फिल्म खेल्दै माधव नेपाल, ओलीको आलोचककै भूमिका

फिल्म खेल्दै माधव नेपाल, ओलीको आलोचककै भूमिका

काठमाडौं : नेपालमा अभिनेता नेता बन्न थालेका छन् भने नेता चाहिँ अभिनेता। यहि भिडमा पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल फिल्ममा देखिने भएका छन्।

उनले छायांकन भइरहेको फिल्म ‘नमेटिने घाउ’मा नेताकै भूमिका निभाए। फुर्सदिला नेपालले मंगलबार जडीबुटीस्थित कोटेश्वर बहुमुखी क्याम्पसमा कार्यकर्तालाई नारा लगाउने सिनको छायांकन गरे। उनले त्यसका लागि एक घण्टाको समय दिए।

यहि फिल्ममा अर्का पुर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि अभिनय गर्दैछन्। फिल्ममा ओली प्रधानमन्त्रीको भूमिकामा छन्।

फिल्ममा ओली र नेपालबीचको द्वन्द्वलाई समावेश गरिएको बुझ्न सकिन्छ। नेकपा फुटेपछि यी दुईबीचको सम्बन्ध वास्तविकतामा पनि तिक्तता नै छ। निर्देशक रमित ढुंगानाले उनीहरूलाई फिल्ममा अभिनय गर्न मनाएका हुन्।

नेता नेपाल र ओली मात्रै नभएर फिल्ममा माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री देवेन्द्र पौडेल र राप्रपा सांसद ज्ञानेन्द्र शाहीले पनि अभिनय गरेका छन्।

शिवम् अधिकारीले लेखेको फिल्ममा सुरवीर पण्डित, रामचन्द्र अधिकारी, मुस्कान खातुन, सिम्रन खड्का, रचना गौतम, सुप्रज्ञा शर्मा, इभा गिरी लगायतका कलाकारको अभिनय छ।

फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन।

५ बैशाख, २०८१, १०:०३:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।