केन्द्रीय नेताहरूको लर्को लागेपछि इलाममा देखियो उपनिर्वाचनको रौनक

केन्द्रीय नेताहरूको लर्को लागेपछि इलाममा देखियो उपनिर्वाचनको रौनक

काठमाडौं :  आउँदो वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनका लागि प्रतिस्पर्धी दलका केन्द्रीय नेताहरु इलाम केन्द्रित भएका छन्। शनिबार उम्मेदवारी दर्ता जारी रहँदा केन्द्रीय नेताहरु इलाम उत्रिएका हुन्।

बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिने व्यवस्था मिलाइएको छ।

उपनिर्वाचनकै सिलसिलामा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय नेताहरु आफ्ना उम्मेदवारको चुनावी अभियानका लागि इलाम पुग्ने क्रम जारी छ।

बिहीबार मात्रै कांग्रेसका इलाम जिल्ला सभापति डम्बरबहादुर खड्काको उम्मेदवारी टुंगो लागेपछि कांग्रेसका केन्द्रीय पदाधिकारीहरु इलाम पुगेका छन्। सहमहामन्त्री भिष्मराज आङदेम्बे, बन्द्री पाण्डे, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापा लगायतको टोली इलाममा छ।

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि इलाम पुगेर बामपन्थी एकता हुने सन्देश दिइसकेका छन्। एकीकृत समाजवादीका अन्य नेताहरु पनि इलाम पुग्ने क्रम जारी रहेको युवा नेता सन्जिव राईले जानकारी दिए। 

एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, नेतृ नविना लामा लगायत यसअघि नै इलाम पुगेर घरदैलो गरिसकेका छन्। गत ११ चैतमै सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएपछि दिंवगत नेता सुवास नेम्बाङको निवास सुन्तलावारीस्थित घरमा पुगेर अन्तरक्रिया गरेका थिए। 

पूर्वउपसभामुख एवं पार्टी नेता शिवमाया तुम्वाहाम्फेले उपनिर्वाचनको संयोजन गरिरहेकी छन्। सुहाङको पक्षमा माहोल बनाउन ५ वैशाखमा एमालेका अध्यक्ष केपी शर्मा ओली आफै इलाम पुग्ने तालिका छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई रास्वपाले चुनावी संयोजन गरेर काम गरिरहेका छन्।

सभापति रवि लामिछाने यसअघि नै इलाम पुगेर आफ्नो दलका उम्मेदवार मिलन लिम्बुलाई सार्वजनिक समारोहबिच नै घोषणा गरे। लामिछानेसँगै उपसभापति स्वर्णिम वाग्ले, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ लगायतले इलाममा रास्वपाको बिउ रोप्ने उद्घोष नै गरे।

त्यस्तै, सोबिता गौतम, गणेश पराजुली, मनिष झा, असिम साह, अशोक चौधरी र हरि ढकाललगायतका नेताहरु पनि इलाम उत्रिएर घरदैलो गर्न भ्याए। 

जनमत पार्टीका अध्यक्ष सीके राउत पनि इलामको भ्रमण गर्न भ्याइसकेका छन्।

राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन र वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले इलाम पुगेर चुनावी सभालाई सम्बोधन गरिसकेका छन्।

कांग्रेसले उम्मेदवारको टुंगो लागेसँगै इलाम २ मा चुनावी गर्मी बढेको हो।

कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने भनिएको इलाममा यसपालि नयाँ दल रास्वपा र पहिचानवादीरुका उम्मेदवार थपिएका छन्।

उपनिर्वाचनका लागि अहिलेसम्म यस क्षेत्रमा चार जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

मुख्य निर्वाचन आधिकृतको कार्यालय इलामका अनुसार अहिलेसम्म जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी र स्वतन्त्रबाट डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए। 
 

मंगोल नेश्नल अर्गनाइजेसनका उम्मेदवारले पनि मनोनयन दर्ता गराएका छन्। अन्य दलहरूले पनि उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन जाने क्रम जारी छ। 

२४ चैत, २०८०, १५:४२:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।