आरएनजीसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा एनसेललाई तेस्रो रनर अपको उपाधि

आरएनजीसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा एनसेललाई तेस्रो रनर अपको उपाधि

काठमाडौं : एनसेलले आरएनजीसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा तेस्रो रनर अपको उपाधि जितेको छ।

शनिबार काठमाडौंको रोयल नेपाल गल्फ क्लबमा सम्पन्न प्रतियोगितामा प्रो सञ्जय लामाको नेतृत्वमा रहेको एनसेल ‘ए’ टोलीले–१२ अन्डर स्कोर गर्दै तेस्रो रनर अपको स्थान हासिल गरेको हो।

प्रतियोगितामा कूल २९ कर्पोरेट हाउसहरूका सहभागीहरूले प्रतिस्पर्धा गरेका थिए।

प्रत्येक टोलीमा एक व्यावसायिक गल्फर र तीन एमेच्योर गल्फरहरू रहेको प्रतियोगिता १८–होलमा खेलाइएको थियो।

एनसेल ‘ए’ समूहमा व्यावसायिक गल्फर सञ्जय लामा र अन्य तीन एमेच्योर गल्फरहरू जय आचार्य (एनसेल–सिङ्गल ह्याण्डीक्याप), इन्द्रधारा विष्ट (हाई ह्याण्डीक्याप) र सञ्जय पौड्याल (मिड ह्याण्डीक्याप) रहेका थिए। लामाले तेस्रो रनर अप बनेकोमा १०,००० रूपैयाँ नगद पुरस्कार जितेका थिए।

व्यावसायिक गल्फर सन्तोष रोक्काको नेतृत्व रहेको कैलाश हेलिकप्टरको समूहले प्रतियोगिताको उपाधि जितेको थियो। कैलाश हेलिकप्टरले १४ अन्डर ५४ स्कोर हासिल गर्दै प्रतियोगिताको उपाधि जितेको हो।

रोक्काले ५०,००० रूपैयाँ नगद पुरस्कार जितेका थिए।

मातृका आई सेन्टर ‘ए’ १३ अन्डर ५५ स्कोरका साथ रनर अप अर्थात् उपविजेता बनेको थियो। खड्काले ३०,००० रूपैयाँ नगद पुरस्कार जिते।

त्यसैगरी व्यावसायिक गल्फर भीमसेन चौलागाईंको नेतृत्वमा रहेको सपोर्ट नेपाल फाउण्डेशनको टोलीले एनसेल ‘ए’ लाई काउन्ट ब्याकमा जित्दै १२ अन्डर ५६ स्कोरका साथ दोस्रो रनर अप बन्दा २०,००० रूपैयाँ नगद पुरस्कार जिते।

सपोर्ट नेपालका मिथुन राईले स्ट्रेट ड्राइभ र रोड हाउस क्याफे प्रालिका स्वदेश गुरुङले क्लोजेस्ट टु द पिनको उपाधि जितेका थिए। उनीहरुलाई ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो।

यो गल्फ प्रतियोगिता रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) ले आयोजना गरेको थियो। यस प्रतियोगिताको मुख्य उद्देश्य सबै कर्पोरेट हाउसहरूलाई एउटै छानामुनि जम्मा गरेर गल्फको प्रबर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा हिमालयन बैंक, साल्ट ट्रेडिङ, हाइडेलबर्ग, अर्शिया कउचर, क्रिएशन्स सफ्ट नेपाल, एईडीए, डाइनेस्टी एयर, सहारा बिल्डर्स, इन्टिग्रेटेड सोलुसन, अल्टिच्युड एयर, सान सोजु, भाट भटेनी इन्टरनेशनल प्रालि, लामा एक्सकर्सन प्रालि, जावलाखेल ग्रुप अफ इन्डिष्ट्रीज् (जेजीआई), विजय मोटर्स, विजडम ल सोलुसन्स, ब्याड ब्वाइज ग्रुप, लियोन मोटर्स, प्रिमियर अर्गानिक्स र सालिकोको सहभागिता रहेको थियो।

१९ चैत, २०८०, २०:३४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।