मनोचिकित्सक डा. निर्मलको उपचार अनुभव : अस्पताल भर्ना भएका एक जोडी युवायुवतीले डिस्चार्च भएको भोलिपल्टै धर्ती छाडे

मनोचिकित्सक डा. निर्मलको उपचार अनुभव : अस्पताल भर्ना भएका एक जोडी युवायुवतीले डिस्चार्च भएको भोलिपल्टै धर्ती छाडे
सबै तस्बिर:- डाक्टर निर्मल लामिछानेको सामाजिक सञ्जालबाट

प्राध्यापक डाक्टर निर्मल लामिछाने मनोचिकित्सक हुन्। विशेषगरी व्यक्तिको गडबडी भएको मनको उपचार गरि सन्तुलनमा ल्याउने प्रयास गर्नु उनको मनोचिकित्सकीय विधा हो। मनको रोगलाई अझैपनि लाजगालका रूपमा हेरिन्छ। उनै मनोचिकित्सक डा. निर्मलले चिकित्सकीय पेशाका शिलशिलामा देखे भोगेका अनुभाव उकेरासँग साटेका छन्।

डिस्चार्ज गरेको भोलिपल्टै एक जोडी युवायुवतीले आत्महत्या गरेपछि…
करिब १२ वर्षअघि डा. निर्मल पोखरास्थित तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा काम गरिरहेका थिए।

करिब २२/२३ वर्षका एक जोडी युवायुवतीको प्रेम सम्बन्धमा बाँधिएका रहेछन्। तर, घरपरिवारले ती जोडीको प्रेमसम्बन्ध अस्वीकार गरेपछि उनीहरू आत्महत्या गर्ने निर्णयमा पुगेछन्। उनीहरूले आत्महत्याको प्रयास पनि गरे। तर प्रयास असफल भयो र उनीहरू बाँचेका रहेछन्।

आत्महत्याको प्रयास गरेर घाइते भएको थाहा पाएपछि घाइते अवस्थाका ती युवायुवतीलाई परिवारले उद्धार गरेर उपचारका लागि तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पुर्याए। उनीहरूलाई अस्पताल भर्ना गरियो। सोधखोज गर्दै जाँदा आत्महत्याको प्रयास गरेको थाहा भयो।

डा. निर्मलले ती जोडीको मानसिक अवस्थाको परीक्षण गर्दा उनीहरूमा मानसिक समस्या समेत देखियो। त्यसैले चिकित्सकको टिमले उनीहरूको शारीरिकसँगै मानसिक स्वास्थ्यको पनि उपचार गर्यो।

उपचारपछि स्वास्थ्यमा सुधार हुँदै गएपछि चिकित्सकको टीमले उनीहरूलाई डिस्चार्ज गर्यो। तर, अस्पतालबाट डिस्चार्ज भएको भोलिपल्टै ती जोडीले आत्महत्या गरेको समाचार डा. निर्मलले सुने।

‘अघिल्लो दिनसम्म उपचार गरेर डिस्चार्ज गरियो, भोलिपल्टको समाचारमा दुवै जनाले आत्महत्या गरेको भनेर देख्यौँ’, डा. निर्मलले त्यो घटना सुनाए।

अघिल्लो पटक आत्महत्याको प्रयास गरेर घाइते भएका ती जोडीले डिस्चार्ज हुनेवित्तिकै आत्महत्या गरेको खबर सुन्दा डा. निर्मल स्तब्ध बने। एकछिन त उनी नि:शब्द बने।

उनीहरूले आत्महत्या गरेको खबर सुनेपछि ‘के गर्न सकेको भए ती युवायुवतीको ज्यान जोगिन्थ्यो होला’ भनेर अहिलेसम्म पनि डा. निर्मल सोचिरहन्छ। सायद अस्पतालमा अलि लामो समय राखेर औषधि, उपचार तथा परामर्श गर्न पाएको भए उनीहरूले आत्महत्याको बाटो रोज्दैनथिए कि भन्ने उनलाई लाग्छ।

ती जोडी युवायुवतीले मानसिक समस्याकै कारण आत्महत्याको बाटो रोजको डा. निर्मलले सुनाए। आत्मत्या गर्नेमध्ये करिब ९५ प्रतिशतभन्दा बढीमा कुन न कुनै किसिमको मानसिक समस्या हुने उनको अनुभव छ।

त्यसो त कतिपय व्यक्ति तथा परिवारले समाजले थाहा पाउलान् कि भनेर मानसिक रोग नै लुकाउने गरेका छन्। यसो गर्दा व्यक्तिले आत्महत्याको बाटो रोज्ने जोखिम हुने उनको अनुभव छ।

