको सीमा भएको कारण सबै जना भारतै गए। उनका माइला छोरा केही समय काठमाडौं पनि आएका रहेछन्। तर, उनी केही दिनपछि इन्डिया नै फर्किए। सुरेशलाई पनि घरबाट इन्डियामै जाने सुझाव आइरह्यो। तर, उनलाई काठमाडौंसँग माया बसिसकेको रहेछ।

‘मलाई यहाँ राम्रो लाग्छ। केही नभए पनि खुसी भएर बस्न सक्छु। त्यता गएर के हुने हो भनेर आत्तिएर नै जान मन लागेन’, उनी भन्छन्।

अहिले यस ठाउँमा उनी बाहेक कोहि बस्दैनन्। सँगै आएको साथी पहिले नै छोडेर गाउँ फर्किसक्यो। तर, सुरेशले भने अहिलेसम्म यो काम छोड्ने सोच मनमा आउन दिएका छैनन्।

‘सबैले छोडे, महँगो भयो। तर के गर्ने? यो छोडेर म कहाँ जानु! मेरो जवानी नै यसमै बित्यो,’ उनी एक सुरले भन्दै गए, ‘अर्को काम राम्रो लाग्दैन। यही कामबाट बच्चा पालियो। पढे लेखेको भए त अर्को कुरा हुन्थ्यो। मुख्य कुरा पढाइ रहेछ। एउटा मोबाइल बोकेको छु। फोन गर्नुपर्यो भने अरूलाई लगाइदिनु भन्नुपर्छ। पढेको भए त अर्कै दिमाग हुन्थ्यो कि।’

पाँच हजारमा किनेको त्यो आठ आना जग्गा
उनले जुत्ता सिलाउने क्रममा हातमा कति प्वाल पारे त्यसको कुनै हिसाब छैन। तर, गाउँमा बजार नजिकै आठ आना जग्गा किनेकोमा भने उनलाई निकै गर्व छ।

आफ्नो पहिलो सन्तान जन्मिँदा आवश्यक पर्न सक्ने भएर उनले तीन महिना निकै खटेर पाँच हजार रुपैयाँ कमाएका थिए। घरमै सन्तान जन्मिएको कारण अस्पतालको खर्च जोगियो। त्यसपछि त्यही पैसाले उनले त्यो जग्गा किनेका हुन्।

अहिले उनका छोराहरू त्यो जागा बेच्न दबाब दिइरहेका छन्। तर, उनी आफ्नो श्रीमतीको लागि भए पनि त्यो जग्गा राखिरहन जान्छन्। त्यसैमा उनीहरूले घर पनि बनाएका छन्। शरीरले साथ दिएसम्म यही काम गर्ने र नसके त्यही घरमा बस्न जाने उनको सोच छ।

‘हामीले त छोराछोरीको बच्चाको लागि पनि सोचेको हो। तर उनीहरू आफ्नो बाहेक कसैको सोच्दैन भने हामीले पनि सधैं उनीहरूको बारेमा सोच्न पर्दैन,’ उनले अँध्यारो मुख लगाउँदै भने, ‘जति छ त्यतिमै खुसी हुने। हामीलाई धेरै चाहिएको पनि छैन।’

उनले काठमाडौंलाई जीवनको चालीस वर्ष दिए। बदलामा उनले कुनै पनि आशा राखेनन्। जिन्दगीभर अरूको जुत्ता टल्काउने काम गरे। तर, आफू भने चुडिएको चप्पल लगाएर परिवारको भाग्य टल्काउने प्रयासमै सीमित रहे।

१८ बैशाख, २०८१, ०८:३५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।