इलाम २ उपनिर्वाचन : १३ जनाको उम्मेदवारी, सबै उम्मेदवारहरूको आफैले जित्ने दाबी, तर जित्ने कसले?

इलाम २ उपनिर्वाचन : १३ जनाको उम्मेदवारी, सबै उम्मेदवारहरूको आफैले जित्ने दाबी, तर जित्ने कसले?

काठमाडौं : आउँदो वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि हालसम्म १३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार मनोनयन दर्ताको लागि तोकिएको समयमा १३ जनाले दर्ता प्रमाणपत्र बुझेका छन्।शनिवार बिहान ११ बजेदेखि पौने ५ बजेसम्म १३ जनाको उम्मेदवारी परेको र अझै केही स्वतन्त्र उम्मेदवार मनोनयन दर्ताका लागि लाइनमा रहेको मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले जानकारी दिए।  

शनिबार १० बजेबाट सुरु भएको निर्वाचन प्रक्रियामा जनमत पार्टीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पहिलो क्रममा मनोनयन दर्ता गराएको छ।

जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङले सुरुमै मनोनयन दर्ता गराएका हुन्।

तत्कालीन एक नम्बर प्रदेशको नाम कोशी राखिएपछि प्रदेशको पुन नामकरणको आन्दोलन चर्किरहेको बेला पूर्वप्रधानमन्त्री एव एमाले अध्यक्ष केपी शर्मा ओली झापा गएका बेला उनीमाथि ढुंगा प्रहार गर्ने आन्दोलनको नेतृत्व गरेका प्रेमकुमार पहिचान पक्षधरका तर्फबाट उम्मेदवार हुन चाहन्थे।

तर, पहिचानवादी समूहले उनलाई साझा उम्मेदवार बनाउन मन नगरेपछि उनी जनमतको चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका हुन्।

मनोनयनअघि चर्चामा नै नआएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले दोस्रो क्रममा मनोनयन दर्ता गरेको छ। नेमकिपाबाट मोरङका श्यामबहादुर दर्जीले उम्मेदवार दर्ता गराएका हुन्।

जनमत पार्टी र नेमकिपाले इलाम–२ मा अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका थिएनन्। 

तेस्रोमा डाकप्रसाद गौतमले मनोनयन दर्ता गराएका छन्। गौतमले यसपटक भने स्वतन्त्र उम्मेदवारी दिएका छन् 

केन्द्रीय सत्ता गठबन्धनमा रहे पनि एक्लै उम्मेदवारी दिएको एकीकृत समाजवादीका जीतबहादुर राईले पनि उम्मेदवारी दर्ता गराएका छन्। उनको उम्मेदवारी दर्ता गराउने क्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बु पनि उपस्थित थिइन्।

मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका शीर्ष ४ उमेदवारले पनि उम्मेदवारी दर्ता गराए। 

एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङ पुत्र सुहाङले एमालेले उपनिर्वाचनका लागि चुनावी कमाण्डर बनाएकी पूर्वउपसभामुख तथा एमाले नेता शिवमाया तुम्वाहाङ्फे, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री राम राना, राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवे, जिल्ला अध्यक्ष महेश बस्नेतसहितका नेताको उपस्थितिमा  मनोनयन दर्ता गराएका थिए।

सुहाङको प्रस्तावकमा रामप्रसाद सुवेदी र समर्थकमा धीरेन्द्र शर्मा रमण रहेका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले उम्मेदवारी दर्ता गराएका छन्। खड्का गएको निर्वाचनमा सुवासचन्द्र सँग  ११४ मतको झिनो मतान्तरले पराजित भएका थिए। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दलबलसहित पुगेका खड्काको उम्मेदवारी दर्ता गराउन पूर्वमन्त्री मीन विश्वकर्मा, सहमहामन्त्री भिष्मराज आङदेम्बे, बद्री पाण्डे, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापा लगायतको टोली सहभागी थियो।  

पहिचानवादीका तर्फबाट उमेदवार बनेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बु थेगिमले पनि मनोनयन दर्ता गराएका छन्। उनलाई प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका ४२ वटा घटकहरुको समर्थन छ। 

त्यस्तै, उनलाई जनता समाजवादी पार्टी र बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीको समेत समर्थन गरेका छन्।

स्वतन्त्र उम्मेदवारको रुपमा उनले पाचौं नम्बरमा मनोनयन दर्ता गराएका हुन्। उनको मनोनयन दर्ताका क्रममा ठूलो समूह बाजा गाजा, ढोल झ्याम्टा बजाउँदै र आआफ्नो सांस्कृतिक पहिरनसहित गएका थिए।

यता, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले मनोनयन पत्र दर्ता गराए।

रास्वपाका उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीसहितको टोलीसँग मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पुगेर लिम्बुले मनोनयन पत्र दर्ता गराए। 

मंगोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बुले पनि उम्मेदवारी दर्ता गराएका छन्।

४ मंसिर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि मंगोल नेशनलबाट लिम्बु नै उम्मेदवार थिए। त्यतिबेला उनले १३६३ मत पाएका थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङले पनि मनोनयन पत्र दर्ता गराएका छन्। उनको मनोनयन दर्ता गराउन जाने टोलीमा संघीय सांसद विना लामा पनि सहभागी थिइन्।

शनिबार नै स्वतन्त्र उम्मेदवार मनोज निरौला, नेपाल रिपब्लिक नेशनल पार्टी (एनआरएन) का उम्मेदवार धनराज राना मगरको मनोनयन पनि दर्ता भएको छ।

सबैको आआफ्नै जित्ने दाबी 
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै  एमाले उम्मेदवार सुहाङले इलामवासीको मायाका कारण आफ्नो जित निश्चित रहेको दाबी गरे। उनले गालीगलौज र टीकाटिप्पणीबिना प्रचारप्रसार गर्ने बताए।

उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका उम्मेदवार डम्बरले आफूले इलाममा गरेको सामाजिक कार्यहरू हेरेर भोट दिन आग्रह गरे। उनले गठबन्धन ठूलो कुरा नभएको बताउँदै आफूलाई जनताले निर्वाचित गर्नेमा विश्वस्त रहेको बताए।

त्यस्तै, एकीकृत समाजवादीका सम्मानित नेता खनालले इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचन आफ्नो पार्टीले जित्ने जिकिर गरे। इलाममा सञ्चारकर्मीसँग उनले अरू पार्टीहरूलाई उम्मेदवारी फिर्ता लिएर एकीकृत समाजवादीलाई सघाउन आह्वान समेत गरे।

पहिचानवादीका तर्फबाट उमेदवार बनेका थेगीमले पनि आफ्नो जीत निश्चित रहेको बताए। उनले आफूलाई धरान उपमहानगरका मेयर  हर्क साम्पाङ, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र जसपाको समर्थन पाएको हुनाले चुनाव जितिसकेको महसुस भएको उकेरालाई बताए। 

२४ चैत, २०८०, १८:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।