आइपीएलमा राजस्थान रोयल्सको विजयी सुरुवात, लखनउ हार्‍यो

आइपीएलमा राजस्थान रोयल्सको विजयी सुरुवात, लखनउ हार्‍यो

काठमाडौँ : इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा लखनउ सुपर जायन्ट्सलाई २० रनले हराउँदै राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ।

आइतबार जयपुरमा भएको पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो। जवाफमा ब्याटिङमा उत्रिएको लखनउले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रन मात्रै बनाउन सक्यो।

लखनउका कप्तान केएल राहुल र निकोलस पुरनले अर्धशतकीय पारि खेले पनि खेर गयो। राहुल ४४ बलमा ५८ रन बनाएर आउट भएका थिए भने निकोलस पुरनले अन्तिमसम्म टिक्दै ६४ रनको नटआउट अर्धशतकीय पारि खेलेका थिए। यसैगरी दीपक हुड्डाले २६ रन बनाउँदा अन्य व्याटरले दोहोरो अं कमा रन बनाउन सकेनन्।

राजस्थानका ट्रेन्ट बोल्टले २ विकेट लिँदा नान्द्रे ब्रुगर, रविचन्द्रन आश्विन, युजवेन्द्र चहल र सन्दीपम शर्माले एक-एक विकेट लिए।

पहिला ब्याटिङ गर्दा सुरुआत राम्रो गर्न नसके पनि राजस्थानका कप्तान सन्जु सामसन र रियान परागको पारि उत्कृष्ट रह्यो।

ओपनिङमा आएका जोस बटलरले ११ रन बनाएर पहिलो विकेटको रूपमा आउट भए। त्यसपछि अर्का उपनर यसश्वी जयसवाल १२ बलमा २४ रन बनाएर पभेलियन फर्किए।  कप्तन सामसन र पराग मिलेर राजस्थानको पार अघि बढाएका थिए।

यी दुई खेलाडीबीच ५९ बलमा ९३ रनको साझेदारी भएपछि राजस्थान ठुलो स्कोरतर्फ अघि बढेको थियो। पराग २९ बलमा ४३ रन बनाएर तेस्रो विकेटको रूपमा आउट हुँदा राजस्थानले १४.५ ओभरमा १ सय ४२ रन बनाएको थियो।

कप्तान सामसन अन्तिमसम्म टिक्दै नटआउट ८२ रन बनाए। उनले ५२ बलमा ६ छक्का र ३ चौका प्रहार गरेका थिए। त्यसैगरी सिमरोन हटमायरले ५ रन जोड्दा कप्तानसँगै ध्रुव जुरेलले १२ बलमा २० रन बनाएर नटआउट रहे।

लखनउका नभिन उल हकले दुई विकेट लिँदा रवि विश्नोइ र मोसिन खानले एक-एक विकेट लिएका थिए। पहिलो खेलको जितसँगै राजस्थान रोयल्सले तालिकामा २ अंक जोडेको छ।

चैत ११, २०८० आइतबार २०:५४:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।