मानसिक रोग लागेर १२ वर्ष बाँधिएका ती पुरुष ठिक भएपछि...
करिब १५ वर्षअघि एक जना करिब ३५ वर्षका मनोरोगको समस्या भएका पुरुषलाई पुर्याइयो।

मनोरोगको समस्या भएकैले उनलाई करिब १२ वर्षदेखि काठको ठिंगुराभित्र खुट्टा राखेर बाँधेर राखिएको रहेछ। कसैले उद्धार गरेर उनलाई अस्पताल ल्याएका थिए।

त्यतिबेला डा. निर्मल मनोचिकित्सा विषयमा एमडी सकेर पोखरास्थित तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा काम गरिरहेका थिए। डा. निर्मलको समूहले स्वास्थ्य परीक्षण गर्दा ती पुरुषमा साइकोशिस नामक मानसिक समस्या भएको थाहा भयो।

साइकोसिस कडा किसिमको मानसिक रोग हो। व्यक्तिमा विभिन्न किसिमका मानसिक असन्तुलन देखापर्ने अवस्थालाई साइकोसिस अर्थात मानसिक असन्तुलन भनिन्छ। साइकोसिस भएको व्यक्तिमा मानसिक समस्याका विभिन्न लक्षण देखिन्छन्।

ती पुरुषलाई पनि साइकोसिसका कारणले नै सोचाइमा गडबढी हुँदा अरूलाई आक्रमणको कोशिस गर्ने, चिच्याउने लगायतका लक्षण थिए। त्यसैले आक्रमण गर्ने डरले परिवार तथा आफन्तले ती पुरुषलाई ठिंगुरामा बाँधेर राखेका थिए।

साइकोसिसको त्यस्तो मानसिक समस्या भएका ती पुरुषलाई डा. निर्मललगायत चिकित्सकको टिमले अस्पतालमा भर्ना गरेर उपचार गर्न थाल्यो। करिब एक महिनाको औषधि उपचारपछि उनको मानसिक स्वास्थ्यमा मनग्यै सुधार आयो। उनी विस्तारै सामान्य अवस्थामा फर्किन थाले। त्यसपछि उनलाई डिस्चार्ज गरियो।

ती पुरुष बेला-बेलामा अस्पतालमा फलोअपमा पुगे। साइकोसिसजस्तो मानसिक समस्याका कारण नरकीय जीवन बाँच्न बाध्य उनी अहिले मानसिक रूपमा सन्तुलित भएर नयाँ जीवन पाएको डा. निर्मलले सुनाए। अहिले ती पुरुष घर परिवारसँग रमाएर बसिरहेको उनले सुनाए।

मानसिक रोग लागेर उपचारपछि ठिक भएका कतिपय व्यक्ति डाक्टर त कति इन्जिनियर भएको उनले सुनाए। मानसिक रोग ठिक भएर कयौं व्यक्त सामान्य दैनिकमा फर्किएको उनले प्रत्यक्ष देखेका छन्।

पोखरामा जन्म, पाकिस्तानमा एमबीबीएस
पोखरास्थित माटेपानीमा २०२९ जन्मिएका निर्मलले भारतबाट सन् १९८८ मा म्याट्रिक्स गरेपछि फर्किएर अमृत साइन्स कलेज पढे। आईएस्सीसम्मको अध्ययनपछि उनलाई डाक्टर पढ्न मन लाग्यो।

एमबीबीएस अध्ययनका लागि सन् १९९३ मा पाकिस्तान पुगेका निर्मलले सिन्ध प्रान्तस्थित युनिभर्सिटी अफ सिन्धको लियाकत मेडिकल कलेजबाट १९९८ एमबीबीएस अध्ययन सके।

एमबीबीए अध्ययन सकेर नेपाल फर्किएपछि डा. निर्मलले काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा करिब दुई वर्ष मेडिकल अधिकृत करार जागिरेका रूपमा काम गरे।

टेकुपछि डा. निर्मल २०५८ मा लोकसेवा परीक्षा मार्फत सातौं तहको मेडिकल अधिकृत चिकित्सकका रूपमा सरकारी स्थायी जागिरे भए। सरकारी जागिरे भएपछि उनी पहिलो पोष्टिङ लिएर सिन्धुपाल्चोकको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा पुगे। उनले त्यहाँ करिब दुई वर्ष काम गरे।

