इजरायल आक्रमणमा अमेरिका र ईयुको तारोमा इरान, नयाँ प्रतिबन्ध लगाइँदै

इजरायल आक्रमणमा अमेरिका र ईयुको तारोमा इरान, नयाँ प्रतिबन्ध लगाइँदै

एजेन्सी : अमेरिका र युरोपेली संघ (ईयू)ले इरानमाथि नयाँ प्रतिबन्ध लगाउने विचार गरिरहेको बताएका छन्।

अमेरिकी अर्थमन्त्री जेनेट येलेनले आगामी दिनमा यस दिशामा कदम चाल्न सकिने बताएकी छन्।

यसैबीच, युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले यस विषयमा काम गरिरहेको बताएका छन्।

इरानले गत हप्ता इजरायलमा ३०० ड्रोन र मिसाइल प्रहार गरेको थियो। इजरायलले लगभग सबै ड्रोन र मिसाइलहरू खसालेको दाबी गरेको छ।

शनिबार आफूमाथि भएको आक्रमणपछि इजरायलले इरानको राजधानी तेहरानको क्षेप्यास्त्र कार्यक्रममा प्रतिबन्ध लगाउन आफ्ना सहयोगीहरूसँग माग गरेको छ।

तेहरानको क्षेप्यास्त्र कार्यक्रममा संयुक्त राष्ट्र संघको प्रतिबन्धको म्याद अक्टोबरमा सकिए पनि अमेरिका, युरोपेली संघ र बेलायतले लगाएको प्रतिबन्ध भने जारी छ र नयाँ प्रतिबन्ध पनि लगाइएको छ।

अप्रिल १ मा सिरियास्थित इरानको वाणिज्य दूतावासमा भएको आक्रमणमा इरानको रिभोलुसनरी गार्डका शीर्ष कमाण्डरसहित १३ जनाको मृत्यु भएको थियो।

इरानले शनिबार इजरायलमा भएको आक्रमणलाई अप्रिल १ मा भएको घटनाको बदलाको रूपमा वर्णन गरेको छ।

इजरायलले अप्रिल १ मा भएको आक्रमणको जिम्मेवारी लिएको छैन। यद्यपि इजरायलले उचित समय आएपछि इरानको आक्रमणको जवाफ दिने दाबी गरेको छ।

५ बैशाख, २०८१, ०९:२९:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।