सरकारले खटाएका डाक्टर पनि आउँदैनन् कर्णाली प्रदेश अस्पतालमा, तीन हप्तादेखि ओपिडी नै प्रभावित

सरकारले खटाएका डाक्टर पनि आउँदैनन् कर्णाली प्रदेश अस्पतालमा, तीन हप्तादेखि ओपिडी नै प्रभावित

सुर्खेत : नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खटाएका डाक्टर हाजिर हुन नआएपछि प्रदेश अस्पताल कर्णाली, सुर्खेतको सेवा प्रभावित भएको छ।

विगत तीन वर्षदेखि काम गर्दै आएका न्यूरोलोजिस्ट डा. निलम खड्का काजमा ट्रमा अस्पताल काठमाण्डौंमा मंगलबार फर्किएपछि समस्या आएको हो।

अहिले प्रदेश अस्पतालले तीन वर्षदेखि दिँदै आएको न्यूरो सेवा प्रभावित भएको छ।

६ महिनाका लागि मन्त्रालयले खटाएका खड्का स्वतस्फूर्त रुपमा साढे दुई वर्ष बढी प्रदेश अस्पतालमा बसेका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाले ०८० भदौ १७ गते न्युरोलोजिस्ट डा.ओमबिक्रम शाह, डा. प्रभात झा, डा. सुतप यादव र डा. चित्रराज शर्मालाई कामकाजका लागि प्रदेश अस्पताल, सेती प्रादेशिक अस्पताल र नारायणी अस्पताल पर्सामा खटाएको थियो। जसमध्ये पहिलो ६ महिना डा. प्रभात र डा. चित्रराज प्रदेश अस्पतालमा हाजिर भएर गइसकेका छन्।

अहिले प्रभात नारायणी अस्पताल पर्सामा छन् भने चित्रराज सेती प्रादेशिक अस्पताल धनगढीमा कार्यरत छन्।

त्यस्तै, पहिलो ६ महिना नारायणी अस्पताल पर्सामा हाजिर भएका डाक्टरद्धय ओमबिक्रम र सुतप हालसम्म पनि प्रदेश अस्पताल सुर्खेतमा हाजिर भएका छैनन्। जसका कारण अस्पतालको न्यूरो सेवा प्रभावित भएको अस्पतालमा निर्देशक प्रा.डा. डम्बर खड्काले बताए।

‘तीन हप्ता अगाडि उहाँहरू आइसक्नुपर्थ्यो। मैले फोन गरेर पनि समन्वय गरें। तर उहाँहरूले बेवास्ता गर्नुभयो। त्यसपछि अस्पताल विकास समिति र मसहितको टीम नै गएर मन्त्रीज्यूलाई भेटेर पनि अनुरोध गयौँ,’ उनले भने, ‘हालसम्म पनि उहाँहरू हाजिर हुनुभएको छैन। यसले हाम्रो अस्पतालको सेवा प्रभावित भएको छ।’

उनका अनुसार दैनिक २५ जना ओपिडी र तीन जनाको संख्यामा सघन अप्रेसन गर्न समस्या भएको छ।

‘दैनिक हुने सडक दुर्घटना र अन्य न्युरोको उपचार गर्न बाहिर पठाउनुपर्ने अवस्था भयो,’ निर्देशक खड्काले भने।

मन्त्रालयको शाखाले पठाएको पत्रअनुसार उनीहरू फागुन १७ गतेभित्र प्रदेश अस्पतालमा हाजिर हुनुपर्ने थियो। तर, उनीहरू हालसम्म पनि हाजिर हुन आएका छैनन्।

कामकाज गर्न खटाइएको पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा यस मन्त्रालय (सचिवस्तर) को मिति २०८०÷०५÷१२ को निर्णयानुसार देहाय बमोजिमको विशेषज्ञ चिकित्सकहरूलाई नेपाल मेडिकल काउन्सिलबाट विशेषज्ञ चिकित्सकमा दर्ता भएको प्रमाण–पत्र प्राप्त भएपछि सोहीअनुसार हुनेगरी हाललाई ‘सरकारी शिक्षण संस्थाहरूमा चिकित्साशास्त्र छात्रवृत्ति छनौट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२’ अनुसार उहाँहरूले अध्ययन गर्नुपूर्व गर्नुभएको कबुलियतनामा अनुसार तहाँ अस्पतालमा आलोपालोगरी कामकाज गर्न खटाइएको ब्यहोरा अनुरोध छ।’

१३ चैत, २०८०, १४:५८:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।