उपनिर्वाचन इलाम २ : जब चुनावमा भाग नलिने भनेका विप्लवले पनि सुहाङलाई भोट मागे

उपनिर्वाचन इलाम २ : जब चुनावमा भाग नलिने भनेका विप्लवले पनि सुहाङलाई भोट मागे

काठमाडौं : इलामको उपनिर्वाचनमा एमाले, माओवादी केन्द्र र नेकपाबीच चुनावी तालमेल भएको छ। 

शनिबार एमाले इलाम अध्यक्ष महेश बस्नेत, माओवादी केन्द्रका इलामका संयोजक विजय खम्बू र नेकपाका इलाम इन्चार्ज मौसम सीले संयुक्त अपिल जारी गर्दै सुहाङलाई जिताउन आग्रह गरेका छन्।

तीन दलले जारी गरेको अपिलमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी ओली र नेकपाका महासचिव विप्लवबीच चुनावी तालमेल गर्ने उच्चस्तरीय सहमति भएको उल्लेख छ।

समाजवादी मोर्चाका संयोजक समेत रहेका विप्लव नेतृत्वको नेकपाले संसदीय चुनावमा भाग नलिने बताउँदै आएको छ। यसअघि गएको स्थानीय तह निर्वाचनमा भाग लिने/नलिने भन्ने बारे पार्टीभित्र मतभेद भएपछि नेकपा फुटेको समेत थियो।  

चुनावको विषयमा कुरा नमिलेपछि धर्मेन्द्र बास्तोलाले नेकपा बहुमत छुट्टै गठन गरेका छन्।  

केही दिनअघिको एक सार्वजनिक कार्यक्रममा विप्लव आफैले पनि चुनावको विषयलाई लिएर आफ्नो पार्टीभित्र समस्या आएको स्वीकार गरेका थिए।    

एमाले उपाध्यक्ष एव पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनपछि इलाम २ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो।

उपनिर्वाचनका लागि १३ जनाले उमेदवारले मनोनयन दर्ता गराइसकेका छन्।  

२४ चैत, २०८०, १८:५३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।