'राजनीति विकृत भयो, राजनीतिकर्मी बदनाम छन्'

'राजनीति विकृत भयो, राजनीतिकर्मी बदनाम छन्'

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सेवाका रुपमा लिनुपर्ने राजनीति पछिल्लो समय विकृत भएको बताएका छन्। राजनीतिमा लागेकाहरू निहित स्वार्थमा लाग्दा यो क्षेत्र बदनाम भएको उनको भनाइ छ।  

राजधानीमा बिहीबार गंगादेवी थपलियाको जीवनीमा आधारित पुस्तक ‘जीवन यात्रा’ लोकार्पण समारोहमा उनले राजनीतिलाई सेवाको रुपमा अवलम्बन गर्नुपर्नेमा जोड दिए। 

उनले थपलिया समाजसेवामा कुशल व्यक्तिसँगै राजनीतिज्ञ भएको उल्लेख गर्दै राजनीतिलाई पेसा नभइ सेवाका रुपमा प्रस्तुत गरेको बताए। 

उनले भने, ‘राजनीति लेखपढले मात्र हुँदैन। राजनीति अहिले पछिल्लो दिनमा एकप्रकारले विकृत जस्तो भएको छ। राजनीति भन्नेबितिक्कै ओढ्ने ओछ्याउने व्यवसायजस्तो, छोराछोरी पाल्ने पेसाजस्तो मानिराखेको बेला राजनीति गर्ने मान्छे भन्नेबितिक्कै डराउने बेलामा गंगादेवी त्यस्तो नाम हो जसले राजनीतिलाई पेसा होइन सेवाको रुपमा अवलम्बन गर्नुभएको थियो।’

पुस्तकका लेखक गंगादेवी थपलियाले पुस्तक आफैंले विमोचन गर्न पाउँदा भाग्यमानी ठानेको बताइन्।

चैत २९, २०८० बिहीबार २१:०१:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।