छनोटमा मनको व्यथा
त्यहाँ दुई वर्ष काम गरेपछि डा. निर्मल सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सन् २००४ मा मनोचिकित्सा विषयमा एमडी अध्ययन गर्न थाले। जुन चिकित्सा शास्त्रको स्नातकोत्तर तहको अध्ययन हो। सन् २००७ मा उनको एमडी अध्ययन पूरा भयो।

डा. निर्मललाई एमबीबीएस अध्ययन गर्दा नै यो विषय पढ्ने इच्छा थियो। उनी एमबीबीएस अध्ययनका क्रममा विभिन्न विभागमा पोष्टिङ हुने क्रममा उनको मनोचिकित्सा अस्पतालमा पोष्टिङ भयो। त्यहाँबाट नै उनलाई यो विषयमा बढी रूचि जागेको हो।

हरेक स्वास्थ्य समस्या भएका बिरामीलाई मनोचिकित्सा सेवा पनि आवश्यक पर्छ भन्ने सोचेर उनले यो विषय नै छनोट गरेका रहेछन्। अन्य रोगको उपचारमा पनि यो विषयको आवश्यकता पर्ने उनी बताउँछन्।

शारीरिक रोग लागेको व्यक्तिलाई मानसिक समस्या पनि पर्छ। त्यसैले व्यक्तिको शारीरिक रोगको उपचार सँग-सँगै मानसिक रूपमा पनि तनावबाट मुक्त गराउन मनोचिकित्सकको भूमिका हुने उनी बताउँछन्। मनोचिकित्सा विद्याको पनि दायरा फराकिलो रहेको उनको भनाइ छ।

एकातर्फ व्यक्तिमा मनोरोगको समस्यामा बढेको अनि अर्कोतर्फ सचेतना पनि बढेकाले आजकाल मानसिक समस्या भएर परामर्श तथा औषधि उपचारका लागि स्वास्थ्य संस्थामा पुग्नेहरू बढिरहेको डा. निर्मलको अनुभव छ।

रक्तचाप नाप्ने उपकरण तथा यन्त्र भएपनि मनको परीक्षण गर्ने यन्त्र नै नभएकाले सोचाइ, अभिव्यक्ति र व्यवहारजस्ता तीन विषयमा गडबढी आए व्यक्तिमा कुनै न कुनै मानसिक समस्या भएको थाहा पाउनुपर्ने डा. निर्मलले सुनाए। एक जना मानसिक समस्या भएको बिरामीले समग्र परिवार नै तनावमा पर्ने देखिएकाले नै उनले यो विषयको अध्ययन गर्न रुचाएका रहेछन्।

सरकारी जागिरबाट राजीनामा
एमडी अध्ययनपछि डा. निर्मल सरूवा भएर कास्कीको पोखरास्थित तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगे। त्यहाँ उनले करिब तीन वर्ष काम गरे। हाल त्यो क्षेत्रीय अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिणत भएको छ।

डा. निर्मललाई बिरामीको औषधि, उपचार तथा परामर्श (क्लिनिकल प्राक्टिस) मात्रै नभएर शैक्षिक गतिविधिमा पनि संलग्न हुने इच्छा जाग्यो। त्यसैले सरकारी जागिर खाएको करिब दश वर्षपछि वि.सं. २०६८ मा उनले राजीनामा दिए।

सरकारी जागिरबाट राजीनामा दिएपछि डा. निर्मल पोखराकै गण्डकी मेडिकल कलेजमा काम गर्न थाले। त्यहाँ उनले मनोरोगको समस्या भएका बिरामीलाई औषधि, उपचार तथा परामर्श गर्नुमात्रै भएन, शैक्षिक निर्देशकको पनि थियो। उनले चिकित्सा शास्त्रका विद्यार्थीलाई पढाउनुका साथै शैक्षिक गतिविधिका काम समेत गर्ने मौका पाए, जुन उनको इच्छा थियो।

हाल डा. निर्मल गण्डकी मेडिकल कलेजमा मनोचिकित्सा विभागको प्रमुख तथा प्राध्यापकका रूपमा कार्यरत छन्। उनले पोखरास्थित माटेपानीमा बिजी अस्पताल एण्ड रिसर्च सेन्टर समेत सञ्चालन गरेका छन्। जन्मिएकै घरमा उनले मनोसमस्या परेका व्यक्तिलाई उपचार गर्ने उदेश्यले अस्पताल खोलेको हुन्। उनी फिस्टेल अस्पतालमा पनि कार्यरत छन्। 

कथा, कविता लेख्नुका साथै गीतसंगीतमा पनि डा. निर्मललाई रुचि छ। डा. निर्मलको ‘फरक सन्देश’ नामक कविता संग्रह प्रकाशित छ।

१० चैत, २०८०, १४:२०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।